देश टुक्रयाउने आवाजप्रति नेपाली सेना सजग र सतर्क छ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

देश टुक्रयाउने आवाजप्रति नेपाली सेना सजग र सतर्क छ


२९ माघ २०७४, सोमबार


करिब साढे चार सय वर्ष लामो इतिहास बोकेको नेपालको एक गौरवशाली संस्था नेपाली सेनाले आफ्नो स्थापना दिवस मनाउँदै छ । हरेक वर्ष शिवरात्रिका दिन मनाइँदै आएको दक्षिण एसियाकै सबैभन्दा पुरानो सङ्गठन मानिने नेपाली सेनाको स्थापनाबारे एउटै र यकिन मिति छैन । खास गरी प्रजातन्त्रको पुनर्स्थापना पश्चात् शिवरात्रिका दिनलाई औपचारिक रूपमा सेना दिवस मनाउँदै आएको नेपाली सेनाको दिवस र महाशिवरात्रि कसरी एकै दिन पर्न गए भन्ने कौतुहलतासँगै देशमा भएका ठूल ठुला राजनैतिक परिवर्तनका बिच कसरी आफूलाई गैर राजनैतिक सङ्गठनका रूपमा कायम राख्न सक्यो ? मुलुकको परिवर्तित यस जटिल परिवेशमा सेना कसरी अघि बढ्छ ? मुलुक टुक्रिन सक्ने आवाजहरू उठिरहँदा नेपाली सेनाको धारणा के हो ? लगायत विषयमा केन्द्रित रही नेपाली सेनाका ब्रिगेडिएर जनरल तथा प्रवक्ता गोकुल भण्डारीसँग प्रशासन डटकमका विशेष प्रतिनिधि एस राज उपाध्यायले गरेको कुराकानी ।

यस वर्षको सेना दिवसको तयारी कस्तो छ ?
हरेक वर्ष झैँ यस वर्ष पनि नेपाली सेनाले राष्ट्र प्रमुख, सरकार प्रमुख लगायत संवैधानिक निकायका प्रमुखहरू समेत सहभागी हुने यस कार्यक्रम हर्षोल्लासका साथ विशेष किसिमले मनाउने तयारी गरिरहेको छ । हरेक वर्ष झैँ सैनिक कला र क्षमताको केही अंश देखिने गरी टुँडिखेलमा गर्ने परेड तथा प्रदर्शनीको साथ साथै विभिन्न खेलकुद, सांस्कृतिक कार्यक्रम लगायत यस वर्ष पहिलो पटक नेपाली सेना सम्बन्धी बृहत् प्रदर्शनीको आयोजना पनि सम्पन्न गरेका छौँ । त्यसको साथसाथै नेपाली सेनाका सबै युनिटहरूले पनि स्थान विशेषमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरी सेना दिवसलाई थप रोचक र अविस्मरणीय रूपमा मनाउने तयारी भइरहेको छ ।

महाशिवरात्रि र सेना दिवस यी दुवै अवसर कसरी एकै दिन पर्न गए । यसबारे केही बताइदिनुहोस् न ?
विभिन्न राष्ट्रहरूले सेना दिवसलाई मनाउँदै आइरहेको परिप्रेक्षमा नेपालमा सेना दिवस मनाउने आवश्यकता महसुस भएको र नेपाली सेनाले मनाउँदै आएको फूलपाती, महाशिवरात्रि तथा घोडे जात्रा समारोह मध्ये कुनै एउटालाई छनौट गर्ने प्रस्तावमा छलफल हुँदा विविध कारणले महाशिवरात्रीको दिनलाई छनौट गरी मनाउँदै आइएको हो ।

१८०१ सालमा तत्कालीन गोर्खा राज्यले निर्माण गरेको नेपाली सेनाको करिब साढे चार सय वर्ष लामो इतिहासलाई हेर्दा आजका दिनसम्म आइपुग्दा के गर्न सक्यो र के अझै गर्न बाँकी छ जस्तो लाग्छ ?
नेपाली सेना राष्ट्रको महत्त्वपूर्ण सुरक्षा अङ्ग हो । यसले परापूर्व कालदेखि नै समय सापेक्ष आवश्यकता अनुसार आधुनिकीकरणलाई अङ्गाल्दै संविधानले दिएको जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्दै आइरहेको र अहोरात्र तयार रहेको छ । साथै नेपाल सरकारबाट प्राप्त हुने सबै किसिमका जिम्मेवारी पुरा गर्दै आएको र गर्न सदैव तयार रहेको अवगत गराउन चाहन्छु ।

वीरता, साहस र समर्पणकै कारण विश्वमै बहादुर सेनाको रूपमा पहिचान बनाउन सकेको नेपाली सेनाले देशमा भएका ठुलठुला राजनैतिक परिवर्तनका बाबजुद पनि कसरी आफूलाई गैर राजनैतिक सङ्गठनका रूपमा कायम राख्न सक्यो ?
नेपाली सेनाले एक स्वच्छ गैर राजनैतिक सङ्गठनको रूपमा स्थापित गर्न पूर्ण रूपमा सफल हुनुमा जस्तोसुकै परिस्थितिमा पनि संविधान, ऐन, कानुनको परिधिभित्र रही आफ्नो कर्तव्य प्रति इमानदार, बफादार, अनुशासित भई लगनशीलका साथ जिम्मेवारी निर्वाह गर्नु नै प्रमुख कारण हो । नेपाली सेनाले विगतदेखि वर्तमानसम्म जनताको भावना, इच्छा र मतको कदर गर्दै जनभावना अनुसार भएका परिवर्तनलाई आत्मसाथ गरेर अगाडी बढेकोले पनि यस संस्था आफूलाई सबै दृष्टिकोणबाट अब्बल रूपमा प्रस्तुत गर्न सकेको हो ।

विभिन्न समयमा विश्वमा भएका ठूलासाना थुप्रै नेपाली सेना सहभागी भएका युद्धहरू सफल भएको इतिहास छ, नेपाली सेनासँग के त्यस्तो क्षमता छ, जसको सहभागिताले जीत सुनिश्चित जस्तै सम्भव हुन्छ ?
नेपाली सेनाको क्षमता भनेकै इतिहास कालदेखिकै राष्ट्रको स्वतन्त्र छवि, नेपाली जनताको विश्वास, राष्ट्रिय एकता, सकल सैनिकको बहादुरीपन र देशभक्तिको भावना नै हो । अनुशासित, पेसागत रूपमा क्षमतावान् सैनिकहरू नै नेपाली सेनाको मे?दण्ड हो । उनीहरूका क्षमता थप परिष्कृत पार्न नेपाली सेनालाई प्राप्त हुन सक्ने जिम्मेवारी निभाउन सक्षम तुल्याउन आवश्यक तालिम तथा बन्दोबस्ती प्रणालीलाई थप प्रभावकारी बनाउँदै आएको र भइरहेको संयन्त्रहरूलाई प्रभावकारी रूपमा परिचालन गरिएको हुँदा सेनाको मनोबल उच्च भई जस्तोसुकै परिस्थितिको सामना गर्न हरहमेसा तयार रहेको हो । राम्रो योजना र तयारी नै जितको सुनिश्चितताको कडी हो ।

हरेक ठुला बिपत्तिह?मा देखाएको तत्परताले नागरिकको मन जित्न सफल नेपाली सेनाले आगामी दिनमा कसरी नागरिकसँगको सम्बन्धलाई थप सुदृढ बनाउँदै लैजाने योजना बनाएको छ ?
प्रधान सेनापति कमान्ड मार्ग निर्देशन २०७२ ले पनि सैनिक–नागरिक सम्बन्धलाई प्रभावकारी बनाउन निर्देश गरेको छ । उक्त निर्देशनको परिधिभित्र रही सैनिक–नागरिक सम्बन्धलाई थप प्रभावकारी बनाउन विविध जनहितका क्रियाकलाप सञ्चालन गर्नुको साथै पत्रकार जगतसँग सौहार्दपूर्ण सम्बन्ध स्थापना गर्ने पहलकदमी लिइएको छ ।

सैनिक श्रोत र साधनको प्रयोग सामाजिक हितको निम्ति गैर सैनिक प्रयोजनको लागि उपलब्ध गराउनुका साथै जन आवश्यकता अनुरूप विद्यालय, बाटो, मन्दिर निर्माण तथा मर्मत जस्ता कार्यहरू पनि गर्दै आइरहेको र भविष्यमा यी कार्यहरूलाई थप प्रभावकारी बनाउँदै जनहितका नयाँ कार्यहरू अगाडी बढाउने योजना रहेको छ ।

मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता तथा अखण्डताको रक्षाको साथसाथै विकास निर्माणका काममा पनि हात हालेको छ, देशमा व्याप्त भ्रष्टाचारमा मुछिन सक्नेमा सेना कतिको सजग छ ?
सेना सजग, सतर्क र जिम्मेवार छ ।

देशमा भएका महत्त्वपूर्ण परिवर्तन, आन्दोलन तथा आन्तरिक सुरक्षामा समेत आफ्नो जिम्मेवारीलाई सकुशल पुरा गर्दै आएको नेपाली सेना अबको यस जटिल सङ्क्रमणकालीन अवस्था(संघीयता) का बिच कसरी अगाडि बढ्छ ?
नेपाल सरकारले दिएको जिम्मेवारीलाई पुरा गर्न सेना सदा झैँ तयार छ र त्यसमा देश संघीयतामा जाँदैमा फरक पर्दैन । नेपाली सेना जिम्मेवार भएर प्राप्त जिम्मेवारीलाई बहन गर्छ र सफलतासाथ पूरा गर्छ भन्ने विश्वास दिलाउन चाहन्छु ।

परिवर्तनका नाममा राष्ट्र टुक्र्याउनेसम्मका आवाजहरू पनि सुनिन थालेका छन् यस विषयमा सेना कतिको सजग छ ?
राष्ट्रिय एकता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा आँच आउन नदिन सेना सदैव सजग र सतर्क छ ।

सेना दिवस २०७४ को अवसरमा थप के भन्न चाहनुहुन्छ ?
सेना दिवसको उपलक्ष्यमा नेपाली सेनामा कार्यरत बहालवाला सकल दर्जा, अवकाश प्राप्त भू.पू. सैनिक नेपाली सेनामा कार्यरत निजामती कर्मचारी तथा सम्पूर्ण परिवारमा शुभकामना दिन चाहन्छु । साथै नेपाली सेनालाई माया गरी सधैँ साथ दिई रहने नेपाली जनता लगायत तपाई पत्रकार मित्रहरूलाई धन्यवाद । सदैव साथ पाइरहने अपेक्षा समेत गर्दछु ।

Tags :
प्रतिक्रिया दिनुहोस