लोपोन्मुख घडियाल गोही संरक्षणको नौलो उपायः बोटे, माझी र मुसहरको नाम गोहीलाई ! « प्रशासन
prasaLogo
५ फाल्गुन २०७४, शनिबार

लोपोन्मुख घडियाल गोही संरक्षणको नौलो उपायः बोटे, माझी र मुसहरको नाम गोहीलाई !


प्रकाशित मिति : 17 February, 2018 2:45 pm

रत्ननगर, चितवन । गोही संरक्षणका लागि नयाँ शैली अपनाइएको छ । लोपोन्मुख घडियाल गोहीको अस्तित्व जोगाइराख्ने प्रयासस्वरुप बोटे, माझी र मुसहरको नामकरण गरिएको हो ।

उनीहरुको नाम जोडेर प्राकृतिक बासस्थान (राप्ती नदी)मा पहिलो पटक गोही छाड्ने काम भएको छ । यसको मुख्य उद्देश्य गोही संरक्षण यी समुदायको सहभागिता अभिवृद्धि गर्नु हो ।

यसअघि कहिल्यै पनि गोही छाड्दा बोटे, मुसहर, माझीलाई समुदाय सहभागी गराइएको थिएन । मन्त्री, नेता वा सरकारी अधिकारीको रोहवरमा गोही छाडिन्थ्यो । तर शुक्रबार भने फरक गतिविधिका साथ सिमान्तकृत समुदायलाई केन्द्रबिन्दुमा राखेर चिह्न लगाई २४ वटा घडियाल गोहीलाई राप्ती नदीमा छाडिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष चितवन र जेडएसएल नेपालको सहयोगमा भएको उक्त कार्यक्रममा बोटे, मुसहरले समेत गोही समाएर नदीमा छाडे । जहाँ महिलासमेत सहभागी थिए ।

विगतमा नदीमा माछा मार्न राखिएका जालमा अड्किएर गोही मरेका उदाहरण छन् । त्यसैले यो नयाँ प्रयोगस्वरुप जिम्मेवार बनाई संरक्षणमा चेतना दिन उनीहरुको नाममा गोही छाडिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा प्रजनन केन्द्रका प्रमुख वेदबहादुर खड्काले जानकारी दिए ।

जल र जंगलमा आश्रित हुँदै आएका ती समुदायलाई गोही संरक्षणप्रति जिम्मेवारी बोध गराउन पहिलो प्रयोगस्वरुप उनीहरुकै नाममा यसरी प्राकृतिक बासस्थानमा गोही छाडिएको हो । विश्वमै अति–संकटासन्न अवस्थामा पुगेको छ घडियाल गोही । त्यस प्रजातिको संरक्षण चुनौती बन्दै गएको छ ।

केही वर्षअघिसम्म नेपालका ठूला नदीमा पाइने घडियाल गोही चितवन र बर्दियामा मात्र सीमित हुन पुगेको छ । अहिलेसम्म निकुञ्जमा पालिएका एक हजारभन्दा बढी गोही छाडिए पनि नदीमा गोही नगण्य छन् ।

निकुञ्जमा गोही प्रजनन केन्द्र नहुँदो हो त नेपालमा यो प्रजाति लोप भइसक्ने थियो । नदीमा गोहीको संख्या घट्दो क्रममा रहेकाले संख्या बढाउन यसरी पालिएका गोही नदीमा छाड्ने गरिएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए ।

एक हजारभन्दा बढी गोही नदीमा छाडिए पनि पछिल्लो अनुगमनमा नेपालका नदीमा घडियाल गोहीको संख्या १ सय ९८ गणना गरिएको छ । निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काएर नदीमा छाड्ने गरिए पनि करिब १० प्रतिशत मात्रै बाँच्ने गरेको छ । पछिल्लो पटक बर्दियामा समेत गोही प्रजनन् हुन थालेको छ ।

प्रदूषित पानी, माछाको अभाव तथा बगेर भारत पुग्ने लगायतका कारण पनि गोही लोप हुँदै गएको पाइन्छ । यस पटक छाडिएका गोही करिब ६ देखि ७ वर्षको छ । यसअघि फागुन २ गते पनि उक्त नदीमा २४ वटा गोही छाडिएको थियो ।

गोही नदीमा छाड्दै क्षेत्रीय वन निर्देशक शिवकुमार वाग्लेले पानीमा गोही पाउनु सफा पानीको सूचक भएको र पारिस्थितिक प्रणालीमा यसको उपस्थितिको ठूलो महत्व रहेको उल्लेख गरे।

निकुञ्ज आसपास पानीमा आश्रित समुदाय बोटे, माझी, मुसहरलाई समेत सहभागी गराएर उनीहरुकै नाममा गोहीलाई नदीमा छाडिँदा ती समुदायमा संरक्षणप्रति चासो बढ्ने आशा राखिएको अर्यालले बताए । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका संरक्षण अधिकृत सन्तोष भट्टराई समुदायसँगको सहकार्यमा विगतदेखि नै संरक्षण कार्यक्रम अघि बढाइँदै आइएको सन्दर्भमा अहिले बोटे, माझी, मुसहरलाई सहभागी गराउँदा कार्यक्रम थप प्रभावकारी हुने बताउँछन् ।

निकुञ्जका सहायक संरक्षण अधिकृत तथा प्रजनन केन्द्रका प्रमुख खड्काका अनुसार हाल प्रजनन केन्द्रमा ५ सय ९५ गोही रहेका छन् । यो वर्ष करिब १०० गोही प्राकृतिक बासस्थानमा छाड्ने योजना छ ।

प्रतिक्रिया दिनुहोस