रेशम चौधरीलाई जेलभित्रै शपथ ! « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

रेशम चौधरीलाई जेलभित्रै शपथ !


प्रशासन विशेष ब्युरो

५ चैत्र २०७४, सोमबार


काठमाडौं । साढे दुई वर्षअगाडिको ‘टीकापुर घटना’ का मुख्य आरोपी रेशम चौधरीलाई ‘जेलभित्रै’ प्रतिनिधिसभा सांसदको शपथ गराउने तयारी भएको छ। सरकारले त्यसको वातावरण निर्माणका लागि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरूसँग छलफल थालेको छ।

राजपाको मागका आधारमा सरकारले चौधरीलाई जेलभित्रै शपथ र निर्वाचन जितेको प्रमाणपत्र उपलब्ध गराउने तयारी गरेको गृह मन्त्रालय स्रोतले बतायो। राजपा नेताहरूले चौधरीको मुद्दा फिर्ता लिन गरेको माग अस्वीकार गर्दै अदालतले गर्ने अन्तिम निर्णय नै पर्खने गरी तत्कालका लागि भने प्रमाणपत्र र शपथको वातावरण मिलाउन तयार भएको हो।

शपथको वातावरण मिलाउन नै चौधरीलाई कैलाली कारागारबाट काठमाडौं ल्याइएको छ। कैलाली क्षेत्र नम्बर १ बाट चौधरीले ३४ हजार ३४१ मत ल्याई प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेका थिए। प्रतिद्वन्द्वी एमाले उम्मेदवारभन्दा २० हजार ९३५ मतान्तरमा चुनाव जितेका उनलाई निर्वाचन आयोगले निर्वाचन जितेको प्रमाणपत्र अहिलेसम्म दिएको छैन।

निर्वाचनका बेला उनी ‘फरार अभियुक्त’ का रूपमा थिए। त्यसपछि चौधरीले ‘वारेस’ मार्फत प्रमाणपत्र पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दर्ता गराउन खोजे पनि अदालतले व्यक्ति स्वयं उपस्थित भए मुद्दा हेर्न सकिने नत्र अदालतले नहेर्ने भन्दै रिट दरपिटमार्फत खारेज गरिदिएको थियो। त्यसपछि भने चौधरीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए।

०७२ भदौ ७ गते कैलालीको टीकापुरमा आन्दोलनरत थरुहट कार्यकर्ता र प्रहरीबीच झडपमा एसएसपीसहित सात सुरक्षाकर्मी र एक बालकको मृत्यु भएको थियो। चौधरीमाथि त्यसैको ज्यान मुद्दा लागेको छ।

उनको मुद्दा अदालतमा विचाराधीन छ। जिल्ला निर्वाचन आयोगले चौधरीको प्रमाणपत्र उनलाई र उनको वारेसलाई नदिई निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पठाएको थियो। आयोगले अहिले उनको प्रमाणपत्र संसद् सचिवालयमा सभामुखकहाँ पठाइदिएको छ।

राजपाले प्रधानमन्त्री केपी ओली सरकारलाई समर्थन गर्नेदेखि सरकारमा सहभागी हुने सर्तमा चौधरीको मुद्दा फिर्तीको विषयलाई प्रमुख एजेन्डा बनाएको थियो। यो विषयमा प्रधानमन्त्री ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरबीच शपथ कसरी गराउने भन्नेमा पटक(पटक छलफल भएको राजपा नेता केशव झाले पनि पुष्टि गरे।

‘सर्वोच्च अदालतले चौधरीको तर्फबाट प्रमाणपत्र लिन वारेसलाई दिन गरेको निवेदन खारेज गर्दा शपथ नगराउन भन्ने कुनै आदेश नदिएको, कैलाली जिल्ला अदालतको फैसलामा पनि त्यस्तो केही नभनिएको र मुद्दा पनि प्रमाणित भइनसकेको कारण साधारण तारेखमा छाडेर शपथको वातावरण बनाऊ भन्ने हाम्रो माग हो,’ राजपा नेता झाले भने, ‘तर सरकारले अदालतमा मुद्दा रहेकाले अहिलेलाई शपथको वातावरण बनाउनतिर भने सोचेको देखिन्छ।’

आफूले शपथ खान पाउनुपर्ने माग गर्दै कारागारभित्रै आमरण अनशन बसेपछि चौधरीलाई फागुन २६ मा काठमाडौं ल्याई वीर अस्पताल भर्ना गरिएको थियो। सोही दिन बिहान राजपा अध्यक्षमण्डलका नेता ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव, शरत्सिंह भण्डारीलगायत नेताले गृहमन्त्री रामबहादुर थापासँग रिहाइका विषयमा छलफल गरेका थिए।

गृहमन्त्री थापाले अदालतमा रहेको मुद्दा फिर्ता लिन सक्ने अवस्थामा सरकार नरहेको जानकारी राजपा नेताहरूलाई गराउँदै शपथको वातावरण बनाउन र प्रमाणपत्र दिलाउन सरकार सकारात्मक रहेको जवाफ दिएका थिए। सोही छलफलपछि नै चौधरीको शपथको वातावरण कसरी मिलाउने भन्ने योजनामा चौधरीलाई काठमाडौं ल्याइएको गृह मन्त्रालय स्रोतले बतायो।

चैत २ मा प्रधानमन्त्री ओली, माओवादी अध्यक्ष दाहाल र राजपा अध्यक्षमण्डलका संयोजक ठाकुरबीच छलफल भएपछि चौधरीको अनशन तोडाउने समझदारी बनेको थियो। त्यसपछि सोही दिन साँझ गृहमन्त्री थापा चौधरीको अनशन तोडाउन वीर अस्पताल पुगेका थिए। ‘अब उनको शपथको वातावरण मिलाउन सरकार लागिपरेको छ, मुद्दाको विषयमा भने अदालतले स्वविवेकी निर्णय लिन्छ,’ गृह मन्त्रालय स्रोतले भन्यो, ‘शपथ प्रक्रिया अब अगाडि बढ्छ।’ सरकारले चौधरीको शपथको वातावरण मिलाए पनि उनीमाथि अदालतमा मुद्दा रहेकाले उनी निलम्बित सांसदका रूपमा रहनेछन्। आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस