सार्वजनिक प्रशासनमा पर्यावरणीय प्रभाव र अवको दायित्व « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सार्वजनिक प्रशासनमा पर्यावरणीय प्रभाव र अवको दायित्व


१४ चैत्र २०७४, बुधबार


पर्यावरणीय परिवेशः सकारात्मक सार्वजनिक प्रशासन

सार्वजनिक प्रशासन सरकारको सेवा प्रवाहको एक महत्वपुर्ण र आवश्यकीय संयन्त्र हो । सरकार र जनता विचको दरिलो र स्थायी सम्पर्क सुत्रको रूपमा रहेको सार्वजनिक प्रशासन सरकारको स्थायी संयन्त्र विषयगत विज्ञता, कार्यगत विशिष्टताले युक्त हुन्छन् ।

समय, शिक्षा, प्रविधिको परिवर्तन सँगै राजनैतिक र शासकीय आयामहरु धेरै परिवर्तनहरू आउँछन् र यी परिवर्तनहरूले स्वभावत सार्वजनिक प्रशासनमा पनि परिवर्तनका धेरै दवावहरू सिर्जना गर्दछन् । यस्ता दवावहरूले सार्वजनिक प्रशासनको भूमिका परिवर्तित सन्दर्भमा वा विद्यमान पर्यावरणीय सन्दर्भमा अझै प्रभावकारी हुनुपर्ने विषयमा जोड दिने गर्दछ ।

सार्वजनिक प्रशासन राज्यद्वारा जनता समक्ष प्रतिवद्धता गरिएका उद्देश्यहरुको परिपुर्तिको लागि निरन्तर रूपमा दत्तचित्त, तयारी अवस्थामा रहनु पर्ने र सक्रिय रहनुपर्ने अंग हो । जसरी समयको परिवर्तन भएको छ तदनुरूप जनताको व्यक्तिगत तहमा आशा र अपेक्षा वृद्धि भएको हुन्छ र त्यो आशा र भरोसा सरकार तर्फ लक्षित रहेको हुन्छ अन्ततः सरकार तर्फ लक्षित जनताको आशा र अपेक्षा पुरा गर्नु पर्ने दायित्व सार्वजनिक प्रशासनमा सर्न पुग्दछ ।

त्यसैले सार्वजनिक प्रशासनका पर्यावरणीय पक्षहरुमा आउने परिवर्तनहरुले सार्वजनिक प्रशासनको कार्यशैली, व्यवहार, प्रक्रिया, सेवा प्रवाहको सुनिश्चितिता र सेवाको गुणस्तर को प्रत्याभूति जस्ता क्षेत्रहरूमा पनि सकारात्मक परिवर्तनको अपेक्षा राखेको हुन्छ ।

प्रभावका क्षेत्रहरु

राजनैतिक
देश विशेषको राजनैतिक प्रणाली को प्रभाव सर्वत्र परेको हुन्छ र यसको झझल्को दिने प्रमुख अंग नै सार्वजनिक प्रशासन हो । राजनैतिक प्रणालीको उदारता र अनुदारताको आधारमा सार्वजनिक प्रशासनको पारदर्शिता र उत्तरदायिताको तह निर्धारण हुने गर्दछ । तटस्थ र प्रतिबध्द प्रशासन यस सन्दर्भको सामयिक अवश्यकता हो ।

सामाजिक परिवेश र सामाजिक मुल्य मान्यता
समाज विविधताको सम्मिश्रण हो । जात, संस्कृति, परम्परा, रीतिरिवाज समाजका मिश्रीत परिचायक हुन् । समाजको यो विम्वको प्रभाव सार्वजनिक प्रशासनमा परेको हुन्छ किनकी सार्वजनिक प्रशासन समाज कै एक सह उत्पादन हो ।

राजनैतिक आर्थिक परिवर्तनले सामाजिक मुल्य मान्यतामा समेत परिवर्तन ल्याउँछ । समाजको वनोट त्यसको चरित्र यसले अंगालेको संस्कृति र चाल चलन अनूरूप सार्वजनिक प्रशासन पनि चल्नुपर्ने हुन्छ । समावेशी प्रशासन, सरकारी कामकाजमा क्षेत्रविशेषको भाषाको प्रयोग, सामाजिक परिवेशको आधारमा सार्वजनिक विदा जस्ता विषयहरु यस अन्तरगत पर्दछन् ।

आर्थिक उदारीकरण
प्रजातान्त्रिक परिपाटिको शुरुवात संगै आर्थिक उदारीकरणको विषय प्रखर रूपमा अगाडी वढेको छ । यसले प्रतिस्पर्धा, गुणस्तरता, निजी क्षेत्रको सहभागिता, व्यवस्थापकवाद, कम लागतमा वढी उत्पादकत्व जस्ता विषयलाई जोड दिएको छ ।आर्थिक मान्यतामा आएको यो लहरबाट सार्वजनिक प्रशासन प्रभावित हुनु स्वभाविकै हो । यसबाट सार्वजनिक प्रशासन चुस्त, दुरूस्त, प्रभावकारी, जनमुखी बन्नुपर्ने कुरामा जोड दिएको छ ।

प्रविधिको प्राधान्यता
प्रविधिको प्रयोगमा आएको व्यापकता लाई सार्वजनिक प्रशासनले अवलम्वन गर्नुपर्ने स्थिति सिर्जना गर्नु पर्ने भएको छ । यसका लागि विद्युतीय शासन, अनलाईन सेवा प्रवाह, अनलाईन गुनासो प्रकटगर्ने प्रणाली, कागजातको न्यून प्रयोग, सेवा प्रवाहको लागि सम्पर्क विन्दुहरूको न्यूनिकरण, विद्युतीय भुक्तानी प्रणाली आदि विधिहरू प्रयोगमा आएका छन् । यसले एकातर्फ सेवा प्रवाहको प्रभावकारीतामा जोडदिएको छभने अर्को तर्फ पारदर्शिता र उत्तरदायित्वमा वृद्धिल्याएको छ ।

गैर राज्यीय सहकर्ताहरुको उदय
प्रजातान्त्रिक शासन प्रणालीले ल्याएको अर्को परिवर्तन शासकीय सहकर्ताहरुको प्रवेश पनि हो । यस सन्दर्भमा सार्वजनिक प्रशासन निजी क्षत्र, सामुदायिक संस्थाहरु, सहकारी जस्ता सहकर्ताहरु सँग मिलेर काम गर्नुपर्ने भएको छ । सहकर्ताहरुको उपस्थितिले सार्वजनिक प्रशासन वढी सिर्जनशील, समन्वयकारी र सहभागितामूलक हुनु पर्ने अवस्थाको सिर्जना गराएको छ ।

अवको बाटो

सरकारको पुनः आविष्कार
सार्वजनिक प्रशासनमा पर्ने आन्तरिक र वाह्य प्रभावको सन्दर्भमा सरकारको कार्यशैली र प्रवृत्तिमा आयामिक परिवर्तन ल्याउनु पर्ने र अवको प्रशासन वढी प्रभावकारी, नतिजाउन्मुक, व्यवसायिक र जनमैत्री हुनुपर्ने मान्यता राख्दैसरकार वा नवीन सार्वजनिक प्रशासनका देहाय वमोजिमका गुणहरु हुनु पर्ने मान्यता राख्दै प्रशासनिक परपाटीको पुनः परिमार्जजन हुनु पर्नै आवश्यकता ओस्बर्न र ग्याब्लरले राखैका छन् । यी मान्यताहरु परिवर्तित पर्यावरणीय परिवेशमा अझै सान्दर्भिक छन् ।

  • उत्प्रेरकको भूमिका
  • सामाजिक अपनत्व सिर्जना गर्न सक्ने क्षमताले युक्त
  • प्रतिस्पर्धी क्षमता
  • उद्देश्यमुलक
  • परिणाममुखी
  • उपभोक्ता मैत्री
  • व्यवसायिक
  • भविष्यमुखी
  • शासकीय प्रणालीहरुको विकेन्द्रीकरण
  • वजार संयन्त्र संग परिचित

स्कोप भर्सेज स्टेन्थ: दायरा र क्षमताको समायोजन
बदलिँदो परिवेशले शासकीय आयामहरुमा परिवर्तन ल्याएको छ र सार्वजनिक प्रशासनबाट उत्पादकत्व क्षमता र गुणस्तरताको अपेक्षा हुनु स्वभाविकै हो । यस सन्दर्भमा सरकारले पनि आफ्नो क्षमता अर्थात सार्वजनिक प्रशासकको क्षमता अनुरुप सरकारको प्राथमिक आवश्यकतामा पर्ने पर्ने विषयको दायरामा आफूलाई सिमित गर्ने र सो क्षेत्रमा आफ्नो क्षमता वा बलको सुदृढीकरण गर्ने रणनीति लिनु पर्दछ । आफ्नो क्षमता कम भएका क्षेत्रहरु राज्यको प्रारम्भिक प्राथमिकतामा नपर्ने अन्य सहकर्ताहरुको विज्ञता परिचालन गर्न सक्दछ ।

परिवेशको सामना शक्तिः सकारात्मकताको आधारशीला
सार्वजनिक प्रशासन समग्र प्रणालीको एक उप प्रणाली भएकोले समग्र प्रणालीका क्रियाकलाप, परम्परा, अभ्यास, मान्यताहरुको प्रत्यक्ष वा परोक्ष प्रभाव सार्वजनिक प्रशासनमा पर्नु स्वभाविकै हो ।

प्रणालीगत प्रभावहरु सार्वजनिक प्रशासनमा प्रशासनिक मान्यताहरुमा, प्रक्रियागतरुपमा र प्रशासकहरुको वानी व्यहोरा र चरित्रमा गरी तीन रुपमा प्रभावित हुने गर्दछ । प्रणालीमा आएको परिवर्तनलाईग्रहण गर्न सक्ने शक्तिले सार्वजनिक प्रशासनमा सकारात्मक परिवर्तन ल्याइदिन्छ भने नकारात्मक परिवर्तनको सामना गर्न सक्ने शक्तिले सार्वजनिक प्रशासन थप सकारात्मक बन्न पुग्दछ ।

सकारात्मक परिवर्तनलाई परिवर्तनको मर्म अनुरुप ग्रहण गर्न नसक्दा वा नकारात्मक परिवर्तनको समना गर्न नसक्दा सार्वजनिक प्रशासनले थप नकारात्मक परिणती भोग्नु पर्दछ ।

Tags :
प्रतिक्रिया दिनुहोस