खैनी–चुरोट बोकेर मन्त्रालय प्रवेश निषेध « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

खैनी–चुरोट बोकेर मन्त्रालय प्रवेश निषेध


प्रशासन विशेष ब्युरो

१३ चैत्र २०७४, मंगलबार


डाक्टर

काठमाडौं । निजी वा संस्थागत काम लिएर स्वास्थ्य मन्त्रालय छिर्न खोज्दै हुनुहुन्छ र साथमा सुर्तीजन्य पदार्थ छ भने तपाईंलाई सुरक्षाकर्मीले गेटमै रोक्नेछन्। खल्तीमा बोकेका सुर्तीजन्य पदार्थ फालेपछि मात्रै सुरक्षाकर्मीले तपार्इंलाई मन्त्रालय प्रवेशको अनुमति दिनेछन् । मन्त्रालय परिसरमा सुर्तीचुरोट खाएको पाइएमा त जरिबाना तिर्नुपर्ने हुन्छ।

सार्वजनिक स्थलमा धूमपान तथा सुर्ती सेवन गर्न नहुने कानुनी व्यवस्था छ । तर स्वास्थ्य मन्त्रालयको गेटमै सुर्तीजन्य पदार्थ किनबेच हुन्छ भने क्यान्टिनमा चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र सेवाग्राहीले धूमपान गरिरहेको देखिन्छ।

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले कानुन बने पनि व्यवहारमा खुलेआम यस्ता पदार्थको प्रयोग नघटेपछि मन्त्रालयबाटै कानुन कार्यान्वयन गर्न लागेको बताइन्। ‘कानुनले मात्रै भएन, व्यवहारमा पनि सुर्तीजन्य पदार्थले हानि गर्छ भन्ने आत्मबोध हुनुपर्यो,’ अर्यालले भनिन्।

अर्यालले मन्त्रालय प्रवेश गर्नेलाई गेटमा जाँच गरेर सुर्तीजन्य पदार्थ बोकेको भए डस्टबिनमा फाल्न लगाएर प्रवेश गर्न दिने बताइन्। उनले सोमबार मन्त्रालयको उच्च अधिकारी उपस्थित बैठकमा कर्मचारीलाई सुर्तीजन्य पदार्थ बोकेर नआउन निर्देशन दिएकी छन्।

मन्त्री अर्यालले गेटमा जाँच गर्दा पनि नरोकिएमा सुर्तीजन्य पदार्थको ‘सेन्सर’ राख्न निर्देशन दिएकी छन्। उनले मन्त्रालयका अधिकारीसँग भनिन्, ‘कस्तो नीति, निर्देशन वा निर्देशिका चाहिन्छ बनाएर ल्याउनुस्, यो काम अब तत्काल गर्नुपर्छ।’ यस्तो अभियान स्वास्थ्य मन्त्रालयमा लागू गरेपछि क्रमशः विभाग, अस्पताल र अन्य मन्त्रालयमा समेत लागू गर्दै जाने अर्यालको योजना छ।

स्वस्थ जीवनशैली अपनाउन सचेत गराउने जनशक्ति र निकायमै धूमपान रोक्न नसक्दा कानुन कार्यान्वयनमा कठिन भएको स्वास्थ्य अधिकारी बताउँछन्।

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐन २०६८ मा सार्वजनिक स्थानमा धूमपान तथा सुर्तीसेवन गर्न नहुने व्यवस्था छ। ऐनको दफा ३ मा राज्य तथा सरकारी निकाय, संस्था वा कार्यालय, शिक्षण संस्था, पुस्तकालय, तालिम था स्वास्थ्यसम्बन्धी संस्थालगायत मानिसको जमघट हुने सार्वजनिक स्थलमा धूमपान निषेध गरेको छ। तर सार्वजनिक स्थलमा चुरोट र सुर्ती सेवनमा कडाइ गर्न सरकार सफल हुन सकेको छैन।

ऐनले सुर्तीजन्य पदार्थको खोल, एवं ¥यापर्समा तोकिएको भागमा चेतावनीमूलक सन्देशयुक्त चित्र राख्नुपर्ने व्यवस्था गरेको छ। हाल उत्पादक कम्पनीले ७५ प्रतिशत भागमा यस्तो चित्र राख्दै आएका छन्। यस्तो सन्देश ९० प्रतिशत भागमा राख्नुपर्ने गरी निर्देशिका संशोधन भइसकेको छ। सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न बेग्लै अनुमति लिनुपर्ने कानुनी व्यवस्था भए पनि लागू हुन सकेको छैन।

मन्त्री अर्यालले कानुनी सचेतना बढाउँदै व्यवहार परिवर्तनका लागि आफूले ठोस काम गर्ने बताइन्।

सार्वजनिक स्थलमा धूमपान वा सुर्ती सेवन गरेमा व्यवस्थापकले तुरुन्त रोक लगाउने र त्यहाँबाट हटाउन सक्ने कानुनी व्यवस्था छ। सार्वजनिक स्थलमा सम्बन्धित व्यक्ति वा कर्मचारी भएमा अनुशासनमा नरहेको सरह मानेर निजलाई सेवासर्तसम्बन्धी कानुनबमोजिम सचेत गराउन वा अन्य विभागीय कारबाही गर्न सकिन्छ।

स्वास्थ्य अधिकारीले भने कारबाही कमजोर र जरिबाना रकम थोरै भएकाले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन कार्य कठिन भइरहेको बताएका छन्। ‘अहिलेको कानुनले खानमात्रै रोक्न मिल्छ, बोक्न त रोक्न मिल्दैन,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘नीतिगत निर्णय गरेर आग्रह गर्न सकिन्छ। कारबाही गर्न त ऐन तथा नियमावली संशोधन हुनुपर्छ।’

नसर्ने रोगका जोखिम अवस्था ९एनसिडी रिक्स फ्याक्टर० सर्वेक्षणअनुसार मुलुकको जनसंख्याको झन्डै ३१ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गर्छन्। विश्वमा सुर्तीजन्य पदार्थको ८० प्रतिशत खपत अल्पविकसित देशमा हुने गरेको छ।

विज्ञहरुका अनुसार धूमपानले ब्रेनमा केही सेकेन्डभित्रै र रगतमा केही मिनेटमै असर गर्छ। यस्तै दीर्घकालीन रुपमा धूमपानको बहुअसर देखिन्छ। पछिल्ला दिनमा धूमपानकै कारण मुटु, ब्रेन, फोक्सो र क्यान्सर रोग बढ्दै गएको चिकित्सक बताउँछन्।

धूमपानमा निकोटिन, टार, कार्बनमनोअक्साइड, लिड, नाइट्रोसोमाइन जस्ता क्यान्सरजन्य चार हजारभन्दा बढी प्रकारका हानिकारक रासायनिक पदार्थ हुन्छ। सुर्तीजन्य पदार्थ सेवनले क्यान्सर, मुटुरोग, दमखोकीजस्ता २५ भन्दा बढी प्रकारका रोग निम्त्याउँछ। श्वास–प्रश्वास प्रणालीमा इरिटेसन गराएर दमको समस्या हुने कारण पनि धूमपान नै हो। चिकित्सकका अनुसार एक खिल्ली चुरोटमा २० मिलिग्राम निकोटिन हुन्छ।

धूमपानले शरीरका मसिना जिन एवं क्रोमोजोमलाई नष्ट गर्छ। त्यसपछि मानिसलाई क्यान्सर हुन सक्छ । धूम्रपानले नसाको बीचमा बोसो जम्मा गराउँछ। त्यसपछि नसा साँघुरो भई रक्त सञ्चारमा अवरोध उत्पन्न भई हृदयाघात गराउने चिकित्सकहरु बताउँछन्। त्यसैगरी गर्भवती महिलाले धूमपान गरेमा बच्चाको विकासक्रममा अवरोध आएर महिना नपुग्दै जन्मिने, कम तौलको जन्मिने जस्ता समस्या गराउँछ। आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस