एसईई दिन डेरा बसेकी किशोरीको मृत्युमा प्रहरीकै संलग्नता ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एसईई दिन डेरा बसेकी किशोरीको मृत्युमा प्रहरीकै संलग्नता !


प्रशासन विशेष ब्युरो

१५ चैत्र २०७४, बिहिबार


सुर्खेत । एसईई परीक्षा दिन डेरामा बसेकी किशोरीको मृत्यु प्रकरणमा प्रहरीकै संलग्नता भेटिएपछि घटना थप रहस्यमय बनेको छ।

एसईई परीक्षा दिन बाबियाचौरमा डेरा लिएर बस्दै आएकी पञ्चपुरी नगरपालिका, चौरकी १८ वर्षीया गोरीकला रोकायको मृत्यु स्वाभाविक नभई बलात्कारपछि हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ। शरीरमा चोट लागेको र कानबाट रगत बगेको अवस्थामा मंगलबार उनी आफ्नै डेरामा मृत फेला परेकी थिइन्। घटनामा संलग्नताको आशंकामा प्रहरीले एक ट्राफिक प्रहरीसहित तीन जनालाई पक्राउ गरेको छ।

डेराबाहिर लगेर किशोरीलाई बलात्कार गरिएको र हत्या गरेर कोठामा छोडिएको अनुमान प्रहरीको छ। प्रहरी जवानकै नेतृत्वमा सोमबार मध्यराति किशोरीलाई डेरादेखि टाढा चौरमा पु¥याएर यौनजन्य अपराध भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट घटनामा संलग्नता देखिएको भन्दै जिल्ला प्रहरी कार्यालयले अस्थायी ट्राफिक पोस्ट, बाबियाचौरमा कार्यरत प्रहरी जवान हरि कोइरालासहित तीन जनालाई नियन्त्रणमा लिएको हो। सोमबार मध्यराति साढे १२ बजे प्रहरी जवान कोइराला र स्थानीय युवक लक्ष्मी बास्तोलाले गोरीकलालाई डेराबाट मोटरसाइकलमा राखेर लगेका थिए।

इलाका प्रहरी कार्यालय, बाबियाचौरभन्दा करिब दुई सय मिटर टाढाको चौरमा लगेर किशोरीमाथि यौनजन्य क्रियाकलाप गरेको पाइएको सुर्खेतका एसपी उमाप्रसाद चतुर्वेदीले बताए। उनले भने, ‘किशोरीको मोबाइल डिटेल अध्ययन गर्दा प्रहरीको पनि संलग्नता देखियो, मध्यराति चौरमा लगेर यौनजन्य अपराध भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।’

किशोरीको बलात्कारपछि हत्या भएको भन्दै आफन्तले प्रहरीमा किटानी जाहेरी दर्ता गरेका छन्। घटनामा संलग्न रहेको आशंकामा गोरीकलालाई प्रहरी जवान कोइरालाको जिम्मा लगाउने स्थानीय माझीगाउँका २० वर्षीय युवक लक्ष्मी बास्तोला र डेरामा छोड्न जाने लक्ष्मीका दाइ खुमप्रसाद बास्तोलालाई पनि प्रहरीले नियन्त्रणमा राखेको छ। ‘मदिरा सेवन गरेर मातेको पाइयो, चौरमा लिएर किशोरीमाथि यौनजन्य क्रियाकलाप गरेर डेरामा छोडिएको अनुसन्धानले देखाएको छ तर हत्या वा दुर्घटनाबाट मृत्यु हो, पोस्टमार्टम रिपोर्टपछि मात्र यकिन हुन्छ।’

किशोरीको शरीरमा रहेको चोट र आरोपीका कपडामा रगतको छाप भेटिएकाले हत्याको आशंका प्रहरीले गरेको छ। नियन्त्रणमा रहेका लक्ष्मी बास्तोलाले भने किशोरीलाई डेरामा छोड्न जाँदा मोटरसाइकल दुर्घटनामा परेको र गोरीकला घाइते भएको बयान दिएका छन्। तर घटनामा प्रयोग भएको मोटरसाइकलमा कुनै क्षति नहुनु र चालक लक्ष्मी बास्तोला सकुशल रहनुले पनि गोरीकलाको मृत्यु दुर्घटनामा भएको तर्कलाई पुष्टि गर्दैन।

प्रहरीले घटनामा प्रयोग भएको भे६प ३४५१ नम्बरको मोटरसाइकल र मोबाइल बरामद गरेको छ। अर्कोतर्फ मध्यराति मोटरसाइकलमा राखेर लगेको र डेरादेखि केही टाढा रगत तथा गोरीकलाका चप्पल र चुरा फेला परेकाले पनि हत्या नै भएको मृतकका बाबु कालो रोकायले बताए। छोरीको बलात्कारपछि हत्या भएको भन्दै पीडकलाई कडा कारवाही गर्न उनले माग गरे।

घटनामा प्रहरीकै संलग्नता देखिएको र घटनालाई कमजोर बनाउन दुर्घटनाको भ्रम फैलाइएको उनको भनाइ छ। पीडितका आफन्तले पोस्टमार्टममा भएको ढिलाइले पनि घटनालाई कमजोर बनाउने प्रयास भएको गुनासो गरेका छन्। मंगलबार दिउँसो नै वीरेन्द्रनगरस्थित क्षेत्रीय अस्पताल पु¥याइएको भए पनि पोस्टमार्टम हुन सकेको छैन।

गोरीकलाका आफन्तले बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई कडा कारवाही माग गरिरहेका छन्। एसपी उमाप्रसाद चतुर्वेदीले भने, ‘किशोरीको हत्या भएको देखिन्छ, बाहिर हत्या गरेर नै कोठामा छोडेको पाइयो।’ घटनाको अनुसन्धान भइरहको र दोषीलाई कानुनी कारवाही हुने प्रहरीले जनाएको छ। सूर्यप्रकाश मावि, पलैटेकी छात्रा रोकायले विद्याज्योति मावि बाबियाचारैबाट एसईई परीक्षा दिइरहेकी थिइन्। दोषीलाई कडा कारवाही माग गर्दै महिला अधिकारकर्मीले स्थानीय प्रशासन र प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका छन्। आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस