निजामती कर्मचारी ट्रेड युनियनमा पदाधिकारी मोह : दलीय राजनीतिभन्दा चर्को « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

निजामती कर्मचारी ट्रेड युनियनमा पदाधिकारी मोह : दलीय राजनीतिभन्दा चर्को


११ बैशाख २०७५, मंगलबार


काठमाडौं । कर्मचारीले आफ्नो पदीय जिम्मेवारीको पालना गर्दा सदैव राष्ट्र र जनताको वृहत्तर हितलाई ध्यानमा राखी प्रचलित कानूनको अधिमा रहेर काम गर्छन् । कर्मचारीले पद तथा सेवालाई मर्यादित बनाउन सदैव सकरात्मक तथा अरुको लागि अनुकरणीय हुने गरी सबैलाई शिष्ट तथा मर्यादित व्यवहार गर्नुपर्ने कुरा सामान्य नियम भित्र पर्दछ ।

कार्यालय समयमा निर्धारित स्थानमा रहेर कार्यालयको काम मात्र गर्नु पर्ने र कार्यालय समयमा कार्यालयको काम बाहेक कार्यालयसँग असम्बन्धित, व्यक्तिगत वा अन्य कुनै क्रियाकलापमा संलग्न हुनु हुँदैन भन्ने कुरा निजामती कर्मचारीहरुको आचरण सम्बन्धी नियमावलीमा उल्लेख भएका केही बुँदाहरु हुन् । निजामती सेवाका कर्मचारीको आचरण सम्बन्धी नियमावली, २०६५ को परिच्छेद दुईको १२ नम्बरमा राजनीतिक तटस्थता कायम गर्ने बारे उल्लेखित कुराहरुबारे पनि कर्मचारी जानकार नै भएको हुनुपर्छ ।

राज्य संचालनको एक महत्वपूर्ण पिल्लर कर्मचारी जसलाई स्थायी सरकार पनि भनिन्छ । आम नागरिकसँग प्रत्यक्षरुपमा डे टु डे सम्पर्कमा रहेर सरकार र जनता बीचको पुलको रुपमा काम गर्छन् कर्मचारीहरुले । राज्य संचालनका लागि तत्काल यसको विकल्प नै छैन भन्दा हुन्छ तर पछिल्लो समयमा आफ्नो धर्म र मर्म बिर्सेर राजनीतिज्ञहरु भन्दा चर्का बनेका छन् कर्मचारी नेता ।

कर्मचारीतन्त्र राजनीति गर्नका लागि भनेर स्थापना भएकै होइन र परिकल्पना पनि त्यस्तो हुँदै होइन, तर कर्मचारीहरु नै महानेता बन्न थालेपछि सक्किएन ! सत्ता प्राप्तिका लागि जुट्ने अनि पद प्राप्तिका लागि फुट्ने, नेपाली राजनीतिको यो त एउटा सामान्य नियम नै भइसकेको छ । यदि यसो भएन भने दल नै छैनन्, देशमा राजनीतिक गतिबिधि नै बन्द भएछ कि क्या हो, या नेता हराएछन् कि भन्ने भान हुन्छ । भागबण्डै मिलाउनका लागि पार्टी भित्र मात्रै होइन, सरकारमै उप, वरिष्ठ, कनिष्ठ गरी दर्जनौलाई भाग पुर्याउने कुरा पनि नौलो भएन तर कर्मचारी ट्रेड युनियनमा भाग पुर्याउनकै लागि १९ जना उपाध्यक्ष र १८ जना सचिव बनाएको भने सायदै सुन्नु भएको होला । फरक फरक ट्रेड युनियनको एकीकरण पछि सबैलाई मिलाउन वा भाग पुर्याउन त्यसो गरिएको भएपनि सामान्य लाग्थ्यो होला । तर एउटै ट्रेड युनियनमा १९ जना उपाध्यक्ष र १८ जना सचिव छन् भन्ने थाहा पाउँदा पक्कै पनि अनौठौ अवश्य लाग्ला ।

आखिर के का लागि यति ठूलो कार्यसमिति र यति धेरै पदाधिकारी चाहिन्छ एउटा ट्रेड युनियनमा ? उत्तर सजिलो छ, ट्रेड युनियनको पदाधिकारीको नाममा दादागिरी चलाउन, आफुले चाहे अनुसारको मालदार अड्डामा सरुवा मिलाउन वा चलाई राखेको रजगज जोगाई राख्न !

र यी पनि हेर्नुहोस्

मालदार अड्डामा ट्रेड युनियनका नेता !

मालदार अड्डामा ट्रेड युनियनका नेता–श्रृंखला २

निजामती सेवाका ट्रेड युनियनहरुमध्ये नेपाल मधेशी निजामती कर्मचारी मञ्च सबैभन्दा बढी पदाधिकारी भएको ट्रेड युनियन हो । ट्रेड युनियनका पदाधिकारीहरुले मागेको कार्यालयमा सरुवा तथा थमौती गर्ने परम्पराको सबैभन्दा बढी दुरुपयोग नेपाल मधेशी निजामती कर्मचारी मञ्चले गर्दै आएको कुरा यसका पदाधिकारीहरुको संख्याले नै देखाउँछ । सरुवा तथा थमौतीकै लागि नेपाल मधेशी निजामती कर्मचारी मञ्चमा १९ जना उपाध्यक्ष र १८ जना सचिब रहेका छन् ।

विधान अनुसार १११ जनाको केन्द्रीय समितिमा १ अध्यक्ष, १ महासचिब एवं १–१ जना कोषाध्यक्ष र सह कोषाध्यक्षसहित ४६ जना पदाधिकारी रहेका छन् । जसमा ३ जना सल्लाहकार समेत समावेश छन् ।
अझै एक जना सचिव थप्न बाँकी नै रहेको अध्यक्ष भुवनेश्वर चौधरीले बताउँछन् । उपाध्यक्ष जतिकै संख्या सचिवको पनि पुर्याउने उनको धोको छ । किन यति धेरै पदाधिकारी, सदस्य भन्दा सचिव र उपाध्यक्ष बढी ? भन्ने प्रश्नमा अध्यक्ष चौधरी भन्छन्–आकांक्षी धेरै छन् नि त हजुर, सबैको चित्त बुझाउनै पर्यो !

वन, नापी, स्वास्थ्य, कृषि र पशु सेवामा कार्यरत प्राबिधिक कर्मचारीहरुको बर्चश्व रहेको नेपाल मधेशी निजामती कर्मचारी मञ्चले आफ्ना पदाधिकारीहरुलाई तत् तत् आकर्षक कार्यालयमा नै सरुवा तथा थमौती गर्न यति धेरै पदाधिकारीहरु बनाएको हो । सरुवा र थमौतीकै लागि जिल्ला तहमा बनाइएका पदाधिकारीहरु समेत समावेश गर्ने हो भने यो ट्रेड युनियनलाई केवल पदाधिकारीहरुको झुण्ड भन्दा पनि फरक पर्दैन ।

ट्रेड युनियनमा देखा परेको यस्तो गलत प्रवृतिलाई न त निजामती ट्रेड युनियनलाई नियमन गर्ने सामान्य प्रशासन मन्त्रालयले ख्याल गरेको छ न त ट्रेड युनियन दर्ता र नविकरणको जिम्मा लिएको श्रम बिभागले नै । के सामान्य प्रशासन मन्त्रालय र श्रम बिभाग ट्रेड युनियनहरुको तमासा र नौटंकी हेर्ने दर्शक मात्रै हुन् ? सरकारी नियम अनुसार दर्ता भएका ट्रेड युनियनहरुको नियमन गर्ने दायित्व यी निकायको होइन र ?

दर्ता भएका अरु ट्रेड युनियनहरुमा रहेको पदाधिकारी संख्या पनि खासै कम छैन । निजामती सेवा ऐन अन्तर्गत दर्ता भएका ८ वटा ट्रेड युनियनका पदाधिकारीहरुको संख्या जोड्ने हो भने त्यसले आश्चर्यजनक स्थिति देखाउछ । ट्रेड युनियनमा रहेको पदाधिकारी मोहले गर्दा जिल्ला तहका अधिकांश कार्यालयहरु कर्मचारी भन्दा पनि ट्रेड युनियनका पदाधिकारीहरुको कार्यालय बनेको स्थिति समेत छ ।

ट्रेड युनियनहरुमा देखा परेका यस्ता बिकृतिहरुले एकातिर स्वयं सरकारको नियमन क्षमतामा प्रश्नचिन्ह खडा गरेको छ भने अर्कोतर्फ ट्रेड युनियनको पदाधिकारीका नाममा कर्मचारीहरुले ब्यक्तिगत फाइदा लिइरहेका छन् । यस्तो दृष्टान्तले पेशागत ट्रेड युनियनको मान्यतालाई गिज्याइ रहेको मात्रै छैन स्वयं ट्रेड युनियनको पनि ब्यापक दुरुपयोग भएको अवस्थालाई छर्लङ्ग पार्दछ ।

हेर्नुहोस् नामावली

Tags :
प्रतिक्रिया दिनुहोस