काभ्रे कारागारमा नाइकेहरु र वन्दी बीच झडप, कैदीद्वारा नाइकेहरुलाई १२ घण्टा वन्धक ! « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काभ्रे कारागारमा नाइकेहरु र वन्दी बीच झडप, कैदीद्वारा नाइकेहरुलाई १२ घण्टा वन्धक !


प्रशासन विशेष ब्युरो

२१ फाल्गुन २०७४, सोमबार


काभ्रे । काभ्रेस्थित जिल्ला कारगारमा रहेका नाइके, सहनाइके र चौकीदार गरी सात जनालाई कैदीहरुले दिनभर नियन्त्रणमा लिएर साझ मुक्त गरेका छन् ।

कैदीहरुले जेलमा रहेका सातै जना नाइके र चौकीदारलाई १२ घण्टा सम्म बन्धक बनाएर सोमवार साँझ मुक्त गरेका थिए ।

नाइकेहरु शुरुमा प्रतिरोधमा उत्रिएपनि पछि उनीहरु सबैलाई कैदीले बाँधेर १२ घण्टा सम्म कोठामा थुनेर राखेको काभ्रे जेल प्रशासनले जानकारी दिएको छ ।

जेल प्रशासनका अनुसार कारागारमा रहेका चौकीदार, नाइके र सह–नाइकेहरु अर्जुन राना, दिपक ठकुरी, सुरज थापा, जय सिह, मधु महत, कुमार कार्की र सुरेश वलामीलाई १ सय ४० भन्दा बढी कैदीबन्दीले कव्जामा लिएर दिनभर कारगाार भित्रकै कोठामा थुनेर राखेका थिए ।

कारागारमा रहेका कैदीहरुले नाइके र चौकीदारहरुले आफुमाथि राणा शासन जस्तै व्यवहार गरेको भन्दै सोमवार विहान ५ वजेदेखि साँझ पाँच बजेसम्म थुनेर राखेको जिल्ला कारागारका प्रमुख जेलर महेश कुमार पोख्रेलले जानकारी दिए ।

नाइके र चौकीदार वन्धक भएको थाहा पाएपछि काभ्रेका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद सिंखडाको नेतृत्वमा गएको प्रहरी प्रमुख एसपी सहकुलथापा र जेलर पोख्रेलको समुहले कैदीवन्दि सँग वार्ता गरी बन्धक भएकाहरुलाई मुक्त गराएका थिए ।

कैदी बन्दिहरुले सातै जनाले अन्यायपुर्ण र अमानवीय व्यवहार गरेको भन्दै उनीहरुलाई काभ्रेबाट अन्यत्रै सरुवा गर्न माग गरेका थिए । प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले घट्नाको सत्यतथ्य छानवीन गरी दोषी देखिए सरुवा गर्ने प्रतिबद्धता जनाएपछि कैदीहरुले उनीहरु सातै जनालाई मुक्त गरेकाथिए ।

जेल भुक्तान गर्न कम समय बाँकी रहेका कैदीहरु मध्येबाटै चौकीदार, नाइके र सहनाइके नियुक्त गरेर उनीहरु मार्फत नै सबै कैदीको मोनिटरिङ गर्ने व्यवस्था हुँदै आएको छ । जेलमा नियुक्त भएकै चौकीदार र नाइकेहरुले जेल भित्र पसल समेत सञ्चालन गर्न पाउने व्यवस्था गर्ने गरिन्छ ।

काभ्रे जिल्ला कारागारमा पनि चौकीदार राना तथा नाइकेहरु ठाकुर, थापा लगायतले कैदीको लागि क्यान्टिन चलाउँदै आइरहेका थिए । उनीहरुले क्यान्टिमा गुणस्तरहीन खाना खुवाउने गरेको, बढी पैसा असुल्ने गरेको, आफुहरु मिठो मिठो खाएर आम कैदीहरुलाई बासीखानाहरु खुवाउने गरेको आरोप लगाउँदै आएका थिए । वार्ताका क्रममा कैदीहरुले नाइके र चौकीदारले आफुहरुमाथि अत्याचार गरेकाले बाध्य भएर वन्धक बनाएको वताएको जेलर पोख्रेलले जानकारी दिए ।

केन्द्रिय कारागारका २ सय कैदीमा पखाला
यसैबीच केन्द्रिय कारगार जगन्नाथ देवलमा रहेका २७ सय कैदीमध्ये २ सय कैदी एकै पटक पखालाबाट ग्रसित बनेका छन् । कारागार प्रमुख उपसचिव गणेश भट्टराइले जेलमा रहेका २ सय कैदीहरु एकै पटक पखालाबाट विरामी परेपनि समयमा नै उपचार गरिएकाले उनीहरु सामान्य अवस्थामा फर्कन थालेको वताएका छन् ।

प्रतिक्रिया दिनुहोस