दश वर्षीया बालिका बलात्कृत « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दश वर्षीया बालिका बलात्कृत


१६ बैशाख २०७५, आइतबार


बलात्कार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण–७ हिस्तान औलमा दश वर्षीया बालिका बलात्कृत भएकी छन् ।

स्थानीय मण्डली आधारभूत विद्यालयका पूर्वशिक्षक ६८ वर्षीय धनबहादुर पुनले सोही विद्यालयमा अध्ययनरत ती बालिकालाई बलात्कार गरेका हुन् ।

अनुसन्धानका क्रममा उनले गत मंसिरदेखि विभिन्न समयमा ती बालिकालाई बलात्कार गर्दै आएको खुलेको छ । परिवार र स्थानीयवासीले घटनाबारे गाउँपालिका उपाध्यक्ष केशमायाँ पुनमगरलाई जानकारी गराएपछि उनकै समन्वयमा प्रहरीले आरोपित पुनलाई शनिबार नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

फौज्दारी मुद्दा भएकाले गाउँपालिकाको न्यायिक समितिले उक्त मुद्दालाई प्रहरीको समन्वयमा कानूनी प्रक्रिया अघि बढाएको उपाध्यक्ष मगरले बताइन् । पीडित बालिकाकी परिवार आर्थिक अवस्था कमजोर रहेका कारण पूर्वशिक्षक पुनले विभिन्न आर्थिक प्रलोभन देखाउने र बलात्कार गर्ने गरेको पाइएको उनको भनाइ छ ।

पीडित बालिकालाई शनिबार दिउँसो सदरमुकाम ल्याएर स्वास्थ्य परीक्षण गरेपछि आवश्यक औषधिसँगै स्वास्थ्य परामर्श दिइएको छ । प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले आरोपित पुनलाई नियन्त्रणमा लिएर कारबाहीका लागि कानूनी प्रक्रिया अघि बढाइएको जानकारी दिइन् । रासस

प्रतिक्रिया दिनुहोस