वृत्ति विकासका सामयिक सन्दर्भहरु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

वृत्ति विकासका सामयिक सन्दर्भहरु


७ चैत्र २०७४, बुधबार


वृत्ति विकास: प्रतिभा व्यवस्थापनको मूल आधार

वृत्ति विकास मानव संसाधन व्यवस्थापनको अति नै महत्वपूर्ण आयाम हो । संगठनमा कर्मचारीको प्रवेशदेखि वहिर्गमन पूर्वसम्म कर्मचारीको क्षमताको भरपुर उपयोग गर्न विभिन्न उपागमहरु प्रयोगमा ल्याइएका हुन्छन् । ती सबै उपागमहरुले एकातर्फ वृत्तिलाई आकर्षक र प्रभावकारी बनाइ संगठनको उद्देश्यप्राप्तिको मूलअवधारणासँग कर्मचारीलाई आवद्ध गराइ राखेका हुन्छन् भने अर्कोतर्फ विभिन्न सोपान वा श्रृङ्खलामा रहेका पदहरुमा एउटा निश्चित समयावधी, निश्चित मापदण्डको आधारमा पाइला टेक्न पाउने अवसरको उपलब्धताको सुनिश्चितता गरेको हुन्छ । वृत्ति विकासलाई सामान्यतया पदोन्नति, वढुवा वा माथिल्लो जिम्मेवारी वहनगर्ने माध्यमको रुपमालिने गरिन्छ । यसमा निम्न पक्षहरु समाहित रहेका हुन्छन् ।

– उत्प्रेरणाको मूलश्रोत
– मनोबल बृद्धिगर्ने आधार
– विश्वसनीय तथा सुविधाजनक छनौट
– संगठनभित्रै सुदुर तथा सुन्दर भविष्य देख्ने आधार
– वर्तमान जिम्मेवारीको क्षमता अभिवृद्धि
– प्रतिभा व्यवस्थापनको मूल आधार

वृत्ति विकासका आवश्यक शर्तहरु

– वृत्तिमार्ग सधैँ पारदर्शी र अनुमानयोग्य हुनु पर्दछ, जसबाट संगठनमा प्रवेश गरेको कर्मचारीले वहिर्गमनको अवस्थासम्म आफुले प्राप्त गर्न सक्ने न्यूनतम मार्गको पूर्वानुमान गर्न सक्दछ ।
– पदोन्नति वा बढुवाका आधारहरु मापनयोग्य हुनुपर्दछ ।
– पदोन्नति वा बढुवाका आधारहरु बढी चलायमान हुन हँुदैन ।
– जेष्ठताले बढुवामा ठूलो हिस्सा प्राप्त गर्न सक्नु पर्दछ ।
– योग्यता प्रणाली बढुवाको अर्को मूल आधार हो ।
– प्रतिस्पर्धात्मक प्रणालीबाट पदोन्नति हुने र वढुवाको माध्यमद्वारा पदोन्नति हुने बीचको समयको दुरी सकभर कम गरिनु पर्दछ ।
– प्रतिस्पर्धात्मक वा वढुवा प्रणाली जुनसुकै माध्यमवाट पदोन्नति हुँदा पनि क्षमता मापनको स्पष्ट आधार तोकिनु पर्दछ ।

वृत्ति विकासका आयामहरु

  • सांगठनिक दृष्टिकोणबाट
    – कर्मचारीको सीप, योग्यता, अनुभवको प्रयोगले तालिमलगायत कर्मचारी विकासका अरु क्षेत्रहरुमा थप लगानीको आवश्यकता नपर्ने ।
    – कर्मचारीको विगतको उत्पादन क्षमता कायम रही त्यसमा थप सुधार हुने ।
    – सेवाग्राहीसँगको सुमधुर सम्बन्ध राख्न सहज हुने ।
    – कर्मचारी उत्प्रेरित भै संगठनप्रति अपनत्वबोध कायम हुने ।
    – कर्मचारीलाई संगठनमा टिकाइ राख्न सकिने ।
    – असल औद्योगिक सम्बन्धको निर्माण हुने ।
  • कर्मचारीको दृष्टिकोणबाट
    – उत्प्रेरणामा अभिवृद्धि ।
    – अपनत्व सिर्जना ।
    – संगठन चाहार्ने प्रवृत्तिमा कमी । असामयिक वहिर्गमनको कम सम्भावना ।
    – अर्को वृति मार्गप्रतिको अपेक्षाले कार्य क्षमतामा वृद्धि ।
    – सामाजिक प्रतिष्ठामा वृद्धि ।
    – अपेक्षाको पूर्ति ।
  • सेवाग्राहीको दृष्टिकोणबाट
    – अनुभवीकर्मचारीबाट शीघ्र सेवाप्राप्तिको सुनिश्चितता ।
    – प्रक्रियागत सरलता ।
    – सुमधुर सम्बन्ध ।

अत्यावश्यक र पर्याप्त आधार

  • न्यूनतम आवश्यकीय आधारहरु
    – बढुवा हुनयोग्य क्षेत्रमा परेको हुनुपर्ने (प्रोमोट्याविलिटी जोन)
    – वढुुवा हुन अयोग्य भनी कारवाहीमा परेको हुनु नहुने ।
    – वढुवा हुनको लागि तोकिएका मापदण्डहरु पूरा गरेको हुनु पर्ने ।
  • पर्याप्त आधारहरु
    – थप शैक्षिक योग्यता
    – तालिम(सचिव बढुवामा वाहेक)
    – भौगोलिक अनुभव
    – थपकार्य अवघि

 

  • प्रतिस्पर्धाको आधार
    प्रतिस्पर्धाको आधारले खुला प्रतियोगिता, आन्तरिक प्रतियोगिता, कार्यक्षमताको मूल्यांकन, जेष्ठता र कार्य सम्पादन मूल्यांकन जुनसुकै परिपाटीमा पनि तोकिएको मापदण्डमा उत्कृष्टताको माग गर्दछ

– खुलाप्रतिस्पर्धा—खुला प्रतिस्पर्धामा पनि संगठन भित्रका कर्मचारी समावेश हुन पाउने ।
– आन्तरिक प्रतिस्पर्धा—निश्चित समायावधी र योग्यता पुगेका कर्मचारीहरुबीचको प्रतिस्पर्धाबाट मात्र बढुवा गरिने ।
– कार्यक्षमताको मूल्यांकनको आधार — वर्तमान पदमा तोकिएको कार्यविवरणको आधारमा सम्पादित कामको परिमाण, लागत समय र गुणस्तर वाफत प्राप्त प्राप्तांकको आधारमा वढुवा गरिने ।
– जेष्ठता र कार्यसम्पादन मूल्यांकनको आधार— वर्तमान पदको कार्य सम्पादनमा कम्तीमा ९५ प्रतिशत अंक हासिल गरेको ।

निजामती सेवामा वृत्तिमार्गको अवस्था

विद्यमान प्राबधान

विभिन्न समूहको स्वभाविक अपेक्षा

पदोन्नति कर्मचारीको स्वभावत ठूलो अपेक्षाको विषय हो । व्यक्ति आफू जुन परिवेशमा रहेको हुन्छ सोही परिवेश अनुरुप पदोन्नतिको अवसरको अपेक्षा राख्नु स्वभाविकै हो ।

  • श्रम वजारमा रहेको तथा जागीरको खोजीमा रहेको जनशक्तिले खुल्ला प्रतियोगितामा बढी भारको अपेक्षा गर्दछन् ।
  • संगठनमा प्रवेश गरिसकेका व्यक्तिहरुले ५ देखि १० वर्षको बीचमा आन्तरिक प्रतियोगितामा वढी भारको अपेक्षा गर्दछन् ।
  • संगठनमा प्रवेश गरिसकेका १० सेवा पूरा गरिसकेका व्यक्तिहरुले कार्यक्षमताको मूल्यांकन र जेष्ठता तथा कार्यसम्पादन मूल्यांकनमा बढी भारको अपेक्षा गर्दछन् ।

छलांग मार्नेप्रवृत्तिःथोरै खुशीव्यापक असन्तुष्टि

निजामती सेवामा प्रयोगमा आएको छड्के प्रवेश र पदोन्नति वा पदपूर्तिमा प्रयोगमा आएको समावेशी अवधारणाले मेधावी जनशक्तिको उपयोग र सम्बन्धित क्षेत्रको प्रतिनिधित्वमा त बृद्धि पक्कै ल्याएको छ तर यसले एकातर्फ कामलाई भन्दा पढाईलाई ध्यानदियो, अनुभवलाई भन्दा सिद्धान्तलाई प्रश्रय दियो, कमिला प्रवृत्ति भन्दा किताबको कीरो बन्ने क्षमतालाई प्रश्रय दियो, प्रौढतालाई भन्दा आलाकाँचाको मार्ग प्रशस्त गरेको गुनासो पनि सुन्ने गरिएको छ । यी गुनासाहरु भित्र सकारात्मक पाटाहरु पक्कै पनि छन् तथापि गुनासो गरिएका क्षेत्र पूर्णत विकृतिका क्षेत्र भने पक्कै होइनन् किनकी यसभित्र पनि सकारात्मक पक्षहरु रहेका छन् । यी दुवै सकारात्मकताका बीचको मूल मुद्दा भनेको छलाङ मार्न दिने प्राबधानले प्रौढता र अनुभवलेयुक्त ठूलो संख्या अलि ढिलो सम्मानित हुने कारणले आदेश र नियन्त्रणको श्रृंखला थोरै खल्बलिएको भने छ । खासगरी उप सचिव र सहसचिवमा रहेको प्रावधानले यस्तो समस्या ल्याएको गुनासो बढी मात्रामा देखिने गरेको छ ।

सुधारका सकारात्मक संकेत

  • वढुवाका प्राबधानहरुमा पटक पटक परिवर्तन भैरहहने परिवर्तनले निजामती सेवाको बढुवा प्रणाली त्यति अनुमानयोग्य हुन नसकिरहेको सन्दर्भमा केहीवर्ष यता यसमा सुधारका सकारात्मक संकेतहरु देखिँदै गएका छन् । यी सुधारहरुले एकातर्फ वृत्तिमार्गलाई तुलनात्मक रुपमा अनुमानयोग्य र पारदर्शी वनाएको छ । जसमा
  • राजपत्र अनंकित कर्मचारीहरु राजपत्रांकितमा प्रवेश गर्न बढुवाको अवसर नपाउने गरेकोमा सो मा सुधार भएको छ ।
  • एकै पदमा १५ वर्ष सेवा गरेका कर्मचारीलाई सेवा निवृत्त हुनु एक महिना अगाडि एक पद बढुवा गर्ने प्राबधान एउटा सकारात्मक कदम थियो ।
  • २०६४ सालमा आएको कार्य सम्पादन तथा अनुभवको मूल्यांकन द्धारा गरिने बढुवा सम्बन्धी विशेष व्यवस्थाले विविध कारणबश लामो समयसम्म बढुवा हुन नसकेका कर्मचारीहरुलाई बढुवा हुने अवसर प्रदान गरेको थियो । पदोन्नति तलव र अधिकारसँग आबद्ध हुनु पर्दछ तर बढुवाको उक्त विशेष व्यवस्था लगभग छ वर्ष तलवसँग मात्र आबद्ध हुन सक्यो । बढुवा सम्बन्धी यो विशेष व्यवस्थाले तत्कालीन आवश्यकतालाई सम्बोधन गरेको भएतापनि यसले थप सुधारको माग गरेको थियो । पछि यसमा गरिएको व्यवस्थापनले पदोन्नति तलव, अधिकार र दरबन्दिसँग आवद्ध हुन पुगेको छ ।
    श्रेणीविहीन कर्मचारीहरुको श्रेणीमा रुपान्तरण र बढुवाको प्राबधान अर्को सकारात्मक कदम बनेको छ ।
  • कार्य क्षमताको मूल्यांकन तथा जेष्ठता र कार्य सम्पादन मूल्यांकनद्धारा बढुवा गरिने परिपाटीले बढुवाको दोहारो सम्भावना सिर्जना गरेको मात्र होइन कि वरिष्ठताको बढुवा हुने अवसरमा बृद्धि ल्याएको छ ।
  • विगतमा जस्तो बढुवाको लागि धेरै वर्ष कुर्नुपर्ने स्थितिमा सुधार भएको छ ।

सन्दर्भ संघीयताको

संघीय प्रशासनिक संरचनामा कर्मचारीहरु तीनै तहको संरचनामा जानु पर्ने हुँदा अबको वृत्ति मार्ग कस्तो हुने भन्ने विषय कर्मचारी वृत्तमा सर्वाधिक चाँसो र चर्चाको विषय हुनु स्वभाविकै हो । सवल प्रतिभा व्यवस्थापनको लागि संघीय संरचनामा पनि पदोन्नतिको सिद्धान्तअनुरुप वृत्तिमार्ग पारदर्शी र अनुमानयोग्य हुनु आवश्यक छ । फरक यति मात्रै हो कि एक तहबाट अर्को तहमा समानान्तर ( होरिजेन्टल मोविलिटी ) वा उध्र्व चाल( भर्टिकल मोविलिटी ) का लागि केही सीमा सहितका अवसरहरु हुनु आवश्यक हुन्छ । साथै मानव संसाधन व्यवस्थापनका साझा विषयवस्तुहरु र वृत्ति विकासका साझा विषयवस्तुहरु तीनै तहको संरचनाले अगाल्नु उपयुक्त हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस