मोदीको नागरिक अभिनन्दन र नेपालको राष्ट्रिय सुरक्षा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मोदीको नागरिक अभिनन्दन र नेपालको राष्ट्रिय सुरक्षा


झलकराज पौडेल

२८ बैशाख २०७५, शुक्रबार


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको दुई दिने राजकीय तथा धार्मिक भ्रमण क्रममा नेपाल आइपुगेका छन् । मोदी आज नेपाल आइपुगे पनि केही दिनअघिदेखि नै उनको भ्रमणको विषयले चर्चा पाएको थियो । नेपाली सञ्चारमाध्यम, सामाजिक सञ्जाल, चिया पसलहरूमा यही विषयले महत्व पाएको छ ।

सामाजिक सञ्जालमा मोदी नेतृत्वको सरकारले नेपालमा नाकाबन्दी लगाएको भन्दै विरोध पनि भएको थियो । नेपालको संविधानमा असहमति जनाउँदै भारतले झण्डै ६ महिना अघोषितरूपमा नाकाबन्दी लगाएको थियो ।

मोदीको भ्रमणले यहाँका अन्य महत्वपूर्ण सवालहरू जस्तै : बाम एकता, सनम शाक्य हत्याकाण्डसँग जोडिएको सुन काण्ड, यातायात व्यावसायीहरूको सिन्डिकेट, कर्मचारी समायोजन, आगामी आर्थिक वर्षको लागि तर्जुमा बजेटका सिद्धान्त र प्राथमिकताहरूमाथि गरिने संसदीय छलफल, बजेटसँग अन्तरसम्बन्धित सरकारका नीति तथा कार्यक्रमसँग सम्बन्धित विषय छायामा परेका छन् । भारतीय प्रधानमन्त्री मोदीको भ्रमण सफल पार्न नेपाल सरकारले राज्यका प्रायः सम्पूर्ण संयन्त्र प्रयोग गरेको छ । यसका लागि भ्रमण हुने स्थलहरूमा सुरक्षा व्यवस्था, सरसफाई, रङरोगनलगायत कार्यमा व्यस्त देखिन्छ । यो गर्नु पनि पर्छ । किनकी अतिथिलाई देवता समान स्वागत, सत्कार र सम्मान गर्ने नेपालीको परम्परा नै हो । यो परम्परा सदियौंदेखि चल्दै आएको छ । यही हाम्रो गौरव हो । मित्र राष्ट्रको कार्यकारी प्रमुखको आतिथ्यता सत्कारको लागि राष्ट्रिय परम्परा र संस्कार अनुशरण गर्न सरकारको मुख्य दायित्व पनि हो ।

सरकारले आफ्नो दायित्व पूरा गर्ने र परम्परालाई निरन्तरता दिने सिलसिलामा २०७२ सालको विनासकारी भूकम्पले बेहाल बनाएलगत्तै नेपाल र नेपाली जनतामाथि भारतीय पक्षबाट अघोषित रूपमा गरेको नाकाबन्दीले थिलोथिलो परेका नेपाली नागरिकहरूको आक्रान्त मनको घाउको खाता बसिनसकेको अवस्था छ ।

तिनै भारतीय कार्यकारी प्रमुखलाई दुई स्थानमा गरिने नागरिक अभिनन्दन कार्यक्रमको लागि सरकारी निकायबाट बाध्यकारी शैलीमा उनै आक्रान्त नागरिकहरूमाथि उर्दी जारी गर्नु, छिमेकी राष्ट्रसँगको बिग्रिएको सम्बन्ध सुधार अनि प्रगाढ बनाउने र तिनै राष्ट्रका प्रमुखको आतिथ्यतालाई सम्मान दिनेको नाममा सर्वसाधारण नागरिकको कुण्ठित भावनामाथि झनै तुसारापात लगाउनुले सरकारको आचरण, व्यवहार तथा शैलीमाथि प्रश्नचिन्ह खडा गरेको छ । नागरिक अभिनन्दन वास्तवमा कुनै पनि मित्र राष्ट्रका विदेशी प्रमुखहरूको आतिथ्यताको लागि मात्र नभएर तिनीहरूले आफ्नो देश लागि वा देशभित्रको निश्चित क्षेत्रमा गरेको योगदानको कदर स्वरूप गरिने सम्मान हो, जसलाई कुनै एक ठाउँमा एक पटक मात्र गरिन्छ ।

अब सरकारले हाल मित्रराष्ट्र भारतका कार्यकारी प्रमुख नरेन्द्र मोदीको सम्मानार्थ बाध्यकारी शैलीमा नागरिकहरूको भीड जम्मा पारेर एकै व्यक्तिलाई दुई ठाउँमा गरेको नागरिक अभिनन्दन कार्यक्रम के नागरिक अभिनन्दनको वास्तविक मर्म अनुरूपकै होला त ? नाकाबन्दीको पीडालाई मनभित्र उकुसमुकुस बनाएर नागरिकले साँच्चिकै मन मस्तिष्कबाटै हार्दिकताका साथ अभिनन्दन गरे होलान् त ? सर्वसाधारण नेपाली नागरिकहरूले अतिथिहरूलाई गरिने त्यस्तो खालको नागरिक अभिनन्दन कार्यक्रमलाई फेरि कुन अर्थमा बुझ्ने गर्छन् ? नरेन्द्र मोदीले नेपाल र नेपाली जनतालाई कुन उल्लेखनीय योगदान गरेबापत गरिएको हो नागरिक अभिनन्दन ? त्यही २०७२ सालको नाकाबन्दी ? प्रश्न यहाँनेर पनि नउठ्ला भन्न सकिँदैन । बरु जे जस्तो सम्मान र अभिनन्दन गरे पनि सरकारले आफ्नो तर्फबाट सम्पूर्ण संयन्त्रहरू राष्ट्रप्रमुख, सरकार प्रमुख, संवैधानिक निकायका प्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरू, राजनीतिक दलका नेताहरूलगायतको उपस्थिति गराएर आफ्नो अतिथिको सत्कार, सम्मान कुनै कसुर बाँकी नराखी गर्नुपथ्र्याे ।

नाकाबन्दीकै समयमा विभिन्न दुःख झेल्दै भोकभोकै रहेर पनि सरकारी पक्षलाई राष्ट्रियता र स्वाभिमानको पक्षमा दिशा निर्देशन गर्ने र सोही पक्षको अडानमा साथ दिने तिनै नागरिकहरूको मनसाय नबुझी उनीहरूको भावनाविपरित केवल उर्दी जारी गरेर उपस्थिति गराई गरिएको सम्मान सम्मान नभई उपहास मात्र हुनसक्छ । त्यसैगरी नेपाल सरकारले भारतीय सरकार प्रमुखको दुई दिने भ्रमणको लागि आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्थामा कुनै कसुर बाँकी नराख्दा समेत भारतीय सुरक्षा सेनाहरूलाई त्रिभुवन विमानस्थल लगायतका नेपालका विभिन्न ठाउँमा परिचालन गर्नु, सरकार त्यसको मुकदर्शक हुनु नेपाल र सम्पूर्ण नेपाली जनताहरूको राष्ट्रियता र स्वाभिमानको निम्ति अत्यन्तै गम्भीर विषय बनेको छ । नेपालको राष्ट्रिय सुरक्षा माथि खिल्ली उठाएको छ । के नेपालको सुरक्षा व्यवस्था त्यति कमजोर छ ? यदि हो भने नेपाली जनताहरू त्यति नै असुरक्षित अवस्थामा छन् ? यसबारे नेपाल सरकारले जवाफ दिनुपर्छ । यस विषयमा नेपालका सुरक्षा निकायका प्रमुखहरूको समेत स्पष्ट धारणा नेपाली जनताको चासोको विषय बनेको छ ।

दुई छिमेकी मुलुकका सरकार प्रमुखहरूको एक अर्को देशमा हुने गरेका भ्रमण कुनै नयाँ होइन । यो स्वाभाविक किसिमको हो । र, लिनु पनि पर्छ । जे होस् ठूलो छिमेकी आर्थिक, व्यापारिक, सामाजिक, सांस्कृतिक साझेदार मुलुकका सरकार प्रमुख नेपालको राजकीय भ्रमणको क्रममा भएका दुईवटा कार्यहरू एउटा अरूण तेस्रो जलविद्युत आयोजनाको सम्झौता, जुन अहिलेका प्रधानमन्त्री केपी ओली नेतृत्व यसभन्दा पहिलेको सरकारको ९ महिने शासनकालमा खारेज गरिएको सम्झौता थियो । त्यसलाई हाल उहाँमा ढिलै भए पनि आवश्यकता महसुस गरी आफूले पहिला गरेको गल्तीको प्रायश्चित गर्दै पुनः सम्झौता गर्नुमा आफैमा महत्वपूर्ण मानिन्छ । यो परियोजना यथासमयमा नै कार्यान्वयनमा आयो भने यसले भारतसँगको व्यापार घाटालाई कम गर्ने निश्चित छ । अर्को जनकपुर–अयोध्या सिधा बस सेवा सञ्चालन रामायण सर्किटको संयुक्त उद्घाटन, जुन नेपालको जनकपुरधाम क्षेत्रमा सिधै भारतीय पर्यटकहरू भित्र्याउने र नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।

नेपालका प्रधानमन्त्रीले यदि आफ्नो राष्ट्रवादको छविलाई कायम राख्नु थियो भने, सम्पूर्ण नेपालीहरूको नाकाबन्दीको गम्भीर पीडालाई केही मात्रामा शीतल प्रदान गर्नुथियो भने भारतीय पक्षबाट भएको आपराधिक नाकाबन्दीको प्रायश्चित गराउँदै तिनै अभिनन्दन गर्न लागेका नागरिकहरूसामु क्षमा माग्न लगाउने साहस गर्न सक्नुपथ्र्याे । दुई देशका सीमाहरूमा भएको विवाद विशेष गरी हालसालै कञ्चनपुरको पुनर्बास क्षेत्रमा भारतीय पक्षबाट हुने गरेको ज्यादती, दोक्लाम विवादलगायत विषयमा कुरा उठाउन सक्नुपथ्र्याे । र, हाल भारतले नेपालको सुरक्षा व्यवस्थाको विषयमा गरेको अविश्वासको खुलेर कुरा गर्न सक्नुपथ्र्याे । यसरी इतिहासदेखि नै नेपाल र भारत एक अर्काका असल छिमेकी राष्ट्र भएको र ती देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको एक अर्को देशमा हुने गरेको भ्रमणलाई स्वाभाविक प्रक्रिया लिनु, आ–आफ्नो राष्ट्रले आ–आफ्नो अनुसार स्वागत र सम्मान पनि स्वाभाविक रूपमै भएमा यिनै यस्तै विषयको उल्झनलाई लिएर सम्बन्धित मुलुकको सरकार आफ्नो प्राथमिकतामा रहेका कार्यहरूलाई विलम्ब गर्नु भनेको एउटा जटिल विषय हुन आउँछ ।

Tags :
प्रतिक्रिया दिनुहोस