गृहको गुम्दो शाख : जोगाउन सक्लान् त राईले ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गृहको गुम्दो शाख : जोगाउन सक्लान् त राईले !


६ बैशाख २०७५, बिहिबार


आम जनताको जीउधनको सुरक्षा, विधिको शासनको पालना, मानव अधिकारको संरक्षण र विपदबाट हुनसक्ने जीउधनको सुरक्षा गर्दै सामाजिक स्थायित्व कायम गर्ने महत्वपूर्ण जिम्मेवारी बहन गरेको गृह मन्त्रालयको स्थायी सरकारको नेतृत्व गरिरहेका छन् सचिव प्रेमकुमार राईले । नयाँ शासकीय प्रणालीमा संक्रमणको सहज व्यवस्थापन गराउनदेखि मुलुकको सार्वभौमसत्ता, अखण्डता र सामाजिक सदभाव खलल पुर्याउने गतिबिधि माथि नियन्त्रण, भ्रष्टाचार, अपराध, तस्करी, लागु औषध नियन्त्रण तथा रोकथाम जस्ता जटिल चुनौतीहरु पहाडजस्तै बनेर खडा छन् उनका अगाडी । राजनीतिक संक्रमणको चरम मारका बीचबाट गुज्रिरहेको गृह प्रशासनमा सचिव राईको शुरुवातबारे प्रशासन डटकमका एस राज उपाध्यायले तयार पारेको रिपोर्ट :

आशालाग्दो सुरुवात
सचिव प्रेमकुमार राईको आगमनसँगै गृह मन्त्रालयमा केही सुधारका संकेतहरु देखिन थालेका छन् । उनको दोस्रो पटकको आगमनले गृहका बेथितीहरुको अन्त्य हुनेमा कर्मचारीहरु आशावादी छन् । सबै कर्मचारीलाई टिमवर्कमा राखेर आन्तरिक सुधारबाट अघि बढ्न खोजिरहेका राईले यतिबेलाको सरकारको मुख्य प्राथमिकतामा रहेको सुशासन कायम गर्ने सवालमा थालिएका स–साना प्रयासहरुले कर्मचारीलाई उत्साहित बनाएको छ ।

सबै कर्मचारीबीच सामुहिक छलफल
राई सहसचिव हुँदा शुरुवात गरिएको सामुहिक छलफल उनको सरुवासँगै बन्द हुन पुगेकोमा उनी आएसँगै पुनः निरन्तरता पाएको छ । गृह प्रशासन बुझेका, स्पष्ट र निर्णायक क्षमतामा अब्बल सचिव राइको दोस्रो गृह प्रवेशबाट खुसी कर्मचारीहरुले पहिले जस्तै कार्यालय सहयोगीदेखि सचिवसम्मको सामुहिक बैठक शुरुवात गर्नुपर्ने सुझावपछि गृहसचिव राईले त्यसलाई निरन्तरता दिएका हुन् ।

हरेक महिना गरिने सामुहिक छलफल कार्यक्रमबाट निकै प्रफुल्लित देखिएका एक कर्मचारीले खुसी हुँदै भने–‘महिनाभरीका आफ्ना कथाव्यथा सचिवज्यूसँग प्रत्यक्ष राख्न पाउनु खुसीको कुरा हो । मार्फत, मार्फत जाँदा कतिपय कुराहरु कार्यालय प्रमुखसम्मै नपुग्ने र पुगेपनि जस्ताको त्यस्तै नहुने भएकोले स्वयं आफैले कुरा राखे जतिको हुँदैन । यो चाहिँ राम्रै कामको थालनी भएको छ ।’

विपद् व्यवस्थापन शाखाका एक कर्मचारीले भने –‘यो यस्तो शाखा हो जहाँ १० देखि ५ को समयमावाहेक कुनै पनि बेला खटिनु पर्दा कर्मचारीलाई परेका पिर मर्काका कुरा राख्न त पाइयो नि, यो भन्दा अगाडि त त्यो पनि थिएन ।’

सामुहिक छलफल गर्ने तथा निर्देशन दिने मात्रै होइन, शाखाहरुमा काम कसरी भइरहेको छ ? कुन गतिमा भइरहेको छ ? प्रत्येक शाखामा पुगेर विस्तृतमा सूचना लिने र त्यसमा भए गरेका कमजोरीहरुबारे सुझावसहित निर्देशन दिइरहनु भएको छ । ति कर्मचारीले भित्रैदेखि खुसी व्यक्त गर्दै भने–‘अत्यावश्यक मिटिङ, छलफलवाहेक अहिले कार्यालयभित्रै ब्यस्त हुनुहुन्छ उहाँ । इभन बिदाको दिन पनि बोलाएर काम गरिरहनु भएको छ ।’ सचिवको सक्रियताबाट आफुहरुलाई समेत काम गर्ने पे्ररणा जागेको उनको ठहर छ ।

सुशासनको सुरुवात आफैबाट
हरेक शाखामा पुगेर कर्मचारीलाई निर्देशन दिइरहेका राईले स–साना कुराहरुमा समेत ध्यान दिन र सुधारको सुरुवात आफैबाट गर्न सुझाएका छन् । केही दिन अघि मात्रै उनी एकाएक कर्मचारीहरुको कार्यकक्षमा पुगे र टेवुल तथा दराजमाथि वर्षौदेखि थन्काएर राखेका फाइलहरु हटाई कोठा सफा र चिटिक्क बनाउन सम्बन्धित शाखामा रहेका कर्मचारीलाई निर्देशन दिए ।

सचिव राईको भनाइ उधृत गर्दै एक कर्मचारीले भने–‘काम लाग्ने छन् र फच्र्यौट गर्नुपर्ने छ भने तत्काल अगाडी बढाउनुस् र काम नलाग्ने फाइलहरु छन् भने हटाएर कार्यकक्ष सफा सुग्घर राख्नुहोस् ।’ यसबाट स्वयं कर्मचारीलाई पनि कार्यकक्षमा बस्दा आनन्द आओस् र सेवाग्राही आउँदा पनि सफा देखियोस् भन्ने उनको भनाइ थियो ।

गृह सचिव राईले गर्न खोजेका अन्य सुधारहरु के के हुन् भन्ने प्रश्नमा सँगै बसेका अर्का कर्मचारीले भने –‘पहिलेको सचिवले सरकारी गाडीलाई निजी बनाएर चलाउनु भएको थियो भने अहिले उहाँले सरकारी गाडी(सेतो) प्लेट बनाएर चढ्नु भयो ।’

अनि दोस्रो भनेको सचिवको पछाडी सुरक्षाकर्मीको पछुवा गाडि हुन्थ्यो, त्यो उहाँले फर्काइ दिनुभयो । ‘मलाई अहिले सुरक्षा आवश्यक छैन, म जनताको छोरा हुँ, जनताकै काम गर्न आएको हुँ भनेर हटाइ दिए ।’ सचिव राईको भनाइ उधृत गर्दै उनले थपे ।

प्रत्येक शाखा–शाखामा गएर सोधेपुछ गर्नु र सुझाउनुको कारण सरकारले जोड दिँदै आएको सुशासन कायम गर्ने कार्यकै निरन्तरता भएको ति कर्मचारीको भनाइ थियो ।

नयाँ सरकार गठनपछि ठूलो संख्यामा गरिएको सचिव सरुवाको विषयलाई लिएर सत्ता साझेदार माओबादीको असन्तुष्टिका बीच शक्तिशाली मन्त्रालयका रुपमा लिइने गृहमन्त्रालयमा राईको आगमनबारे पनि राजनीतिकरुपमा केही मतभेद रहेपनि अधिकाँस मन्त्रालयहरुमा बिज्ञ सचिवहरुलाई नै पठाइएको र गृह मन्त्रालयको सन्दर्भमा राईको आगमन उपयुक्त ठाउँमा उपयुक्त व्यक्तिको छनौट भएको सरकार र कर्मचारीहरुको बुझाइसँगै सरुवाको विषयले खासै अर्थ राखेन ।

कर्मचारीको साथ
राजनीतिक आस्थाका हिसावले एमालेसँग निकटस्थ मानिने राईको व्यवसायिक निष्ठामा भने खोट लगाउने ठाउँ नभएको गृहकै एक उच्च अधिकारी बताउँछन् ।

सत्ता साझेदार दुबै पार्टि एक हुने प्रक्रिया चलिरहँदा माओबादीले नेतृत्व गरिरहेको गृह मन्त्रालयमा माओबादी निकटस्थ कर्मचारीवृत्तबाटसमेत राईप्रतिको धारणा सहयोगी देखिन्छ । यसो हुनुमा राईको व्यवसायीक निष्ठा नै मुख्य रहेको उनीहरुको ठहर छ ।

निश्कर्ष
सत्ता प्राप्तीसँगै राज्यकोष रित्याउने तथा मुलुक र आम नागरिकको शान्ति सुरक्षासँग जोडिएको प्रहरी प्रशासनलाई ब्यक्तिगत/दलगत स्वार्थमा चलाउन खोज्ने यसअघिको परम्परालाई दोहोर्याउन खोजे गृहसचिव राईले हस् हजुरी गर्छन् या गृह प्रशासनको असली शाख जोगाउँछन्, यसका लागि त केही समय प्रतिक्षा गर्नै पर्ने हुन्छ ।

यो पनि,

सुशासन र आर्थिक विकासका लागि शसक्त सुरक्षा व्यवस्था आवश्यक– गृह सचिव राई

कर्मचारी र सुरक्षाकर्मीबीच तालमेल

हड्ताल गरेमा गाडी खोसेर सुरक्षाकर्मीले चलाउने -गृहसचिव राई

गृहको गुम्दो शाख : जोगाउन सक्लान् त राईले !

Tags :
प्रतिक्रिया दिनुहोस