पाँच सयबाट शुरु गरेको व्यवसायले वार्षिक ६ लाख ! « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पाँच सयबाट शुरु गरेको व्यवसायले वार्षिक ६ लाख !


प्रशासन विशेष ब्युरो

५ फाल्गुन २०७४, शनिबार


रुकुम । कुनै बेला घर खर्च जुटाउन नसकेर विदेश जाने आकाँक्षा पालेर बसेका रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ पोखराका ओमप्रकाश खड्काले अहिले मौरीपालनबाट राम्रो आम्दानी गर्न थालेका छन् ।

२०६२ सालदेखि मौरी पाल्न शुरु गरेका खड्का सफल उद्यमी मात्र भएका छैनन् वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्न समेत सफल भएका छन् ।

बाह्र वर्षअघि एक घारबाट मौरी पाल्न शुरु गरेका खड्का अहिले रुकुम जिल्लाकै प्रख्यात मौरीपालक कृषकका रूपमा परिचित छन् ।

“शुरुमा पाँच सय रुपैयाँ ऋण लिएर एक घारबाट मौरी पाल्न शुरु गरेको हुँ, त्यसलाई दोब्बर, तेब्बर बनाउँदै अहिले ७५ घार पु¥याएको छु,” खड्काले भने। वर्षको दुई याममा मह निकाल्ने गरेको र एक याममा २ सय ५० देखि ३ सय किलोग्रामसम्म मह उत्पादन हुने गरेको उनको भनाइ छ । उनले उत्पादित मह प्रतिकिलो रु ६ सय र मौरीसहितको घारलाई रु तीन हजारमा बेच्ने गरेका छन् ।

मह र मौरीसहितको घार बिक्रीबाट वार्षिक ६ लाख रुपैयाँ भन्दा बढी आम्दानी हुने गरेको उनले बताए। परिश्रमअनुसार आम्दानी राम्रो हुँदै गएपछि खड्का अहिले खुशी छन् । मह बिक्रीबाट आएको पैसाले आफ्ना पाँच छोराछोरीलाई पढाउनुका साथै नौ जनाको घरखर्च व्यवस्थापन गरिरहेको उनले बताए ।

उत्पादित महमध्ये ६० प्रतिशत जिल्लाबाहिर निर्यात हुने गरेको र बाँकी जिल्लाभित्रै खपत हुने गरेको खड्काले बताए । उत्पादित मह काठमाडौँं, नेपालगञ्ज, पोखरा, दाङ लगायतका ठाउँमा निर्यात हुने गरेको छ ।

आव २०७३/७४ मा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत खड्का अहिले मौरीपालन प्रशिक्षकको रुपमा अरुलाई तालीम दिने समेत दिने गर्छन् ।

प्रतिक्रिया दिनुहोस