श्रम बजारका बेरोजगार आमाहरु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

श्रम बजारका बेरोजगार आमाहरु


प्रशासन विशेष ब्युरो

३ चैत्र २०७४, शनिबार


हरेक दिन भात र भान्सामै हराउँछन्
आफ्नो जीवन र जवानी अर्पण गरेर
चुलेसीमा धार लगाउँदै लगाउँदै
आफ्ना सपनाहरु त
कतिबेला काटिन्छन् पत्तै पाउँदैनन्
हाम्रा भाउजू र काकीहरु

आफ्नो कोख मलिलो बनाउँछन्
आफ्नो काख सुकिलो बनाउँछन्
समाजको दुर्गन्ध च्यापेर
पटक–पटक
छोरीहरु भुरुणमै मिल्काउँछन्
अनि जन्माउँछन्
सुकिला छोराहरु
श्रम बजारमा हाम्रा दिदीहरु
प्रेम निशुल्क मिसाएर दूध पिलाउँछन्

आफ्नो कुनै जात नभएका
बाबुका छोरीहरु
श्रीमान्का श्रीमतिहरु
छोराका आमाहरु
आफू बेरोजगार भएर पनि आफ्ना सन्तान
रोजगार बनाउँछन् ।
जुठेल्नो लोटाउँदा लोटाउँदै
अगेनोको ओदान जस्तै मेरा सानिमाहरु
ढिकी जातो र मेलापातमै
पेलिएका हुन्छन् हरेक दिन

तै पनि श्रम बजारमा बेरोजगार छन् हाम्रा फुपुहरु
बर्षभरी मामिल्ने दुईचार वटा फुर्सदिला बिदाहरुमा

रमाउनु पर्छ भनेर रमाई दिन्छन्
मनाउनु पर्छ भनेर मनाई दिन्छन्
खानु पर्छ भनेर खाईदिन्छन्
जानुपर्छ भनेर गै दिन्छन् हरेक खुशीमा
आफ्नै नियन्त्रण कहाँ पाउँछन् र आफैले
आफ्नो निर्णय कहाँ गर्छन् र आफैले
सबथोक भएर पनि कहाँ हुन्छन् र आफ्नालागि
तिमी भन्छांै
श्रम बजारमा रोजगार हुनु भनेको धन कमाउनु हो

धन कमाउँदा कमाउँदै
जीवन कमाउँदा कमाउँदै
आमाहरु बेरोजगार हुन्छन्
तिमीले राजस्व छुट पाउने लोभमा आमाको नाममा
नामसारी गरेको जमिन
आफ्नो हितमा कहिले बेचेका छन् र तिम्रो इच्छा बिपरीत
भैसी पालेर दूध घिउ जति जम्मै बुझाउँछन् तिमीलाई
बाख्रा पालेर जोगाएको पेवा नासो सुम्पिदिन्छन् तिम्रो खुशीका निम्ति

माफ गर्नुहोस महोदय !
दुई छाक भात र एक जोर लुगा दिनु
मात्रै
श्रमको सम्मान होइन ।
त्यसैले श्रम बजारमा बेरोजगार छन् मेरा आमाहरु

प्रतिक्रिया दिनुहोस