सैनिक सम्मेलन सम्पन्न « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सैनिक सम्मेलन सम्पन्न


प्रशासन विशेष ब्युरो

१७ चैत्र २०७४, शनिबार


काठमाडौँ । प्रदेश नं ३ का पाँच जिल्लाका १८ हजार ७ सय भूतपूर्व सैनिक सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ ।

२०७३ माघ २१ गते धनगढीबाट शुरु भएको पूर्वसैनिक सम्मेलन नेपालगञ्ज, सुर्खेत, बुटवल, खैरेनीटार, पोखरा, सिन्धुली, त्रिशूली, धनुषा, भरतपुर, इटहरी, हिले र गाईघाट हुँदै आज टुँडिखेलमा सम्पन्न भएको हो ।

नेपाली सेनाले आयोजना गरेको सम्मेलनमा काठमाडौँ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, भक्तपुर र ललितपुरका पूर्वसैनिकको सहभागिता थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले सेनामा योगदान गरेकाका लागि हित गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय अपांगता पुनःस्थापना समाजले २२ जना फरक क्षमताका मानिसलाई ‘ह्विल चेयर’ वितरण गरेको थियो । समाजले विसं २०७० देखि ‘ह्विल चेयर’ वितरण गर्दै आएको सो अवसरमा जानकारी गराइएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको सहयोगमा उद्यम गर्न चाहने पूर्वसैनिक एवं तिनका परिवारलाई सहुलियत दरको ऋण प्रदान गरिएको थियो । कार्यक्रममा बलाधिकृत रथी पूर्णचन्द्र थापा, अवकाश प्राप्त रथी फत्तेबहादुर लिम्बूले पूर्वसेनाले पु¥याएको योगदानको स्मरण गर्दै आगामी दिनमा पनि समाजका विभिन्न क्षेत्रमा सहयोग गर्न आह्वान गरे ।

पछिल्लो समय प्रत्येक प्रधानसेनापतिको कार्यकालमा एक पटक मुलुकभर पूर्वसैनिकको सम्मेलन गर्ने नीति सेनाले कार्यान्वयनमा ल्याएको छ । द्वन्द्वमा लामो समयसम्म रोकिएको भूपू सम्मेलन २०७० सालदेखि शुरु भएको हो ।

मुलुकभर भूपू सैनिकको संख्या ७० हजारको हाराहारीमा रहेको सेनाले जनाएको छ । सम्मेलनका क्रममा पूर्वसैनिकको जीवनस्तर उकास्न सञ्चालन हुने लघुवित्त कार्यक्रमका लागि सहुलियत ब्याजदरमा ऋण प्रदान र स्वास्थ्य शिविरजस्ता सेवामूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

सम्मेलनका बेला सैनिक नेतृत्वबाट पूर्वसैनिकका गुनासो सुन्ने र त्यसलाई सम्बोधन गर्ने प्रचलन छ । यसै अनुसार प्रधानसेनापति क्षत्रीलगायत उच्च सैनिक अधिकारीले आज टुँडिखेलमा पूर्वसेनाका गुनासाहरु समेत सुने ।

पछिल्ला सम्मेलनमा सहभागीलाई सेनाले कल्याणकारी कोषमार्फत बाटो खर्च, औषधिसहितको प्याकेज तथा कम्बल उपलब्ध गराउँदै आएको जनाइएको छ ।

कार्यक्रममा पाँचै जिल्लाका पूर्वसेनाले कवाज प्रस्तुत गरेका थिए । सो अवसरमा काठमाडौँका सेनाले लाखे नाच, सिन्धुपाल्चोकका सेनाले शेर्पा, काभ्रेपलाञ्चोकका सेनाले तामाङ, भक्तपुर र ललितपुरका सेनाले नेवारी सांस्कृतिक झाँकी प्रदर्शन गरेका थिए ।

सम्मेलनमा रक्षा सचिव, नेपाली सेनाका वहालवाला तथा अवकाश प्राप्त रथीवृन्दहरु, काठमाण्डौं महानगरपालिकाका मेयर, कल्याणकारी बोर्ड तथा अन्य सरकारी एवं गैर सरकारी कार्यालय÷सङ्घ संस्थाका पदाधिकारीहरु, सञ्चारकर्मी लगायत नेपाली सेनाको बहालवाला एवं अवकाश प्राप्त सैनिक तथा परिवारजनहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस