कांग्रेस दलको नेतामा देउवा, उपनेता गच्छदार « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कांग्रेस दलको नेतामा देउवा, उपनेता गच्छदार


२२ फाल्गुन २०७४, मंगलबार


काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा दुईतिहाइभन्दा बढी मतले संसदीय दलको नेतामा निर्वाचित भएका छन् । प्रतिस्पर्धी प्रकाशमान सिंहलाई २५ मतले पछि पार्दै देउवा निर्वाचित भएका हुन् । ६३ सांसदले दलको नेता चयनका लागि मत खसाल्दा देउवाले ४४ र सिंहले १९ पाए । देउवाले ७० प्रतिशत मत प्राप्त गरे भने रामचन्द्र पौडेल पक्षका सिंहले ३० प्रतिशत मत प्राप्त गरे ।

सुशील कोइरालाको निधनपछि ०७२ चैतमा भएको संसदीय दलको निर्वाचनमा देउवा २०६ भोटमा १३९ मत ल्याएर विजयी भएका थिए । रामचन्द्र पौडेल ६७ मत ल्याएर पराजित भएका थिए । देउवाले त्यतिखेर ६७.४७ प्रतिशत र पौडेलले ३२.५३ प्रतिशत मत ल्याएका थिए । तर, दुई वर्षपछि आफ्नो शक्ति झन् बढाएका छन् । पौडेल पक्ष भने झन्झन् खस्किएको छ ।

प्रत्यक्षतर्फ पार्टीले जितेको २३ सिटमा देउवा पक्षले ११ जित्दा पौडेल पक्षले नौ र सिटौला पक्षले तीन सिट जितेको थियो । तर, समानुपातिकका ४० सिटमा देउवाले २८ सांसद आफ्नो पक्षका पार्न सफल भए । समानुपातिकमा आफ्नो पक्षको वर्चस्व हुने गरी नै सभापति देउवा पक्षले सूची बुझाएको थियो । प्रत्यक्षमा हाराहारी जिते पनि समानुपातिकबाट देउवा हाबी भएका हुन् ।

यसअघि, देउवा तीनपटक संसदीय दलको नेता चयन हुँदा तीनैपटक प्रधानमन्त्री बनेका थिए । यसपटक वाम गठबन्धनको वर्चस्व भएपछि एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनिसकेको छ र पूरा कार्यकाल जाने निश्चितजस्तै देखिन्छ । यसअघि, २०५२, २०५६ र २०७२ मा देउवा संसदीय दलको नेतामा चयन भएका थिए ।

संसदीय दलको नेतामा चयन भएलगत्तै बसेको पहिलो बैठकपछि देउवाले सरकारका क्रियाकलापप्रति खरो रूपमा उत्रिने चेतावनी दिएका छन् । ‘हामी संसदीय बहुदलीय व्यवस्था मान्ने पार्टी हौँ । यो व्यवस्थामा सत्तापक्षलाई काम गर्नका लागि एकसय दिन अर्थात् हनिमुनको अवधि दिने भनिन्थ्यो’ देउवाले भने, ‘तर, ओलीजीको सरकारले यस्तो ठाउँ नै दिएन । एकसय दिनसम्म विरोध नगरी काम गर्ने ठाउँ ओली सरकारले दिएन । सुरुदेखि नै हस्तक्षेप गरेको हुनाले हामी कडा प्रतिपक्षीको भूमिका खेल्छौँ ।’

संसदीय दलको नेतामा चयन भएपछि पहिलो बैठकबाटै देउवाले विजयकुमार गच्छदारलाई उपनेता बनाए । प्रतिनिधिसभा निर्वाचनको केही समय अघि मात्रै फोरम लोकतान्त्रिकबाट कांग्रेस प्रवेश गरेका गच्छदारलाई देउवाले उपनेतामा चयन गरेका हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस