घोडेजात्रा सम्पन्न « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

घोडेजात्रा सम्पन्न


प्रशासन विशेष ब्युरो

३ चैत्र २०७४, शनिबार


काठमाडौँ । यस वर्षको घोडेजात्रा सम्पन्न भएको छ ।

घोडेजात्राका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा अश्वकला, साइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीगणले टुँडिखेल पुगेर घोडेजात्रा अवलोकन गरेका थिए।

काठमाडौँ उपत्यकामा मात्र मनाइने घोडेजात्रा प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन टुँडिखेलमा देखाइन्छ ।

घोडेजात्राका क्रममा आयोजना गरिएका विभिन्न प्रतियोगितामा पहिलो र दोस्रो स्थान हासिल गर्ने सहभागीलाई राष्ट्रपति भण्डारीले पुरस्कार प्रदान गरेकी छिन् ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा वास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित शहरवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय जनतामा रह्यो ।

यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिन्छ । यसो गर्दा गुरुमापाको आत्माले स्थानीयवासीलाई दुःख नदिने जनविश्वास छ ।

साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ ।

आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा रही आएको छ ।

प्रतिक्रिया दिनुहोस