महिलाजति चोरबाटो विदेश « प्रशासन
Logo ११ असार २०७९, शनिबार
   

महिलाजति चोरबाटो विदेश


८ बैशाख २०७५, शनिबार


काठमाडैं । कैलाली कनरीकी २१ वर्षीया लक्ष्मी चौधरी चार वर्षअघि अवैध बाटो भएर घरेलु कामदारका रूपमा कुवेत पुगिन् । त्यहाँ उनले सोचेजस्तो काम र दाम पाउन सकिनन् । दुई वर्ष नबित्दै फर्केको खबर आजको कान्तिपुर दैनिकले प्रकाशित गरेको छ ।

जाँदाजस्तो फर्किन सजिलो भएन, लक्ष्मीलाई । ‘घर फर्कन पाउँछु भन्ने आशा मरिसकेको थियो । मालिकका घरमा जेलसजाय भुक्तान गरिरहेको कैदीजस्ती भएकी थिए,’ उनी भन्छिन्, ‘अनेक जुक्ति लगाई मालिकलाई फकाएर धन्न घर फर्किन पाएँ।’

भारतको दम्बोली । हो, त्यही ठाउँमा खरिद–बिक्री भएकी थिइन्, लक्ष्मी । ‘मालिक’ ले त्यही ठाउँबाट उनलाई जहाजमा राखेर आफ्नो देश कुवेत लगे । त्यहाँ करिब दुई वर्ष बन्धकझैं बस्नुपरेको उनले बताइन् । ‘बिहान ७ देखि राति १२ बजे काम गर्नुपथ्र्यो,’ उनले सम्झिइन्, ‘भर पेट खान पनि दिन्थेनन्, मालिकले आफूले छाडेको जुठो खाना दिन्थ्यो ।’ बच्चाको स्याहार गर्ने मूल काम भए पनि घर सफाइदेखि भाँडासम्म माझ्नुपथ्र्यो उनले।

मालिक रिसालु प्रवृत्तिको थियो । गाली नगरेको र नकुटेको दिनै हुन्थेन । घरबाट बाहिर निस्केर पनि कता भाग्नेरु त्यहाँको प्रहरीले पक्रिने डर सधैं रहन्थ्यो । पीडा सहेर बाँच्नुको विकल्प थिएन । उनी मालिकलाई रिझाएर उम्कने जुक्ति लगाइरहेकी थिइन् । ‘दुई वर्षको अवधिमा मेरा हातका रेखा मेटिइसकेका थिए । भाग्यरेखाप्रतिको विश्वास त झनै टुटिसकेको थियो,’ लक्ष्मीले भनिन्।

एक दिन ‘मालिक–मालिक्नी’ असाध्यै खुसी मुडमा घर फर्किए । ‘मैले घरमा आमा एक्लै र बिरामी अवस्थामा रहेको भन्दै फर्किने इच्छा व्यक्त गरेँ । सोच्दै नसोचेको कुरो भयो । मालिकले हुन्छ भनिदिए,’ उनले सुनाइन् । तर, कुवेत एयरपोर्टबाट जहाजले भुईं नछोडासम्म उनी ढुक्क थिइनन् । मालिकको मुड परिवर्तन होला कि भन्ने आशंका थियो।

मालिकले उनका हातमा जहाजको टिकट र डेढ वर्षको तलबबापत करिब दुई लाख नेपाली रुपैयाँ थमाइदिएको दियो। ‘तर मलाई त्यो बेला पैसाभन्दा टिकट पाउनु ठूलो कुरा लाग्यो,’ उनले भनिन्।

लक्ष्मी कैलालीको दुर्गम गाउँ कनरीबाट भारतको दम्बोली कसरी पुगिन् तरु ‘गाउँकै स्कुलमा ८ कक्षामा पढ्थेँ । घरनजिकै नेपालगन्जकी एक महिला डेरा लिएर बस्थिन्। उनका श्रीमान् टोपबहादुर विदेश पठाउने काम गर्थे । ती महिलाले विदेशमा राम्रो कमाइ हुने र दुई वर्षमै धनगढीमा घर किन्न सकिने सपना देखाइन्,’ उनले भनिन्, ‘एक दिन टोपबहादुरले पासपोर्ट बनाएर ल्यायो। उसको पछि लागेर नेपालगन्जको रुपैडिया नाका भएर भारतको दम्बोली पुग्यौं।’ उनले विदेश जानकै लागि नागरिकतामा दुई वर्ष बढाएर २० वर्ष उमेर लेखाएकी थिइन्।

दम्बोलीमा नेपाली युवतीको खरिदबिक्री नै हुने गरेको उनले बताइन् । ‘त्यहाँको एउटा हलमा मजस्ता धेरै नेपाली दिदीबहिनीहरूलाई दिनभरि बसाइन्थ्यो। विदेशीहरू आउँथे । सबैलाई उभ्याएर छामछुम गरी हेरिन्थ्यो । मन परेकालाई लैजान्थे । मसँगैकी अर्की महिला साउदी अरब गइन्,’ उनी भन्छिन्, ‘नेपाली मात्र नभएर बंगाली र भारतीय महिला पनि त्यहाँ थिए।’ दम्बोलीमा दुई महिना बसेपछि मालिकको रोजाइमा परेकी थिइन्, लक्ष्मी।

प्रतिक्रिया दिनुहोस