यसरी भयो यातायातको सेवा व्यवस्थित « प्रशासन
prasaLogo
१२ श्रावण २०७८, मंगलबार

यसरी भयो यातायातको सेवा व्यवस्थित


तिलक पौडेल

५ जेष्ठ २०७५, शनिबार


२०७२ माघ २९ गते । बिहान १०ः१५ बजे ।

म एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय (साना–ठूला सवारी) थिएँ । कार्यालयमा सेवाग्राहीहरूको भीड निकै देखिन्थ्यो । कार्यालयको हाता प्रवेश गर्नेबित्तिकै एकजना सेवाग्राही हातमा स्लिप लिएर लाइनबाट बाहिरिए । ‘बैंक भौचर कता पाइन्छ होला ?’ चस्मा मिलाउँदै उनले लाइन बसेकाहरूसँग प्रश्न गरे । उनी निकै असिनपसिन देखिन्थे । सायद, लाइनको ठेलमठेलले गर्दा होला ।

तुरुन्तै एक नौजवानले प्रतिक्रिया आयो, ‘यता पाइन्छ अंकल !’ त्यसपछि उनी नौजवानको पछि लागे । म पनि कसैले चाल नपाउने गरी उनीहरूको पछि लागें । ती नौजवान लेखापढी व्यावसायी रहेछन् । उनको नाम प्रमोद रहेछ ।

उनले आफ्नो टेबुलमा भौचर भरिदिए । र, बैंक रहेको स्थान देखाउँदै भने, ‘अब उ बैंकमा पैसा तिरेर आउनुस् ।’

ती सेवाग्राहीको नाम रामप्रसाद बिडारी रहेछ । मैले रामप्रसादजीसँग सेवाग्राही बनेर बिलबुक (अपभ्रंश–ब्लुबुक) रिन्युबारे सोधे । उनले अनुभवी पारामा जवाफ दिए, ‘उ त्यो लाइनमा उभिएर कर यकिन गर्नुपर्छ, अनि यस्तो भौचर भरेर बैंकमा पैसा तिर्नुपर्छ । त्यसपछि गर्नुपर्ने काम मलाई थाहा छैन । राख्न त नागरिक बडापत्र राखेका रहेछन् । तर, त्यो पढ्न सकिने ठाउँमा पुग्नै नसकिने रहेछ…।’

वास्तवमा म सेवाग्राही थिइनँ । म त्यहाँको कर्मचारी थिएँ । म त्यहाँ एक महिनाअघि नै सरुवा भइसकेको थिए । तैपनि कार्यालयमा भने हाजिर भएको थिएन । निमित्त हाकिमले हाजिर हुन मात्र भए पनि आउन भनेपछि म त्यहाँ गएको थिएँ ।

म सरासर कार्यालय प्रमुखको कार्यकक्षमा गएँ । त्यहाँ सहयोगी भाइ थिए । उनले शिष्टतापूर्वक यहाँ आउनुको कारण सोधे । मैले यही कार्यालयमा सरुवा भएर आएको जानकारी दिए । र, हाकिमसा’पलाई बोलाइदिन आग्रह गरे ।

उनी पानीको बोटल दिएर हाकिमसा’पलाई बोलाउन गए । कार्यालय प्रमुखको कोठाबाट नियाल्दा कार्यालय परिसरमा सेवाग्राही टनाटन देखिन्थे ।

त्यसपछि निमित्त कार्यालय प्रमुख आए । त्यसक्रममा मैले उनीसँग कार्यालयको सेवा सुधारबारे जिज्ञासा राखें ।

निमित्त प्रमुखले व्यवस्थित गराउन सके दैनिक सात सय पाँचभन्दा बढी बिलबुकको नवीकरण गर्न सकिने बताए । ‘हैन यहाँ त सवारीसाधन दर्ता प्रणाली (भिआरएस) भन्ने सफ्टवेयर छ हैन र ! अनि किन सेवाग्राही कर यकिन गर्न लाइनमा लागेका हुन् त !’ मैले प्रश्न गरे ।

उनले त्यो सफ्टवेयर नाम मात्रको भएको बताए ।

‘त्यो सफ्टवेयर भन्नुमात्रै हो सर, फोकस वन नामको संस्थालाई विभागले जिम्मा लगाएको छ, उसैका कर्मचारीले बैंक भौचरका आधारमा इन्ट्री गर्छन्, हाम्रो नियन्त्रण पनि छैन र सवारी धनीको नाम वा नम्बरका आधारमा सफ्टवेयरले कार देखाउँदैन रे,’ उनले भने ।

यस क्रममा रामप्रसादजी बैंकमा पैसा बुझाएर निस्केको देखें । त्यसपछि बिदा हुँदै रामप्रसादजीको पछि लागें ।

अर्को भवनमा बैंक थियो । बैंकमा पैसा बुझाएर पसिना पुछ्दै रामप्रसादजी वल्तिर कार्यालयमा आउँदै गर्दा लेखापढीका तिनै नौजवान (प्रमोद)ले रिसिभ गरे ।

‘कति भीड हो बाबु ! यसलाई व्यवस्थित गर्न सकिँदैन भन्या ?’ रामप्रसादजीले भने ।

‘अझै तीन ठाउँमा लाइन बस्नुपर्छ, अंकल ! तपाईंले गर्ने हो भने आज सक्नुहुन्न । बरु, यसो चिया खर्च बक्सियोस्, म गराइदिइहाल्छु नि !’ प्रमोदले भने, ‘अघि भौचर भर्न पनि सहयोग गरेकै छु, अरु काम पनि गरिदिउँला, मेरो कामै हजुरहरू जस्तालाई सहयोग गर्ने न हो !’

सेवाग्राहीको भीड देखेर रामप्रसादलाई पनि आफैं कस्सिनुभन्दा उसैलाई जिम्मा दिन उपयुक्त लाग्यो । र, पकेटबाट ५० रूपैयाँको नोट निकालेर प्रमोदलाई दिँदै भने, ‘लौ यो पैसा लेऊ । अनि चाडै काम गरिदेऊ ।’

५० रूपैयाँ मात्रै दिएको देखेर प्रमोद अलि क्रोधित भयो । ‘यो के दिएको ? तपाईंका जमाना त खुइलिइसके, यतिले कति चिया खाने ?’

रामप्रसादजीले व्यग्यांत्मक शैलीमा भने, ‘हैन मान्छे त सानै छौ, बाबु । चिया त ५० ले नपुग्ने भनेपछि खाना कतिको खान्छौ ? कति चाहियो त ?’

उनको कुरा सुनेर मलाई हासो उठ्यो । तैपनि अर्काेतिर फर्केर हासो पचाए । उनीहरूतर्फ फर्कँदा रामप्रसादजीले दुई सय रूपैयाँ हस्तान्तरण गर्दै थिए ।

त्यसपछि प्रमोदले रामप्रसादजीलाई एक घन्टापछि भेट्न आग्रह गरी काम गर्न गयो । म पुनः उसले चाल नपाउने गरी उसको पछि लागें ।

कार्यालयमा भित्र–बाहिर गर्नेहरू र कर्मचारी को हुन् भन्नेबारे केही थाहा हुँदैनथ्यो । प्रमोद सरासर रामप्रसादजीको गाडीको फाइल, ढड्डा हुने कक्षमा प्रवेश गर्यो । फाइल र ढड्डा खोजी टेबुलमा बसेर फाराम भर्न थाल्यो । फाँटवाला अर्को लेखनदाससँग झ्यालतिर उभिएर कुरा गर्दै थिए । फाराम भरिसकेपछि प्रमोदले फाँटबाला कर्मचारीलाई भन्यो, ‘सर, एउटा सही गरिदिनु पर्याे ।’ फाँटवालाले पनि आएर ढड्डामा लेखिएको व्यहोरासमेत नहेरी सही गर्नुपर्ने ठाउँमा सही गरिदिए– कत्रो विश्वास !

बिलबुक नवीकरणको काम सकिएको थियो । त्यसपछि प्रमोदले रामप्रसादजीलाई बोलाएर उनको बिलबुक हातमा थमाइदियो । भीडमा चाडै काम भएको देखेर रामप्रसाद जिल्ल परे । र, अर्के बिलबुक होइन भनेर नियाले पनि । त्यसपछि उनले प्रमोदलाई धन्यवाद दिए ।

‘त्यो चियाखर्च मैले मात्र खाने हो र अंकल ! उ त्यहाँ ब्वाँसाजस्ता आँखा भएका सा’पलाई पनि त हो ! मलाई त ५० रूपैयाँ पनि धेरै हुन्थ्यो नि !’

प्रमोदले आफ्नो इमान्दारिता प्रकट गर्दै रामप्रसादको चित्त बुझाउने धृष्टता गर्यो । ती फाँटवालालाई प्रमोदले कति दियो ? त्यो उसैले जानोस् ।

यो घटनाले मलाई निकै डस्यो । त्यसपछि म यातायात व्यवस्था विभागमा गएँ । तत्कालीन निर्देशक वसन्तजीसँग यसबारे कुरा गरे । अनि सुधारका लागि कार्ययोजना तयार पार्न आग्रह गरें ।

बैंकलाई सँगै राखेर एउटा झ्यालबाट बिलबुक लिएर अर्काेबाट नवीकरण गरेको बिलबुक दिने व्यवस्था मिलाउन आग्रह गरे । उनले पनि मेरो कुरालाई सकारात्मक रूपमा लिए । उनले यसबारे राष्ट्रिय वाणिज्य बैंकसँग कुरा गर्नुपर्ने धारणा राखे ।

त्यसपछि हामीले बैंक भौचरको सट्टा भिआरएस रसिदका आधारमा पैसा बुझ्न बैंकसँग आग्रह गर्ने, शाखाहरूमा नवीकरणमा एकद्वार प्रणालीका आधारमा व्यवस्था मिलाउने योजना बनायौं । सोहीबमोजिम कार्यालय व्यवस्थापन गरियो ।

‘संयोगवश तपाईं अहिले मन्त्रालयमा हुनुहुन्छ, त्यसकारण तपाईंले भनेको कुरा हुन सक्छ । यसकाममा तपाईं सुरुवात गर्नुस् भ सहयोग गर्छु,’ उनले भने ।

पर्सीपल्ट यसबारे मन्त्रीज्यूलाई जानकारी गराएँ । विभागका महानिर्देशकलाई कार्ययोजना पेश गरे ।

यातायात व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माज्यूलाई अग्रिम संक्षेपीकरण गरी निर्णय गराएँ । यसरी २०७३ वैशाख पहिलो हप्तादेखि कार्यालयबाट व्यवस्थितरूपमा सेवाप्रवाह गर्याैं । यसले निकै खुसी महसुस गरेको छु ।

यसमा प्रत्यक्ष तथा परोक्षरूपमा सहयोग गर्ने सबैलाई धन्यवाद ।

…सके सपारौं, नसके नबिगारौं…

Tags :
प्रतिक्रिया दिनुहोस