चम्किलो कोट, मलिन चेहरा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चम्किलो कोट, मलिन चेहरा


१३ माघ २०७४, शनिबार


काठमाडौं । सेतो पोसाक लगाएर बिरामी हेरविचार गरिरहेका नर्सहरूको मन हिजोआज शान्त छैन । उनीहरू पेसागत सम्मान र सुरक्षा माग्दै आन्दोलित छन् । खास मुद्दाका आधारमा सडकमा ओर्लने बानी परेको नागरिक तप्कालाई किन हो, अझै उनीहरूको आवाजले छोइसकेको छैन ।

बीएस्सी नर्सिङकी छात्रा ऋचा घिमिरे भन्छिन्, ‘हामी किन बिरामी छाडेर आफ्ना लागि सडकमा आउनुपर्‍यो, बताइरहेका छौं । हाम्रो अपमान र असुविधाबारे सरकार र सरोकारवालालाई घच्घच्याउनु परिरहेको छ ।’ ऋचाको मर्कामा आइपुग्नुअघि हामी एकैछिन इतिहासतिर फर्कौं, जसले नेपाल नर्सिङ पढाइ र तालिमको विकासक्रम कहाँनेर छ भन्ने जानकारी दिन्छ ।

प्रजातन्त्र आएको दुई वर्षपछि २००९ सालमा दुई महिलालाई सरकारले भारत पढ्न पठायो । विश्व स्वास्थ्य संघ र नेपाल सरकारको संयुक्त सहयोगमा २०१३ सालमा स्कुल अफ नर्सिङ स्थापना भयो र स्वेदशमै नर्सिङ तालिम दिन थालियो । ०४२ सालमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत रहेका विभिन्न नर्सिङ क्याम्पसबाट करिब दुई हजार पाँच सय नर्सले तालिम लिएका थिए । सामान्य नर्सिङ सेवालाई विशिष्टीकरणतर्फ लेजाँदै गर्दा अहिले बढी भएको छ, नर्सको संख्या । नेपाल नर्सिङ संघका अनुसार अहिले ७४ हजार ८ सय ४० जना नर्स छन् ।

यसखालको परिस्थितिबाट सुरु भएको नर्सिङ सेवाको विस्तार र विकासले उचाइ हासिल गरेको छ तर अहिले पनि उचित शिक्षा र गुणस्तरको चुनौती बाँकी छ । नर्सिङ काउन्सिलकी अध्यक्ष गोमा निरौला शिक्षा राम्रो भए मात्र गुणस्तरीय सेवा दिन सक्ने बताउँछिन् । उनका अनुसार पाठ्यक्रम पनि पाँच-पाँच वर्षमा परिमार्जन हुनुपर्ने हो । काठमाडौंमा भन्दा बाहिर दरबन्दीको समस्या बढी छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त नर्सिङ कलेजहरूले अस्पतालबिनै पढाउन सुरु गर्दा प्राक्टिकलमा समस्या भएको बताउँछिन्, निरौला ।

‘विद्यार्थीलाई पढाएर र सिकाएर मात्र होइन, अस्पताल गएर बिरामीसँग पनि साक्षात्कार गर्न पाउनुपर्छ,’ निरौलाले थपिन्, ‘च्याउसरी उम्रेका कलेजले आफ्नै अस्पताल हुनुपर्छ भन्ने मापदण्ड अटेर गरेका छन् ।’ कलेजले अस्पताल खोले पनि बिरामी नआउँदा विद्यार्थीले व्यावहारिक अभ्यास गर्न नपाएको उनको भनाइ छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस