प्रदेश खटाएका १४९ कर्मचारी सम्पर्कविहिन ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश खटाएका १४९ कर्मचारी सम्पर्कविहिन !


प्रशासन विशेष ब्युरो

१० फाल्गुन २०७४, बिहिबार


सुर्खेत । केन्द्रीय सरकारले प्रदेशका लागि खटाएका एक सय ४९ जना कर्मचारी सम्पर्कविहिन भएका छन् ।

मन्त्रालयका सचिवसहित आजसम्म ६६ जनाले कर्मचारीले नियमित हाजिर गरिरहेको र करीब १ सय ५० कर्मचारी अझै सम्पर्कमा नआएको ६ नं. प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव सुरेश प्रधानले बताएका छन् ।

“मन्त्री नियुक्त भएर मन्त्रालयमा आइसक्नुभएको छ तर केन्द्रीय सरकारले पठाएका कर्मचारी नहुँदा कामकाजमा समस्या भयो” प्रमुख सचिव सुरेश प्रधानले भने । हालसम्म सबैभन्दा कम भौतिक पूर्वाधार विकास मन्त्रालयमा तीन जना मात्रै हाजिर भएको प्रधानले जानकारी दिए ।

प्रदेश नं ६ अन्तर्गत प्रदेश प्रमुखको कार्यालयमा छ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा १३, प्रदेशसभा संसद्को सचिवालयमा १६, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा १४, आर्थिक मामिला तथा योजना मन्त्रालयमा ११, भौतिक पूर्वाधार विकास मन्त्रालयमा २१, सामाजिक विकास मन्त्रालयमा २५, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा २१ र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा २२ जना गरी १४९ जना कर्मचारी सम्पर्कमा नआएको प्रमुख सचिव प्रधानले जानकारी दिए ।

प्रदेश प्रमुखको कार्यालय १३, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय २१, प्रदेशसभा संसद्को सचिवालयमा २८, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा २३, आर्थिक मामिला तथा योजना मन्त्रालयमा १८, भौतिक पूर्वाधार विकास मन्त्रालयमा २४, सामाजिक विकास मन्त्रालयमा ३०, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा २९ र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा २९ जनाको गरी २ सय १५ कर्मचारीको दरबन्दी कायम छ ।

प्रदेश नं ६ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित मातहतका मन्त्रालयमा दरबन्दीअनुसारका कर्मचारी समयमै नआइपुग्दा कर्मचारीको अभाव भएको छ ।

केन्द्रले खटाएका कर्मचारीलाई सम्बन्धित मन्त्रालयका सचिवमार्फत पनि ताकेता तथा थप कर्मचारीका लागि सामान्य प्रशासन मन्त्रालयसँग नियमित समन्वय गर्नेकाम भइरहेको पनि उनले जानकारी दिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रशासन सचिव यज्ञराज बोहरा, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सचिव केशवप्रसाद आर्चाय, आर्थिक मामिला तथा योजना मन्त्रालयमा सचिव ढुण्डीप्रसाद निरौला, सामाजिक विकास मन्त्रालयमा निमित्त सचिव भक्तबहादुर ढकाल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सचिव विद्यानाथ झा र भूमि व्यवस्था, कृषि, तथा सहकारी मन्त्रालयमा सचिव शिवनारायण चौधरीले जिम्मेवारी सम्हालेका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा भने सचिव नहुँदा निमित्त सचिवका रुपमा शाखा अधिकृत निर्मला रेग्मीले काम गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस