महासमिति फागुनमाः नेतृत्वले महाधिवेशन नबोलाउने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महासमिति फागुनमाः नेतृत्वले महाधिवेशन नबोलाउने


१७ पुस २०७४, सोमबार


काठमाडौं । कांग्रेसका युवा नेताहरूले महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नुपर्ने माग गरे पनि पार्टी सभापति शेरबहादुर देउवालगायत केन्द्रीय नेताहरू नेतृत्व छाड्ने पक्षमा देखिएका छैनन् । निर्वाचन परिणामपछि युवा नेताहरूले समीक्षाका क्रममा दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण नभएसम्म कांग्रेसले राष्ट्र र देशवासीको आकांक्षा सम्बोधन गर्न नसक्ने निष्कर्षमा पुगेका छन् ।

युवा नेताहरूको औपचारिक/अनौपचारिक छलफलले सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पुरानो पुस्ताले बिदा लिएर पार्टीमा नयाँ ऊर्जा प्रवाह गर्नुपर्ने बताउँदै आएका छन् । पराजयको कारण खोजेर पार्टीलाई थप ऊर्जासहित अघि बढाउनुपर्ने सभापति देउवा पक्षको तर्क छ भने युवा नेताहरू नेतृत्व नै परिवर्तन गर्नुपर्ने पक्षमा छन् ।

विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षमा रहेका युवा नेता चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा, गगन थापा, गुरुराज घिमिरे र प्रदीप पौडेल लगायतले कांग्रेस बचाउन विशेष महाधिवेशन माग गरिरहेका छन् । युवा नेतृत्वले चुनावमा पार्टी पराजित हुनाका कारण प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग, लोकमानविरुद्धको महाभियोगका पक्षमा लाग्नु, आईजीपी प्रकरण, आर्थिक लाभ लिएर राजदूत नियुक्ति, भारतीय नाकाबन्दीलगायत मुद्दामा नेतृत्वको मौनता नै रहेको निष्कर्ष निकालेका छन् । देउवा पक्षले युवा नेताहरूले गर्दै आएको महाधिवेशनको माग विफल पार्न बालकृष्ण खाँड, डा. प्रकाशशरण महत, महेन्द्र यादव, मीनबहादुर विश्वकर्मा लगायतलाई परिचालन गरेको कांग्रेस स्रोत बताउँछ ।

युवा नेता भण्डारीले पार्टीमा व्यापक शुद्धीकरणबिना कांग्रेसले देश र जनताको नेतृत्व गर्न नसक्ने बताए । उनले भने, ‘हामी अभियानबाट पछि हट्दैनौं। हाम्रो अभियान बीपी कोइरालाले स्थापना गरेको कांग्रेसलाई राज्य सञ्चालनको नेतृत्वमा फेरि फर्काउनु हो ।’ उनले अभियान सत्ता प्राप्ति वा नेतृत्व हडप्न नभएको बताए । ‘कांग्रेस चुनावमा हार्नुको कारण प्रधानन्यायाधीश कार्कीविरुद्ध महाभियोग, लोकमानविरुद्ध महाभियोगको पक्षमा लाग्नु, आईजीपी प्रकरण, आर्थिक लाभ लिई राजदूत नियुक्ति र भारतीय नाकाबन्दीमा नेतृत्वको मौनता भएको निष्कर्षमा पुगेका छौं’, उनले भने । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस