वैदेशिक रोजगारीमा जानेमध्ये २ प्रतिशत मात्रै दक्ष ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वैदेशिक रोजगारीमा जानेमध्ये २ प्रतिशत मात्रै दक्ष !


प्रशासन विशेष ब्युरो

८ बैशाख २०७५, शनिबार


भक्तपुर । लाखौं युवाहरु यतिबेला वैदेशिक रोजगारीमा छन् । तर यसरी वैदेशिक रोजगारीमा गएकामध्ये अधिकांश अदक्ष र अर्धदक्ष छन् ।

राष्ट्रिय युवा परिषदले आयोजना गरेको एक कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले अर्धदक्ष युवा विदेश गइरहेको बताए । उनले अब तालीम दिएर मात्र दक्ष युवालाई विदेश पठाउनु पर्ने आवश्यकता औंल्याए ।

‘थोरै ज्ञान सीप सिकेर विदेश गएको खण्डमा दोब्बर तलब पाउँछन्’, उनले भने, ‘त्यसैले तालीम दिएर मात्र युवा पठाउने तयारीमा रहेका छौं ।’ उनले विद्यालय तहबाट नै प्राविधिक शिक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

सचिव सापकोटाका अनुसार वैदेशिक रोजगारका लागि अदक्ष ७४ प्रतिशत, अर्धदक्ष २४ प्रतिशत र दक्ष दुई प्रतिशत युवा जाने गरेका छन् । उनले युवालाई मुलुकमा परिचालन गर्ने योजना बनाइरहेको जानकारी दिए । सञ्चारमाध्यमलाई युवाका सकारात्मक सफलताका कथालाई सम्प्रेषण गर्न उनले आग्रह गरे ।

कार्यक्रममा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले युवाका विषय स्थापना गर्न सञ्चारकर्मीले अहं भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै दुई वर्षमा मुलुकका धेरै युवालाई स्वरोजगार बनाइने जिकिर गरे । उनले ४६० गाउँपालिकामा विद्युतीय पुस्तकालय र सबै स्थानीय तहमा युवामैत्री उद्यान बनाइने पनि बताए । रासस

प्रतिक्रिया दिनुहोस