आज घोडे जात्रा मनाइँदै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

आज घोडे जात्रा मनाइँदै


प्रशासन विशेष ब्युरो

३ चैत्र २०७४, शनिबार


घोडे जात्रा

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन मनाइने घोडेजात्रा पर्व आज काठमाडौं उपत्यकामा परम्परागत रूपमा मनाइँदै छ ।

जनविश्वासअनुसार राजधानीको टुँडिखेल पूर्वदक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भनिने राक्षसले सहरका बालबालिकालाई खाने गरेको जनविश्वास छ ।

पीडित सहरबासीले विभिन्न उपायले राक्षसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय जनतामा रह्यो ।

यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिन्छ । यसो गर्दा गुरुमापाको आत्माले स्थानीयलाई दुःख दिँदैन भन्ने जनविश्वास रहिआएको छ ।

त्यस्तै, ‘सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस्’ भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई एक मुरी चामलको भात र राँगाको मासु दिइन्छ । आजको दिन जंगबहादुरको घोडा किन्न जाने ठट्टा पनि गरिन्छ ।

नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायत प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर जात्रा मनाउने परम्परा रही आएको छ ।

प्रतिक्रिया दिनुहोस