डेढ सय पूर्वसांसदले बुझाएनन् रातो पासपोर्ट « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

डेढ सय पूर्वसांसदले बुझाएनन् रातो पासपोर्ट


१० माघ २०७४, बुधबार


काठमाडौं । अघिल्लो संसद् सकिएको १०१ दिन पुग्दा पनि तत्कालीन १५५ सांसदले कूटनीतिक पासपोर्ट अझै फिर्ता गरेका छैनन् । संसद्को कार्यकाल सकिएको एक साताभित्रै त्यस्तो पासपोर्ट फिर्ता गर्नुपर्ने कानुन छ । पूर्वसांसदले प्रयोग गरेका ४९८ मध्ये ३१२ मात्र रातो पासपोर्ट फिर्ता भएका छन् । तर, मन्त्री पनि नरहेका १५५ सांसदले पासपोर्ट फिर्ता गरेका छैनन् । मन्त्रीमा बहाल रहेका पूर्वसांसदले भने तत्काल पासपोर्ट फिर्ता गर्नुपर्दैन ।

संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐनको दफा ७ को ३ मा रहेको यो व्यवस्थाले संसद्का पदाधिकारी सभामुख, विपक्षी दलको नेता, सत्ता पक्षको नेता, सत्ता पक्षको मुख्य सचेतक र संसदीय समिति सभापतिले प्रयोग गर्दै आएको सवारीसाधन तथा सोही ऐनमा सदस्यसमेतले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी फिर्ता गर्नुपर्ने उल्लेख छ । संसद् सचिवालयबाट प्रयोग हुँदै आएको २५ मध्ये ६ वटा गाडी संसद सकिएको सात दिनभित्रै फिर्ता भएको थियो । १९ वटा गाडी निकै पछि पूर्वसांसदले बुझाएका थिए ।

सचिवालय आएर २८६ फिर्ता, विभागबाट २४

संघीय संसद् सचिवालय उच्च स्रोतका अनुसार सांसदहरूले सचिवालय पुगेर २८६ वटा रातो पासपोर्ट फिर्ता गरेका छन् । २४ सांसदले भने ३ माघसम्म राहदानी विभाग पुगेर रद्द गराई सचिवालयलाई जानकारी गराएका छन् । पासपोर्ट रद्द गर्न सांसदले बुझाएको दुईवटा पासपोर्ट भने अहिले संघीय संसद् सचिवालयमा प्रक्रियामा रहेको छ । पूर्वसांसदले आफूले प्रयोग गरेको रातो पासपोर्ट रद्द गर्न संसद् सचिवालयमा बुझाउनुपर्नेछ । पूर्वसांसद आफैँले राहदानी विभागमा गएर रद्द गर्नसमेत सक्नेछन् । सचिवालयका अनुसार हाल सरकारमा रहेका मन्त्रीहरूले भने मन्त्री पदमा बहाल रहुन्जेल रातो पासपोर्ट प्रयोग गर्न पाउनेछन् । बहालवाला मन्त्रीले रातो पासपोर्ट प्रयोग गरे–नगरेकोबारे सचिवालयलाई जानकारी नहुने एक कर्मचारीले बताए ।

ल्यापटप र पुस्तकसमेत फिर्ता गरेनन् सांसदले

संघीय संसद् सचिवालयअन्तर्गत जिन्सी स्टोर शाखाबाट संसद्का पदाधिकारीले ५६ वटा ल्यापटप प्रयोग गरेका थिए । जसमध्ये अझै ३० वटा ल्यापटप फिर्ता गर्न बाँकी छ । स्रोतका अनुसार संविधानसभाको पहिलो कार्यकालमा संसद् पदाधिकारी भएका १० जनाले ल्यापटप फिर्ता गरेका छैनन् । ‘सचिवालयबाट ५६ वटा ल्यापटप गएको रेकर्ड छ । जसमध्ये अझै ३० वटा फिर्ता हुन बाँकी छ । २६ जनाले भने फिर्ता गरे,’ सचिवालयका एक कर्मचारीले भने ।

संसद् सचिवालयअन्तर्गतको पुस्तकालयबाट लगेका पुस्तकसमेत केही सांसदले फिर्ता गरेका छैनन् । संसद्को अनुसन्धान तथा पुस्तकालय शाखा प्रमुख कमलादेवी शर्माले पूर्वसांसदले पुस्तक फिर्ता गर्नेक्रम जारी रहेको बताइन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस