हात नभएको लिङ्गो उठाइयो, साँझ ५५ हात लामो लिङ्गो ठड्याईंदै « प्रशासन
Logo १४ असार २०७९, मंगलबार
   

हात नभएको लिङ्गो उठाइयो, साँझ ५५ हात लामो लिङ्गो ठड्याईंदै


३० चैत्र २०७४, शुक्रबार


भक्तपुर । भक्तपुरको प्रसिद्घ बिस्का (बिस्केट) जात्राको चौथो दिन आज बिहान तालाक्वस्थित कुमाले टोलमा ‘ल्हा मरुम्ह यसीँ’ (हात नभएको लिङ्गो) ठड्याइएको छ ।

जात्राको चौथो दिन साँझ अर्थात् आजैको दिन भक्तपुरकै भेलुखेलस्थित यसीँख्यमा ५५ हात लामो यसीँ (लिङ्गो) ठड्याउनुअघि बिहान कुमाले टोलमा हात नभएको लिङ्गो ठड्याइएको हो ।

पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाइने उक्त लिङ्गोकोे टुप्पामा प्रसादका रुपमा हरियो घाँस र फूल राखिएको हुन्छ । प्रत्येक वर्ष चैत मसान्तका दिन लिङ्गो ठड्याइने र वैशाख ५ गते सो लिङ्गो ढालिएपछि नौ दिन आठ रात लामो बिस्केट जात्रा सम्पन्न हुन्छ ।

५५ हाते लिङ्गो
भेलुखेलस्थित यसीँख्यमा आजै ५५ हात लामो यसीँ ९लिङ्गो० ठड्याएर जात्रा मनाइएको छ । बिस्केट जात्राको अर्को आकर्षण लिङ्गो ठड्याउनु हो । सो लिङ्गो शनिबार साँझतिर ढालिने गुठी कार्यालयका प्रमुख हरिप्रसाद सुवेदीले बताए।

भैरवनाथको प्रतीक मानिने लिङ्गोको शीर्ष भाग र हात नीलो कपडाले बेरिएको हुन्छ । लिङ्गोको कोखामा झुण्ड्याइएका दुई ध्वजाहरुलाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । एकजोडी ध्वजा फुकाएपछि एउटा संवत् फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता छ । लिङ्गो उभ्याउन बाँधिएका आठ डोरीलाई अष्टमात्रिकाको प्रतीक मानिन्छ ।

लिङ्गो उभ्याइने क्रममा नवदुर्गा देवगण त्यहाँ उपस्थित हुन्छ । लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन छ । लिङ्गो ठड्याउनुअघि भैरवनाथ र भद्रकालीको रथ गःहिटीबाट तानेर भेलुखेलस्थित यसीँख्य पु¥याउनुपर्ने परम्परा छ ।

यो जात्राका एक जोडी लिङ्गो आवश्यक पर्छ । जात्राका लागि भक्तपुर चित्तपोलस्थित लिङ्गेवनबाट ५५ हातको सल्लाको रुख काटेर ल्याइन्छ । लिङ्गोलाई भैरवनाथ र भद्रकालीको प्रतीकका रुपमा लिइन्छ । सो जात्राका लागि ल्याइएको काठलाई जन्ममृत्युसम्बन्धी दशकर्म गरेर काठलाई लिङ्गोका रुपमा परिणत गर्ने प्रचलन रहेको संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले बताए। “लिङ्गोका लागि ल्याइएको नयाँ काठलाई नेवारी संस्कृतिअनुसार बेलविवाह गर्ने, गुफा राख्ने, व्रतबन्ध गर्ने र विवाहसमेत गर्ने काम सम्पन्न भएपछि एउटा काठ लिङ्गोको रुपमा परिणत हुन्छ”, संस्कृतिकर्मी धौभडेलले भने, “त्यसपछि मात्र त्यो काठले देवत्व प्राप्त गर्छ ।”

लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनाका साथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यसलाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको धौभडेलले बताए।

प्रतिक्रिया दिनुहोस