उमेरले छेकेन पढाइ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

उमेरले छेकेन पढाइ


८ जेष्ठ २०७५, मंगलबार


स्याङ्जा । नेपाली समाजमा एक उखान प्रचलित छ– ‘खाने मुखलाई जुँगाले छेक्दैन ।’ अर्थात् चाह्यो भने जे पनि गर्न सकिन्छ । यही कुरा चरितार्थ गरेका छन्, वालिङ–१३, थुमपोखराका महिलाले । बिहे गरेका झन्डै २० महिला अहिले विद्यालय भर्ना भएका छन् ।

शिक्षाको महत्व बुझेर विद्यालय भर्ना भएको महिलाहरू बताउँछन् । ‘हाम्रो पालामा छोरीलाई धेरै पढाउन हुन्न भन्ने मान्यता थियो, त्यसैले पढ्ने रहर हुँदाहुँदै पनि विद्यालय जान सकिएन,’ ४८ वर्षीया दीपकला गैह्रेले भनिन्, ‘त्यसैले अहिले कक्षा ५ मा भर्ना भएकी हुँ, अब पढाइलाई निरन्तरता दिनेछु ।’ नियमित विद्यालय जाने र छोराछोरीसँग नजानेका कुरा सिक्ने उनले बताइन् ।

विद्यालय जाने अर्की महिला हुन्, २५ वर्षीया मञ्जु गैह्रे । उनी कक्षा ११ मा भर्ना भएकी छन् । ‘बिहे भएपछि पढाइ रोकियो,’ उनले भनिन्, ‘अब पढ्ने सोच बनाएको छु ।’

स्थानीय लक्ष्मी माविमा २० महिला भर्ना भएका छन् । ‘शिक्षाको महत्व बुझेपछि २५ देखि ५२ वर्षका महिला विद्यालय भर्ना भएका हुन्,’ प्रअ गोपाल गैह्रेले भने ।

विद्यालयले शिक्षाबाट वञ्चित महिलालाई विशेष खालको कक्षासहित कम्प्युटर र संगीतसम्बन्धी शिक्षा दिने गरेको जनाएको छ । ‘इच्छाशक्ति भयो भने हरेक कुरा सम्भव छ, यो कुरा यहाँका महिलाले देखाएका छन्,’ उनले भने । यहाँका महिला पनि अन्य विद्यार्थीसरह झोला बोकेर अध्ययनका लागि विद्यालय आउने गरेको उनले बताए । ‘महिलाहरूलाई अरु विद्यार्थीसँगै राखेर अध्ययन गर्न गाह्रो हुने भएकाले छुट्टै विशेष कक्षामार्फत् नेपाली, अंग्रेजी भाषासहित सामान्य हिसाबकिताब सिकाउने छौँ,’ उनले भने ।

उमेर ढल्केसँगै विद्यालयमा आउने महिलालाई सम्मानका साथ शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराउने विद्यालय जनाएको छ ।

प्रतिक्रिया दिनुहोस