प्युठानले थाहा नपाएको श्रीखण्ड « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्युठानले थाहा नपाएको श्रीखण्ड


गोविन्द राज पोखरेल

११ माघ २०७४, बिहिबार


श्रीखण्ड एउटा सेमी परजीवि प्रकारको प्रजाती हो । यो खासगरी दुई प्रकारको भएको पाइन्छ । रातो श्रीखण्ड र सेतो श्रीखण्ड । श्रीखण्डको भित्री भाग (गाभ) निकै बास्नादार हुन्छ । श्रीखण्डको बैज्ञानिक नाम सान्टालुम एल्वम हो । यो बनस्पतिक परिवार भित्र सान्ताल्यासिइ प्रजाती भित्र पर्दछ । अंग्रेजीमा यसलाई स्याण्डल उड भन्दछन् ।

यसको तेलबाट बिभिन्न किसिमका सेन्टहरु बनाउन सकिन्छ । बौद्धमार्गी र खासगरी चिनियाँहरु आफनो घरको ढोकामा यसलाई राखेमा निकै शुभ सम्झन्छन् । साथै सुत्ने पलङ वा अन्य यस्तै बैठक कोठाहरुमा विभिन्न कलात्मक रुपमा सजाएर समेत राख्ने गर्दछन् । त्यसैले चिनियाँहरु श्रीखण्ड अति महङ्गो पैसा तिरेर किन्ने गर्दछन् । खासगरी रक्त चन्दन धेरै चर्चामा आउने गरेको छ, किनकी रक्त चन्दन चिल्लो र यसबाट बनाएका विभिन्न कलात्मक बस्तुहरु चर्किने र फुट्ने हुँदैनन् ।

नेपालमा रातो श्रीखण्डको बिक्रि वितरणमा प्रतिबन्ध लगाइएको भएपनि यो नेपालमा भने पाइदैन । रातो श्रीखण्ड अर्थात रक्त चन्दन दक्षिण भारतको तामिलनाडु र कर्नाटक क्षेत्रमा सिङ्गो भारतमा पाइने भन्दा ९० प्रतिशत भन्दा बढी पाइन्छ । प्युठानमा पाइने चाही सेतो श्रीखण्ड हो । सेतो श्रीखण्ड प्युठानको वडा नं १ को क्वाडीमा १.२८ हेक्टरमा प्रदर्शनीको लागि समेत राखिएको छ । उक्त क्षेत्र जिल्ला बन कार्यालय प्युठानबाट २०६४ सालदेखि संरक्षण गरिएको जिल्ला बन कार्यालयका रेञ्जर श्री हरी पौडेलको भनाइ छ ।

प्रदर्शनी स्थलमा भएका बिरुवाहरु मध्ये प्राकृतिक रुपमा उम्रेका ७५ वटा विरुवा ट्यागिङ गरिएको बताइन्छ । अहिले उक्त क्षेत्रमा नर्सरी व्यबस्थापन गरिएका र प्राकृतिक रुपमा उम्रेका विरुवाहरु भएको पौडेल वताउँछन् । उक्त स्थानमा कति विरुवा छन् भन्ने बारे गणना भने गरिएको छैन ।

प्युठानमा श्रीखण्ड २० हेक्टर बनमा फैलिएको अनुमान गरिएको छ । प्युठान नगर पालिकाको वाड नं. १, २, ३, ४, ७, माण्डवी गाउँ पालिकाको ५ रम्दी र ४ नयाँगाउ क्षेत्रमा पाइन्छ । यसैगरी स्वर्गद्वारी नगर पालिकाको भिंग्री, बेलवास, सारी, गोठीबाङ, र सरुमारानी गाउँपालिकाको बाङ्गेसालमा पनि पाइन्छ । यि क्षेत्रका किसानको जग्गा र यिनै वडाको बन क्षेत्रको जग्गामा यो फैलिएको छ ।

यो नेपालमा पाइने दुर्लभ जडिबुटी मध्ये एक हो । यो बिरुवा ३५ देखि ४० बर्षको बीचमा परिपक्क भएको मानिन्छ । यसको गाभ वा जुरोको बजार मुल्य वर्तमान अबस्थामा सात हजार देखी दश हजारसम्म प्रतिकिलो पर्ने बताइन्छ । बारीको ढीक कान्ला आदिमा पाइने यो विरुवा विशेष गरीे चुत्रो, बाँस, जेंवट, भिमल, फोस्रा, साज, बैदारा, बकाइनो, असुरो, इपिल इपिल आदिको रुखको छेउँमा पाइन्छ । यो बिरुवा बाह्रै महिना हरियो हुन्छ र कहिलै पनि सिख्रै भएर पात झर्दैन ।
हरियो पहेंलो हुँदै जाने र हरियो पात पलाउँदै जाने भएकोले पनि यसले प्रचुर मात्रामा अक्सिजन फाल्दछ । यो विरुवाको सुकेको दाउरा बाल्दा कालो धुवाँ कम निस्कने गर्दछ । यो फागुन—चैत्र र असोज—कात्र्तिकमा फुल फुल्दछ । यो बिरुवा २० मिटर अग्लो र गोलाई १.५ मिटरसम्म हुने अनुमान गरिएको छ । खासगरी यसको पाकेको फल रातो कालो हुने र चराहरुले त्यस्तो फल खाएपछि बिष्ठा गर्दा फलमा भएका गेडाहरुबाट प्राकृतिक रुपमा अरु विरुवा उम्रेको पाइन्छ ।

अहिले जिल्ला बन कार्यालय लगायत निजी क्षेत्रमा व्यक्तिहरुले नर्सरी व्यबस्थापन गरेर पनि बिक्रि बितरण गरेको पाइन्छ । नीजि स्तरमा एउटा विरुवाको मुल्य प्रति गोटा ३५० देखी ४०० सम्ममा पाइन्छ । जिल्ला बन कार्यालयले प्रति केजी आठ सय रुपैयाँ मुल्य कायम गरेको र कसैले यसको व्यवसायिक रुपमा निकासी गर्न खोजेमा आठ सय रुपैयाँको १३ प्रतिशत मुल्य अभिबृद्धि कर मात्र लिने गरेको बन कार्यालयका रेञ्जर पौडेल वताउँछन् ।

प्युठानमा श्रीखण्ड भित्रिनुमा छुट्टै इतिहास छ । साविकको दाखाक्वाडी गाबिस ३ हाल प्युठान नगरपालिका १ मा जन्मिएका श्री माथवर सिंह खत्रीले भारतबाट लिएर आएको कुरा पुर्व गाबिस अध्यक्ष चेत नाथ योगीले आफ्ना वुवासंग कुरा गर्दा सुनेको वताउँछन् । खत्रीे रोजगारीको शीलशीलामा भारतको कानपुरमा गएका थिए । उनले रोजगारी खोज्दै जाँदा एउटा ठुलो बिल्डिङमा एक जना व्यक्तिले रोजगारी दिने भएछन् । उनलाई ६ महिनासम्म सोही घर हेर्नको लागी उक्त व्यक्तिले रासन पानी किनी दिएको र बाहिर गेटमा ताल्चा लगाई बिदेशमा काम गर्न गएछन् । घरको सबै कोठाको ताला चाबी निज खत्रीलाई नै दिएर गएका रहेछन् । दुइ तीन महिना पछि उनले उक्त घरको बिभिन्न कोठा खोलेर हेर्दा एउटा कोठामा मान्छेका हाड टाउकाका खपटीहरु देखेछन् । उनले कता कता कानपुरमा मान्छेलाई पाल्ने र पछि मारेर बोसो निकालेर बेच्छन् भन्ने सुनेका रहेछन् ।

खपटी देखेपछि उनलाई डर लागेछ फलतः आफुले कम्मरमा बानेको पटुकी झ्यालमा बानेर पटुकीबाट ओर्ली घरबाट भाग्न सफल भएछन् । उनी भाग्दै गर्दा एउटा जङ्गलमा आइ पुगेछन् । त्याहाँ जङ्गल नै मगमग बसाइ रहेको थियो । नजिकै एउटा इनामेलको खाली बट्टा भेटे र त्यही इनामेलको बट्टामा दुइवटा विरुवा ल्याएर आएकोे बुवासँग कुरा गरेको सुनेको वताउँछन् चेतनाथ योगी ।

यो कुरा निज खत्रीको बुहारी चित्र बहादुरको श्रीमती ७१ बर्षिय कलि देवी खत्रीले आफुले पनि पटुकी फुकाएर भागेको कुरा सुनेको वताउँछिन् । निज खत्रीको जेठी बुहारीका अनुसार ससुराले तामिल भाषा पनि बोल्ने बताउछिन् । यसबाट पनि उनले मद्रास वा तामिल क्षेत्रबाट ल्याएको अनुमान गर्न सकिन्छ । निज खत्री क्वाडीमा जन्मेपनि पछि साविकको दाखाक्वाडी गाबिस ७ रिचीमा कोट बेसीको रुपमा बस्दै आएका रहेछन् ।

दशैंको नवमीको दिन कुल पुजा गर्नु पर्ने भएकोले कुल पुजाको लागि ल्याइएको बोकालाईसंगै भएको बकाइनो र श्रीखण्डको रुखमा टाङ राखेर काट्दा एउटा हाँगा भाँचिन पुग्यो र टाउकाको भरमा ढुङ्गामा पर्न गइ उनको त्यसै दिन बिहान मृत्यु भएको हो । उनको मृत्यु २०४०/०४१ सालतिर भएको उनका नाती अमरसिंह खत्रीले बताउँछन् । उनले आफनो मृत्युपछि एउटा रुख ढालेर मेरो शब जलाउनु भनेका रहेछन् । उनले पटक पटक यो श्रीखण्ड हो भन्दा कसैले पनि स्वीकार गर्दा रहेनछन् । उक्त बिरुवा श्रीखण्ड हो भन्ने विश्वास नगरेकै कारण पनि आफनो मृत्यु पश्चात निज खत्रीले प्रमाणित गर्न खोजेको देखिन्छ ।

खत्रीको मृत्यु पश्चात परिवारका सदस्यले सोही मुताविक २ वटा विरुवा मध्ये तेस्रो जस्तो भएर गएको बोट काटी उनको अन्तिम संस्कार गर्दा चिताबाट आएको बासना मगमग हुन थाल्यो र पछि सबैले यो श्रीखण्ड नै हो भन्ने अनुमान गरेका रहेछन् । उक्त विरुवा निज खत्रीले २००५ /००६ सालतिर प्युठानमा ल्याएको कुरा पुर्ब गृह सहायक मन्त्रि ९५ बर्षीय श्री टंक बहादुर बिष्टले बताए ।

“सो बिरुवा एउटा मलाइ लिएर लगाउनुस् भनेका थिए” तर मैले नलिएकोले आफनै बारीको ढीकमा लगाएको कुरा उल्लेख गरे । उनले भने “प्रते शाही बडाहाकिम भएर आउँदा उनले कलकत्ताबाट अचार खान चरि अमिलो ल्याएर १० गाउँमा फैलाए । बालीलाई नोक्सानी पारे लालबहादुर खत्रीको छोरा माथवर सिंह खत्रीले २ वटा श्रीखण्ड ल्याएर धेरै प्युठानीलाई करोडौंको मालिक बनाए” ।

श्रीखण्डलाई विशेष गरी चन्दनको रुपमा मात्र प्रयोग गर्ने गरी तिर्थबाट आउँदा सानो टुक्रा लिएर आउने गरेको कुरा बुढापाकाहरु वताउँछन् । तर अहिले भने प्युठानमा आउनेहरुलाई कोसेलीका रुपमा श्रीखण्डको टुक्रा वा बेर्नाहरु उपलव्ध गराउने गरिन्छ ।

सेतो श्रीखण्ड नेपालमा प्रतिबन्धित छैन । श्रीखण्डलाई औषधीको रुपमा पनि प्रयोग गर्ने गरिएको छ । उच्च रक्तचाप हुनेहरुका लागि निधारमा लेपन गर्नाले रक्त चाप नियन्त्रण हुने बताइन्छ । साथै यसको चन्दन मात्रा मिलाएर खाएमा पनि उच्च रक्तचाप नियन्त्रण हुने समेत भनाइ छ । मुखमा आएका डण्डिफोर कालो पोतो आदिको लागी पनि यसको लेपन गरी सुत्ने र बिहान उठी मनतातो पानीले मुख धोएमा बिबिरा, घाउ, कालोपोतो हराउने बिश्वास गरिन्छ । एन्टीसेप्टीक, ग्यासट्राइटिस, दम, खाना पचाउने, रगत सुद्धिकरण, पखाला आदिको लागि पनि यसको प्रयोग गरिएको पाइन्छ ।

यो जुनसुकै ठाउँ र क्षेत्रमा हुर्कन सक्ने देखिदैन । जसको उदाहरण प्युठानको गौमुखी गाउँपालिका खुङका चुमान गिरीले जिल्ला बन कार्यालयबाट एक सय ५० बिरुवा लिएर आफनो बारीमा लगाए तर बिरुवा जगाउन नसकेको गिरी वताउँछन् । निज चुमान गिरी हुम्ला जिल्लाको कृषि बिकास कार्यालयमा प्रासको पदमा कार्यरत रहँदा पुर्व पर्यटन मन्त्रि एवं हाल प्रदेश सभाका सदश्य जीवन बहादुर शाहीले अनुरोध गरेकोले हुम्लामा उक्त विरुवा लिएर गएकोमा जगाउन नसकेको वताउँछन् ।

श्रीखण्डको तेलबाट बिभिन्न सुगन्धयुक्त चिज बनाउन सकिने र कस्मेटिकको लागि महँङ्गो रुपमा विक्रि गर्न सकिने भनाइ छ । यसको पात र यसको काठको धुलोबाट अगरबत्ति समेत बनाउन सकिन्छ पनि भनिन्छ । अहिले बजारमा श्रीखण्ड साबुन, श्रीखण्ड अगरबत्ति, श्रीखण्ड तेल खानामा श्रीखण्ड लड्डु, श्रीखण्ड रेसिपी र गुजराती श्रीखण्ड मिठाइ पनि बनाउने गरिन्छ ।

“जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिंड” भन्ने उखान टुक्काबाट हेर्ने हो भने श्रीखण्ड सबैका घरघरमा हुनु पर्ने हो । जसरी तुलसीलाई परिभाषा गर्दा जहा घर त्याँहा मठ, जहा मठ त्याँहा तुलसी भन्ने गरिन्छ । तुलसी करिब सबै नेपालीको घरमा पाइन्छ तर श्रीखण्डको संरक्षण, सम्बर्धन र बिकासको लागि भने नेपालमा त्यति चासो राखेको पाइदैन ।

नेपालमा खासगरी गोरखा, गुल्मि, पाल्पा म्याग्दीमा पाइनसक्ने कुरा जिल्ला बन कार्यालय प्युठान बिजुवार शाखाका सहायक बन अधिकृत हेम राज शाही वताउँछन् । श्रीखण्डको व्यापकतालाई बिचार गरी जिल्ला बन कार्यालयले नर्सरीमा विरुवा उत्पादन गरीे नेपालका बिभिन्न क्षेत्रमा वितरण गरेको कुरा उल्लेख गरेको छ ।

श्रीखण्ड संरक्षण सम्बर्धनको निमित्त समेत प्युठान नगर पालिकाबाट २ नं वडालाई हरियाली वडा बनाउने कुरामा नगर परिषदबाट नितिगत निर्णय भएको कुरा २ नं. वडाका अध्यक्ष खिम बहादुर बिष्टले वताए । श्रीखण्डको बिकासको लागि अबलोकन भ्रमण, नर्सरी व्यबस्थापन तालिम, श्रीखण्डको परिचयात्मक ब्रुसीयर, नर्सरी व्यबस्थापन, बिरुवा रोपण गर्ने जस्ता कार्य गरेकोे कुरा जिल्ला बन कार्यांलयका प्रमुख प्रबिण गिरीले बताए । तर प्रभावकारीता भने खासै देखिएको छैन ।
श्रीखण्डको प्रचार प्रसार बजारको व्यबस्थालाई समेत सबै तर्फबाट ध्यान दिनु पर्ने कुरा तर्फ इंगित गर्दै समाजसेवी टंक बहादुर बिष्ट भन्छन् “प्युठान नारीकोटका अमृत थापाले आफनी श्रीमती तर्फ देखाउदै भन्थे थाहा पाउली भनेर थापाकी छोरी बिहे गरेँ तर उसले थाहै पाउन सकिन भन्दथे । प्युठानको श्रीखण्ड पनि त्यस्तै भएको छ ” यस बर्ष पनि झण्डै २५ लाख बराबरको प्रस्ताब प्युठान नगर पालिकामा पेश गरेको जिल्ला बन कार्यालयको भनाइ छ । तर प्युठानको आन्तरिक एवं राजश्व बृद्धिको लागि प्रचुर मात्रामा आम्दानीको श्रोत हुने श्रीखण्डको न त सरकारले व्यबस्थित रुपमा यसलाई अगाडि बढाउन सकेको न त प्युठानले नै थाहा पाउन सकेको छ । यसबाट प्रचुर आम्दानी गर्ने र श्रीखण्ड पर्यटकीय क्षेत्र कसरी बनाउन सकिएला भन्नेतर्फ सबैको चासोको बिषय बन्नु पर्ने हो ।

[email protected]

Tags :
प्रतिक्रिया दिनुहोस