जेलमै बसेर नेता भए तर जेल सुध्रिएन « प्रशासन
Logo १२ आश्विन २०७८, मंगलबार
   

जेलमै बसेर नेता भए तर जेल सुध्रिएन


४ चैत्र २०७४, आइतबार


काठमाडौं । ‘जेलमा बसेर सबै ठूला नेता भए। तर, आज आफैँ बसेको जेलतर्फ फर्केर हेरेनन्।’ जेलको अवस्था देखेर चिन्तित जगन्नाथ देवलस्थित केन्द्रीय कारागार प्रमुख गणेशप्रसाद भट्टराईका भनाइ हुन् यी। जेलमै बसेर ठूला नेता भए पनि दयनीय अवस्थाका विषयमा चासो नदिएको गुनासो उनको छ। ‘हेरौं अब त केही हुन्छ कि १’ दिक्दारी भाषामा भट्टराई भन्छन्।

०२८ सालको झापा काण्डदेखि तत्कालीन मालेका नेता राधाकृष्ण मैनालीले निरन्तर १५ वर्ष जेलमै जीवन बिताए। उनी पटक(पटक मन्त्री पनि बने तर आफैं जेल सुधार गर्न नसकेको स्विकार्छन्। सुधारका लागि एकपल्ट जेल नै खाली गर्ने प्रस्ताव राखेको समेत उनले सुनाए। जेलमा रहँदा पेट भर्न र आङ ढाक्नै संकट हुने गरेको सम्झना उनको छ। ‘जेल बस्दाको अन्तस्करणको कुरा बिर्सनु मार्मिक विषय हो। म पनि ९÷१० महिना गरी दुई पटक मन्त्री भएँ। बन्दीगृह र बन्दीबारे खासै निर्णय गर्न र गराउन भने सकिनँ,’ उनले भने, ‘राजनीतिक परिवर्तन भए पनि मुलुकको आर्थिक विकास नभएकाले जेल मात्र होइन, बन्दीको जीवन पनि जीर्ण बन्दै गएको छ। गणतन्त्र घोषणा भएपछि स्थितिमा सुधार ल्याउन एकपल्ट जेल नै खाली गरौं भनेर पनि प्रस्ताव गरेँ तर केही प्रगति भएन।’

मैनालीका अनुसार त्यसबेला शान्तिप्रक्रिया पूर्णरूपमा टुंग्याउने र सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगको काम सम्पन्न भएपछि जेलको पुनःसंंरचनामा अघि बढ्ने भनेर पन्छिने काम भयो। ‘आफ्नै खेतमा पानी पटाउनेबारे नसोच्ने नेताहरूले जेलबारे सोच्ने कुरै भएन,’ उनले भने।

उनले स्वास्थ्योपचार नपाएर जेलमै बितेका छविलाल राजवंशीलाई पनि सम्झिए। आफ्नै आँखासामुबाट लग्दै भीमनारायण श्रेष्ठ र क्याप्टेन यज्ञबहादुर थापालाई फाँसी दिइएको घटनाले मैनाली भावुक बने। ‘जेल जीवनका ती दुर्दान्त घटना आँखावरिपरि घुम्दा पीडा अनुभूत हुन्छ’, उनले भने।

जेलमा बस्दा खुला बन्दीगृहसम्मको योजना बनाएका उनीहरूले विधि र व्यवहारमा उपलब्धि देखाउन नसकेको नेताहरू बताउँछन्। वर्षौंसम्म जेलका कालकोठरीमा बन्दी जीवन बिताउने नेताहरूले बहुदल हुँदै गणतन्त्रसम्म आइपुग्दा पनि जेल सुधारमा आँखा चिम्लिएका कारण स्थिति जर्जर बनेको हो। आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस