थाङने मानसिकतामा सदबुद्धि आओस् « प्रशासन
Logo १३ असार २०७९, सोमबार
   

थाङने मानसिकतामा सदबुद्धि आओस्


गोविन्द राज पोखरेल

३० चैत्र २०७४, शुक्रबार


प्रधानमन्त्री भारत भ्रमण जानुअघि दुइ दर्जन भन्दा बढी सचिवहरुको अन्तरमन्त्रालय तथा कार्यालयमा सरुवा गरियो । कर्मचारी सरुवा बढुवा सामान्य नै हो । राज्यले एउटै स्थानमा विशिष्ट पदमा कति समयसम्म बस्ने भन्ने कुनै नियम बनाएको छैन । सरकारले आफ्नो अनुकुलतामा कार्य गर्नको लागि राज्यका माथिल्ला पदहरुमा कर्मचारी नियुक्त गर्ने परम्परा पनि छ । अमेरिकामा राष्ट्रपति नियुक्तिसँगै विशिष्ट व्यक्तिहरुलाई नियुक्ति गर्ने चलन पनि छ जहाँ मन्त्री भनेकै सचिब र सचिब भनेकै मन्त्री हो ।

आफ्ना काममा काविल भएकालाई नै नियुक्ति गर्दछन् । त्यस्ता अधिकारीहरुले राजनैतिक पार्टीले बनाएका नीतिहरुलाई कार्यान्वयन गर्दछन् । हिजोको भन्दा आज कति समृद्धि र प्रगति भयो ५ बर्षको आवधिक चुनावमा छिनोफानो गरी छाड्दछन् । त्यस्ता राज्यको लागि महत्व राख्ने निर्णयहरुलाई पछि आउने सरकारले निरन्तरता दिएकै हुन्छन् । राज्यको स्थायी सरकार भनिने संयन्त्रबाटै यि कुराहरु लागु गर्दछन् । राजनैतिक रुपमा अमेरिका अध्यक्षात्मक शासन प्रणाली भएको देश हो, जहाँ २० हजार भन्दा बढी कर्मचारी राष्ट्रपतिले नियुक्त गर्दछन् र त्यति नै कर्मचारीहरु बाहिर निस्कन्छन् । किनकी ति पद भनेकै राजनैतिक नियुक्त पदहरु मानिन्छन् ।

तर नेपालमा त्यस प्रकारको परिपाटी बसिसकेको छैन । केही दिन अघिमात्र मन्त्री मात्रिका यादबले आफ्नो मन्त्रालयका सचिब सरुवा नगर्न प्रधानमन्त्रीलाई भनिसकेको छुँ भनेका थिए । जुन जहाँ छ त्यसैबाट नयाँ शिराबाट काम गर्न सिकाउने हो, अर्कोलाई ल्याउँदैमा राम्रो काम हुन्छ भन्ने कुरामा सहमत छैन भनेका थिए ।

कर्मचारीतन्त्र सबै निकम्मा अवश्य छैनन् । उनीहरुले बिभिन्न तरिकाबाट ज्ञान हासिल गरेका छन् । उनीहरुमा कामको बाँडफाँड र गर्ने तौरतरिका सबै कुरामा बिज्ञ छन् तर राजनैतिक नेतृत्वको सोंच अदुरदर्सि र पुर्वाग्रही छ । मात्रिका यादबको भनाईसँग म सहमत छु तर नेपालका कुनैपनि राजनैतिक पार्टीहरु यि कुराहरुमा सहमत हुन सकेनन् । आफ्ना कर्मचारीसँग नै सहमत नहुने राजनैतिक पार्टीका नेताहरुले खोज्ने समृद्धि कहाँ र कुन ठाउँबाट लिएर गर्ने हुन सोंच्नै पर्ने गराएको छ ।

केही समय अगाडि मन्त्री लालबाबु पण्डितले थाङने कर्मचारीसँग कुरै गर्न चाहेनन् । सातवर्षे पेन्सन सहितको स्वैच्छिक अवकाश योजनाको सम्बन्धमा उनको बोली अत्यन्त रुखो साबित भयो । उक्त कार्यक्रम कर्मचारीको स्वैच्छाले राखिएको कार्यक्रम थिएन । पण्डितकै पार्टीको सर्मथनमा समेत उक्त बिधेयक संसदबाट स्वीकृत भएको थियो ।

उनकै पार्टीलाई सर्मथन गर्ने ट्रेड युनियनका पदाधिकारीलेसमेत उनका कुराप्रति आक्रोश पोखे । यसरी हेर्दा पनि कर्मचारी भन्दा राजनैतिक पार्टीका नेताहरु नै थाङने देखिए । नेताहरुमा बौद्धिकता भन्दा क्रोध बढी छ । आशावादीता भन्दा निराशावादीता बढी छ । परिणामस्वरुप समृद्धि भन्दा संक्रमणता बढी व्यहोरेका छौं । कर्मचारी प्रणालीको सुधार र व्यबस्थापनको लागि २०१३ सालमा टंक प्रसाद आचार्यबाट शुरु भएको पहिलो संयन्त्रले हालसम्म बिभिन्न चरणहरु पार गर्दै आएको छ । बेदानन्द झा , भेषबहादुर थापा र गिरिजा प्रसाद कोइरालाको अध्यक्षतामा बनेका प्रशासनिक सुधार आयोगले पनि टंक प्रसाद आचार्यकै जगमा रहेर सुझाब पेश गरेका हुन् । त्यस्ता सुझाबहरुको कार्यान्वयन पनि थाङने नेताहरुकै कारणले कार्यान्वयन नभएका हुन् ।

हामीले अङ्गीकार गरेको शासकीय स्वरुपमा संसदबाट मन्त्री बनाउने नियम बनाएका छौं । त्यसैले राज्यको नीतिगत निर्णयहरुलाई कार्यान्वयन गर्न प्रशासनिक संयन्त्र जुन ०१३ साल देखि बिकसित हुँदै आएको छ त्यसैबाट निर्देशित गर्ने हो । नेताले कर्मचारीलाई दोष देखाइरहँदा आफनै भातृसंगठनको नाममा ट्रेड युनियनहरुको उदघाटन व्यबस्थापन र चुनावी परिणामहरुमा व्यस्त रहने अनि तिनै मध्येका कर्मचारीमाथि बैरी आँखाले हेर्ने पनि थाङने नेताहरुकै चरित्र हो । यसको सुधार राजनैतिक वृतबाट गर्ने हो की कर्मचारीले टिप्पणी उठाएर सदर गर्नु पर्ने हो ? बुझन जरुरी देखिएको छ ।

अमेरिकामा राष्ट्रपतिले बिदेश सचिवमा फरक पार्टीको नेतालाई पनि नियुक्त गर्दछन् । जसले राज्यको क्रियाकलाप र नीतिगत तहमा सबैको सहभागिता होस भन्ने चाहन्छन् तर यहाँ संविधानले व्यबस्था गरेको व्यबस्थालाई कपटपुर्ण तवरले कार्यान्वयन गर्ने कार्यमा अगाडि बढेको देखिन्छ । यसबाट पनि नेताहरुको मानसिकता राज्य सञ्चालन गर्ने भन्दा व्यक्तिगत प्रभुत्व अगाडि बढाउने कुरातर्फ अगाडि बढेको देखिन्छ ।

अड्डा अदालतहरुलाइ मालदार र नमालदारको रुपमा परिभाषित छन् । मालदार भनेको आर्थिक र शक्तिको कारणले पनि ठुलो मानिएको हो । कर्मचारीको मात्र उक्त स्थानमा पुग्न दौडधुप नरही नेताहरुको समेत त्यसैमा दौडधुप भइरहन्छ तर सडक, सदन र सञ्चारमा शुसासनको आवाज जोडजोडले फलाकी रहन्छन । आफनो हैसियत सबै पखालीरहेको अबस्थामा अरुबाट आशा खोजीरहन्छन् । अनि भन्ने गरिन्छ आफु आशावादी अरु निराशावादी !

कसैलाई कुनै स्थानमा नियुक्त गर्नु पुर्व त्यस्तो व्यक्ति सो कार्यको लागि कति काविल छ कुनै हेक्का राखिदैन । माननीय नेताहरुका स्वकीय सचिव हुन् वा सल्लाहकार, जसले राज्यको प्रतिनिधित्व गर्न सक्छ÷सक्दैन ? त्यसमा विचारै नगरी राज्यको ढुकुटीबाट पालित पोषित गरिन्छ, त्यो नेताहरुको थाङने सोंच हो कि होइन ? राष्ट्रसेवक कर्मचारी राज्य सञ्चालन गर्ने अस्थिपञ्जर अवश्य होइनन् यि त राज्यका संवाहक पनि हुन् ।

नेताहरुले गरेको गुटबन्दीकै कारण कर्मचारी गुट उपगुटमा बिभाजित छन् । उनीहरुले देखाइदिएको बाटोकै कारण सेवा सहजीकरण नगरी सेवा बिक्रि गर्न उत्प्रेरित छन् । राजनीतीले लिएको यो सुशासन मुलबाटो वा कुन बाटो हो ? छुट्टाउन जरुरी देखिएको छ । अरुलाइ दोष थोपर्न उद्दत हुनेहरु आफनै राजनैतिक संगठनका कुँडा कर्कटहरु सफा गर्न सहज मान्दैनन् । चलन, व्यबहार र संस्कार आफै सिकाउने हो, अन्यत्रबाट आयात गरी यि समस्या समाधान हुन सक्दैनन् ।

बोल्ने एउटा प्रबृति, गर्ने अर्को प्रबृति देखापरेको छ । कद लठ्ठी लगाएर उचो हुँदैन, बिबेक प्रयोग गरेर हुने हो । जापानको हिरोसिमा र नाकाशाकीमा बमले उडाएकोमा अमेरिका बिरुद्ध कहिल्यै जापानमा जुलुश निस्केन । आज जापानको प्रबिधि ह्वाइट हाउसको टेवलभरी छरिएर रहेका छन् । मलेशियाका महमद महाथिर वा दक्षिण कोरियाका लिक्वानले देशको हितको लागि बैरीसँग पनि सम्झौता गरेर देशलाई उँचो बनाएका छन्, तर हाम्रो राजनीति आफुले लाए अह्राएको काम गर्ने कर्मचारी माथि विष बमन गर्दैछन् । आफ्ना मातहतकै पदाधिकारीलाई छिन्न भिन्न पार्दैछन् । देशको समृद्धि यस प्रकारको संकिर्णताले अगाडि बढ्दैन ।

बर्तमान अबस्थामा २०१५ सालको आम चुनाबमा शक्तिशाली नेतृत्वमा पुगेको नेपाली काँग्रेसको सरकार होस् वा २०१७ पछि राजा महेन्द्रको शक्ति जस्तै बर्तमान अबस्थामा बनेको सरकार पनि कम शक्तिशाली छैन । सरकार शक्तिशाली भएको गुणगान मात्र गाउने र आम नागरिकलाई तर्साउने किसिमले अगाडि बढने हो भने नेपाली जनताले आशा गरेको समृद्धि निराशामा परिणत हुनेछ ।

राजनीतिक नेतृत्वको मानसिकता थाङने होइन, उर्जावान हुन जरुरी छ । प्रत्येक बर्ष थपिने ५ लाख युवाहरुको कर्मभुमीको थलो अगाडि बढाउनै पर्ने जरुरी देखिएको छ । आफुकहाँ भएकै श्रोतलाई परिचालन गराउन सके मात्रै मुलुकले फड्को मार्न सक्दछ । म मात्रिका यादबको कर्मचारी परिचालन गर्ने कुरामा सहमत हुन्छु र आगामी बर्षले राजनैतिक नेतृत्वलाई झुठ, फरेव र अबिश्वासको बदला सच्चाइ, प्रगति र विश्वासको बाताबरण श्रृजना गर्न सकोस् थाङने प्रबृतिमा नअलमलिउन् यहि शुभकामना ।

Tags :
प्रतिक्रिया दिनुहोस