कायर नेतृत्वबाट परिवर्तन सम्भव छैन -मन्त्री पण्डित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कायर नेतृत्वबाट परिवर्तन सम्भव छैन -मन्त्री पण्डित


प्रशासन विशेष ब्युरो

५ फाल्गुन २०७४, शनिबार


काठमाडौँ । नवनियुक्त जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले नेतृत्व कायर, डरपोक र दिनमात्र बिताउने भयो भने कुनै पनि क्षेत्रमा परिवर्तन सम्भव नहुने बताएका छन् ।

नेपाल वातावरण पत्रकार समूहको ‘पानी सञ्चार अभियान’ को शुभारम्भका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री पण्डितले भने, “राजधानीलगायत मुलुकका अन्य भागमा पर्यावरण र वातावरण बिगार्नेलाई दण्डित गर्नु पर्छ र यसका लागि म पूर्ण प्रतिबद्ध भएर कार्य गर्नेछु ।”

दीर्घकालीन रुपमा वातावरण बिगार्न ज–जसले भूमिका खेलिरहेको छ त्यसलाई बन्द गराउन सहयोगका लागि सबैसँग आग्रह गर्दै मन्त्री पण्डितले वातावरणका क्षेत्रमा गर्नुपर्ने कार्यको प्रतिबद्धतासहित केही दिनभित्रै आफूले कार्यक्रम सार्वजनिक गर्ने बताए ।

उनले राजधानी काठमाडौँसहितका क्षेत्रमा भएको वातावरणीय क्षतिलाई आमजनताले अनुभूति गर्नेगरी न्यूनीकरण गरिने दृढता व्यक्त गर्दै भने, “वातावरणका क्षेत्रमा काम गर्दा ज्यान जोखिममा पर्ला, संगठित गिरोहले काम गर्न नदेला भनेर म चुप लागेर बस्दिनँ, काम गर्न आएको छु, हिम्मत लिएर आएको छु ।”

मन्त्री पण्डितले, “मानिसहरुले मलाई कति दिनभित्र काठमाडौँमा मास्क लगाउनु पर्दैन ?” भनी पटक पटक प्रश्न गरिरहेको स्मरण गर्दै काठमाडौँको धुलोधुवाँले विकराल सामाजिक र स्वास्थ्य समस्या निम्त्याएको र यसको समाधानका लागि योजना ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस