जगतमानको ट्राफिक अनुभवः ‘सहन सक्ने खुबी हुन्छ तर, आत्मग्लानी भइरहेको हुन्छ’ « प्रशासन
prasaLogo
१० पुष २०७४, सोमबार

जगतमानको ट्राफिक अनुभवः ‘सहन सक्ने खुबी हुन्छ तर, आत्मग्लानी भइरहेको हुन्छ’


प्रकाशित मिति : 25 December, 2017 7:01 am

जगतमान श्रेष्ठ नेपाल प्रहरीका पूर्वप्रहरी उपरीक्षक हुन् । श्रेष्ठले तीन दशक लामो ट्राफिक प्रहरीको जागिरबाट अनिवार्य अवकास लिएको धेरै भएको छैन । उनी हुँदा देखिको ‘सडक सुरक्षा र दुर्घटना’को विषय अहिले पनि जस्ताको त्यस्तै छ अझ भन्नुपर्दा जोखिम झन् बढ्दै गइरहेको छ ।

खेलकुदमा समेत रुचि राख्ने जगतमानले जागिरकै दौरान ट्राफिक सम्बन्धी तालिमका क्रममा दर्जनौं देशहरु घुमेका छन् । संयुक्त राष्ट्र संघमा समेत काम गरेको अनुभव छ उनीसंग । यस अर्थमा भन्नुपर्दा श्रेष्ठ नेपालका लागि ट्राफिक व्यवस्थापनका ज्ञाता नै मानिन्छन् । रेडियो, टेलिभिजन देखि पत्रपत्रिकाहरुमा ट्राफिक सम्बन्धी कुरा गर्नुपर्यो भने उनको नाम आइहाल्छ । ३० वर्षे जागिरे जीबनको अनुभव कस्तो रह्यो ? विकसित मुलुकको ट्राफिक व्यवस्थापन र नेपालको समस्या लगाएत विषयमा उनीसंग प्रशासन डटकमका एस राज उपाध्यायले गरेको कुराकानी ।

कति सालमा जागिर सुरू गर्नुभयो यहाँले ?
मैले वि.सं. २०४३ सालमा जागिर खाएँ । २०७३ सालसम्म ३० वर्ष पुर्याएर अहिले रिटायर्ड लाइफ बिताउँदै छु ।

यहाँको अधिकांस समय के मा बित्यो ?
मेरो धेरै जसो समय ट्राफिक पुलिसमा तालिम र काम गरेर नै बित्यो ।

जागिरको दौरानमा नेपालको कुन कुन ठाउँमा पुग्नु भयो त ?
म धेरै जसो त महानगरीय ट्राफिक पुलिस बग्गिखानामा बसेँ । त्यसपछि ‘हाइवे ट्राफिक’मा पनि बसे । जिल्ला ट्राफिकहरूमा पनि बसे । नेपालमा मात्रै नभएर म युएन मिसनमा जाँदाखेरी पनि ट्राफिक पुलिस भएरै काम गर्ने मौका पाएको थिए । त्यसैले यसैमा नै अलिकति बढी अनुभव भयो ।

धेरै देशहरुमा ट्राफिक तालिमका लागि पुगेँ भन्नुभयो । यूएनमा त कामै गर्नुभएछ, त्याहाँ सिकेको कुरालाई नेपालमा कतिको लागु गर्न सक्नुभयो त ?
बाहिरबाट तालिम गरेर आएपछि यहाँ केही काम चाहिँ गर्यौं । हाम्रो स्रोत साधन, अवसर तथा बातावरणले भ्यायसम्म केही कुरा लागु गर्न सकियो । विशेष गरेर स्वीडेनबाट ६ महिने तालिम लिएर आइसकेपछि ‘रोड सेफ्टि’को हकमा केही काम गर्न सकियो । हाइवेदेखि यहीँका पैदल यात्रुको सुविधाको लागि पनि र अरू काम पनि भए । मुख्य कुरा स्रोत साधनमा पनि भर पर्ने भएकोले सक्नेजतिसम्मका काम गरियो ।

देश विदेशको तालिमको अनुभवलाई यदी फुल जिम्मेवारीका साथ कार्यान्वयन गर्ने अवसर पाउनु भयो भने कहाँबाट सुरु गरेर कहाँसम्म लगेर टुङ्ग्याउनुहुन्थ्यो ?
कुनै पनि काम सुरू गर्दा म फुटपाथबाट सुरू गर्छु । फुटपाथबाट सुरू गरेपछि मैले फ्लाई ओभरमा गएर अन्त्य गर्थे जस्तो मलाई लाग्छ ।

ट्राफिक अस्तव्यस्तताले गाँजिएको काठमाडौं उपत्यकाको हकमा कसरी काम गर्नुहुन्थ्यो ?
जहाँ फुटपाथ छैन । पैदल यात्रुलाई सुविधा छैन । पहिला त त्यस्तो ठाउँमा पैदल यात्रुकालागि सहज बनाउनतिर लाग्छु । पैदल यात्रुलाई म्यानेज नगरी गाडी म्यानेज गर्न सकिदैन । किनभने पैदल यात्रुले फुटपाथमा हिड्न पाएन भने बाटोमै हिड्छन् । जब पैदलयात्री बाटोमा बाटोमा हिड्छन् तब सडक साँघुरो हुँदै जान्छ । सडक साँघुरो भएपछि दुवै तर्फको सडक जाम हुने नै भयो । त्यसैले पैदल यात्रुबाटै सुरू गर्नुपर्छ । पैदल यात्रुलाई सुविधा दिइसकेपछि मात्रै अरू कुरा आउँछन् भन्ने लाग्छ ।

पैदल यात्रु पछि सवारी साधनमा ध्यान दिन्थेँ । त्यसमा कुन सवारी साधनलाई प्राथमिकतामा राख्न भनेर बर्गिकरण गर्नुपर्छ । त्यसमा पनि सार्वजनिक सवारी साधनलाई प्राथमिकता दिनुपर्छ र त्यसपछि मात्र अन्य सवारी साधन आउँछन् । जबसम्म सार्वजनिक सवारी साधन राम्रोसँग व्यवस्थित गर्न सकिँदैन तबसम्म प्राइभेट गाडी नचढ, नल्याउ, मोटरसाइकिल नचढ भन्न सकिँदैन ।

बिदेशतिर आफ्नो गाडि लगेर निश्चित ठाउँमा पार्किङमा राख्छन् । अनि सार्वजनिक सवारी साधन चढेर जान्छन् । ‘पार्क एण्ड वाक’ हुन्छ । पार्किङ गरेर हिँडेर जाऊँ भन्ने हुन्छ । त्यस्तो व्यवस्था गरिएको ठाउँमा निश्चित ठाउँसम्म मात्रै गाडि लान मिल्छ त्यहाँबाट अगाडी मिल्दैन ।

नेपालमा पनि त्यो सिस्टमको पनि विकास गर्नुपर्छ । जस्तो न्यूरोड जानु छ भने टुँडिखेलसम्मको स्थानमा पार्किङ गर्ने ब्यवस्था गर्नुपर्यो र जहाँबाट दुई पाँच मिनेटको वाकिङ डिस्ट्यान्समा न्यूरोड पुगिन्छ । तर, १५/२० मिनेट नै हिड्न त गाह्रो हुन्छ नी । यदि थोरै टाढा भयो भने ट्रेन राखिदिनुपर्ने हो की अथवा अन्य केही ब्यवस्था गर्ने हो त्यो गर्न सकिन्छ ।

‘पार्क एण्ड वाक’ र ‘पार्क एण्ड राइड’लाई पनि प्राथमिकतामा राखेर मान्छेलाई बिस्तारै बुझाउँदै र बानी बसाल्न सकियो भने धेरै समस्या समाधान हुन्छ । त्यो किसिमको सुविधा दिनु पर्छ जस्तो लाग्छ मलाई ।

जागिरे जीबनका दौरानमा कति देश पुग्नुभयो ?
संसारका तीस भन्दा मुलुक त पुगेँ होला । तालिमकै लागि पनि म छ÷सात ओटा देश गइसकेको छु । जसमा स्वीडेन, डेनमार्क, साउथ अफ्रिका, जाम्बिया, भारत, चाइना लगाएतका देशहरुमा मैले तालिम नै गरेको छु । त्यसबाहेक जागिरको दौरानमा दुइ पटक यूएन मिसनमा गएँ । म नेपाल पौडी संघको महासचिव पनि भएकोले त्यस दौरान बिभिन्न सेमिनारहरुका लागि धेरै देश पुगेँ ।

यस दौरानमा सबैभन्दा ‘उत्कृष्ट ट्राफिक व्यवस्थापन’ भएको देश कुन लाग्यो त ?
सबैभन्दा उत्कृष्ट ट्राफिक व्यवस्थापन भएको देश स्वीडेन, डेनमार्क र नर्वे नै हुन् । रोड सेफ्टिदेखि ट्राफिक व्यवस्थापनको हिसावले यि तीन देश उत्कृष्ट पाएँ । स्वीडेनको उदाहरण हेर्ने हो भने त्याहाँ लागु गरिएको भिजन जिरो रणनीतिले त सवारी दुर्घटनालाई उल्लेख्य रुपमा न्युन गरेको छ ।

स्वीडेनमा धेरै समय बसेकोले त्यहीको एउटा उदाहरण भन्न चाहन्छु । त्यतिखेरको स्वीडेनको जनसंख्या ९५ लाख थियो । ५५ लाख सवारी साधन थियो । डेढ ब्यक्तिलाई एउटा जस्तो पर्थ्यो । तर पनि त्यहाँ दुर्घटना वार्षिक तीन/चार सय हुन्थ्यो देशभरीमा । उनीहरूले रोड सेफ्टिलाई एकदमै सिरिएस रूपमा लिन्छन् । रोग भन्दा पनि ठुलो रूपमा लिन्छन् । त्यसैले त्याहाँ सडक दुर्घटना अत्यन्तै न्यून भएको छ । हाम्रो नेपालमा हेर्नुहोस् त यति थोरै सवारी साधनमा यत्रो दुर्घटना हुन्छ । यो त बिडम्बना नै भन्नु पर्छ ।

स्वीडेनको सरकार कसरी यो अवस्थामा पुग्न सफल भएको रहेछ, यसबारे केही कुरा थाहा पाउने प्रयास गर्नुभएको थियो तपाइले ?
पहिलो कुरा रोड इन्जिनियररिङ् पार्टमा असाध्यै सिरिएस हुन्छन् उनीहरू । गाडी ठोक्किने सम्भावित ठाउँको यति सुक्ष्म अध्ययन गर्छन् की तालिमका क्रममा डमि चालक राखेर गाडी प्रत्यक्ष पल्टायर यसरी यो क्षति हुन्छ भनेरसम्म देखाए । फिल्डमै लगेर हरेक दिन व्यवहारिक अभ्यास गराएर सिकाउथे । तालिममा त त्यत्रो खर्च गर्छ भने उनीहरूले आफ्नो देशको नागरिक बचाउनको लागि कति खर्च गर्छ होला !

तालिममा यति धेरै होमवर्क दिन्थे कि, कहिले काहीँ त रातभरी सुत्न पाइन्थेन । फेरी बिहान आठ बजे क्लास गइहाल्नु पथ्र्यो । भनेको उनीहरू रोड सेफ्टिको लागि अति सुक्ष्म अध्ययन गर्छन् । सवारी साधनको बनोट देखि लियर जेब्राक्रसिङ कस्तो हुनुपर्ने ? बत्ति कसरी बल्नु पर्छ ? कस्तो ठाउँमा गाडी रोक्नेसम्मको अध्ययन गरिन्छ । जस्तोः हाम्रो नेपालमा बसमा चढ्दा उक्लिनु पर्छ र झर्दाखेरी एकै चोटी खाल्डामा पर्छौं तर त्यहाँ पेटी र बस बरावर हुन्छ । उक्लिनै पर्दैन सरलक्क जानु पर्छ । र, झर्दा पनि । बाटो र गाडीको डिजाइन मिलाइएको हुन्छ ।

ट्राफिक दुर्घटना न्यून भएका देशहरुमा जस्तो ‘सवारी साधन र सडक’ दुबैलाई मिलाउन सकिने सम्भावना नेपालमा कतिको देख्नुहुन्छ ?
अहिले नै म देख्दिन । अरू मुलुकमा पनि छन् तर, स्वीडेन, डेनमार्क र नर्वे जस्तो सुविधा चाहिँ छैन । यि देशहरुमा त सार्वजनिक सवारी साधनहरू हेरेर घडी मिलाए हुन्छ । यति बजे यो गाडी यहाँ आइपुग्छ भनेपछि गाडी ठ्याक्क त्यति नै मिनेटमा त्यहाँ आइपुग्छ । सार्वजनिक सवारी साधन त्यति पर्फेक्ट टाइममा हिड्छ भने अरू सुविधा र त्यो भित्रका कुरा सेफ्टिका कुराहरू त छोडी दिउ न !

‘जिम्मेवार सरकार’ संगसंगै नागरिकको चेतनास्तर पनि त्यही अनुशार होला नि हैन ?
त्यो त संगसंगै लानुपर्छ । नागरिक चेतना भएर नै यो सब हुने त हो । बच्चा जन्मिँदा देखि नै सबै कुराहरु सिकाउँदै लगेको हुन्छ । त्यहाँ गल्ति गर्यो भने लाइफै गयो नि त । कानुन पनि त कडा छ नि । मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको देख्यो भने उसको लाइसेन्स नै रद्द गरिदिने कडा कानुन छ । हाम्रो त सबै भद्रगोल नै भद्रगोल छ । कताबाट सुरू गर्ने भन्ने कुरा नै गारो छ ।

जीवनको उर्जावान समयको लामो हिस्सा ट्राफिक प्रहरी मै बित्यो । तितो मिठो कस्तो रह्यो अनुभव ?
आ दुबै रह्यो । वास्तवमा बाटो बढाउन ट्राफिक पुलिसले सुरू गरेको थियो । अहिले ठ्याक्कै ठाउँकै नाम त नभनौं तर कतिपय ठाउँमा मेरै योजनामा बाटो बढेका छन् । अहिले त्यो देख्दा मलाई आनन्द लाग्छ ।

राम्रो काम गर्दा गर्दै पनि राजनीतिक दबाब दिने । आन्तरिक कार्यमा बाहिरिय शक्तिले डोमिनेट गर्ने । राम्रो गर्न खोज्दाखोज्दै पनि कतिपय ठाउँमा उल्टै माफि माग्नु परेको अवस्था सम्झिँदा दुःख लाग्छ ।

राम्रो काम गर्दागर्दै पनि माफि माग्नु परेको कुरा गर्नुभयो । कुनै एउटा उदाहरण भनिदिनुहोस् न ?
एक पटक ट्राफिक नियम मिचियो भनेर मैले झण्डावाला गाडीलाई रोकेको थिए । पछि आइजीपीलाई भनेर घरमै गएर माफि माग भनियो । ट्राफिक नियम पालना गराउँदा उल्टै घरमा गएर माफि माग्नु पर्यो । अहिले उहाँको नाम भन्नु उपयुक्त नहोला । त्यस्तो बेला आत्मग्लानी हुन्थ्यो तर पनि म हिम्मत नहार्ने स्वभावको भएको कारणले आफ्नो काममा निरन्तरता दिए । यस्ता घटना धेरै छन् । ति सम्झिँदा चाहिँ दुःख लाग्छ ।

यहाँले दबाबको कुरा गर्नुभयो । खासगरी ट्राफिक प्रहरीलाई कस्ता–कस्ता खाले राजनीतिक दवाव आउँछन् ?
ट्राफिक नियम पालना गराउन खोज्दाखेरी नगराउँ भन्ने आउँछन् । गल्ति गरेकोलाई कारबाही नगर भन्छन् । ‘वन–वे’ लाई ‘टु–वे’ सडक बनाइदिनुहोस् भन्छन् । यो एकदम जाम भयो यसलाई ‘वन–वे’ बनाइदिनुहोस् भन्छन् । ‘वन–वे’ लाई ‘टु–वे’, ‘टु–वे’ लाई ‘वन–वे’ बनाउने काम ट्राफिक पुलिसको होइन । तर, हाम्रो नेपालमा ट्राफिक पुलिसले जे गर्यो त्यही भइरहेको छ । अरूलाई वास्तै छैन ।

अहिले पनि दबाब त आइरहन्छ होला । नचाहिँदो राजनीतिक दबाबका बीच ट्राफिक पुलिसले कसरी काम गर्ने त, के छ यहाँको टिप्स ?
हामी अनुशासित संगठन भएकोले आफुभन्दा सिनियर, चाहे आफ्नै र्याङ्कको किन नहोस् उसले भनेको मान्नु पर्नेहुन्छ । ठुल–ठुला अफिसरहरूलाई पनि राजनीतिक दबाब म्यानेज गर्न गाह्रो पर्छ । त्यसलाई म्यानेज गराउनको लागि पनि कतिपय कुरा सहन पर्ने अवस्था हुन्छ । ठिकै छ भनेर सहने बानी पनि हुन्छ हाम्रो ।

सहन पर्ने बानी र सहन पर्छ भन्ने सिकाइएको हुनाले पनि अलिकति सहज हुन्छ । जस्तोः जनताले ढुंगा हान्यो भने हाम्रो हातमा त बन्दुक हुन्छ तर गोलि हान्न त भएन नी । जबसम्म कमाण्डरले हान भन्दैन तवसम्म आफ्नै टाउँको फुटे पनि गोलि हान्दैनौं नि । ट्राफिक पुलिसमा पनि त्यही नै हो । हामीसंग सहन सक्ने खुबी हुन्छ तर, आत्मग्लानी चाहिँ भइरहेको हुन्छ ।

३० वर्षे जागिरे जीबनका दौरानमा के लिन सकेँ के दिन सकेँ जस्तो लाग्छ ?
गुनासो गर्ने कुनै पनि ठाउँ छैन । मसँगै पढेका कोही साथीहरू अहिले पनि गाउँमा हलो नै जोतिरहेका छन् । केही गर्न सकेन भनेर दुःखी भएका छन् । गाउँमै गाइ, भैसी चराइरहेका छन् । यसरी मिडियामा आएर मेरा साथीले त अन्तर्वार्ता दिन पाएका छैनन् नि ! म पढेँ । पुलिसमा जागिर खाएर यहाँसम्म त आइ पुगेँ नि । मेरा लागि यो गर्वको कुरा हो । नेपाल पुलिसले मलाई बनाएको हो । यसमा मलाई गर्व लाग्छ ।

जगतमान श्रेष्ठ भनेपछि दुई/चार जनाले भएपनि चिन्छन् तर मेरो साथीलाई त चिन्दैनन् नी त । मैले राज्यलाई केही दिए पनि होला । मबाट केही राज्यले लियो पनि होला । मैले दिँए भन्दा पनि मैले पाएँ भन्छु म ।

आज जगतमान श्रेष्ठ हुन पाएको छु सबै भन्दा ठुलो कुरा यही नै हो । देश विदेश घुम्ने र दुई चार पैसा जोहो गर्ने मौका पाएको छु । मेरो क्यारियर राम्रो भयो । नेपाल आमालाई कति दिन सकेँ, कति सकेन त्यो नेपाल आमाले हेर्ने कुरा हो । राज्यप्रति मेरो गुनासो छैन ।

सारमा भन्नुपर्दा जीवन के रहेछ त ?
एउटा यात्रा हो । कुनै बिन्दु तोकिएको छ । जीवनको लक्ष्य यो हो भन्ने मलाई थाहा छैन । यो भोलि टुंगिन्छ नै । हिडिरहनु पर्छ । कहिले उकालो त कहिले ओरालो हुन्छ । कहिले खोला तर्नुपर्छ । कहिले ढुंगा गिट्टीमा हिड्नु पर्छ । कहिले रूख ढल्छ बाटो छेकिन्छ । यात्रालाई सहजरूपमा स्विकार्नु पर्छ । कहिले घोडा चढ्नुपर्छ, कहिले रेल चढ्नुपर्छ ।

र यो पनि,

ट्राफिक व्यवस्थापन राज्यको प्रायोरिटीमा नपरेसम्म सुध्रिँदैन

सडक सुरक्षा राज्यको प्राथमिकतामा परेन

ट्राफिक प्रहरीलाई कन्ट्रोल गर्ने मेकानिजम बलियो हुनुपर्छ

Tags :
प्रतिक्रिया दिनुहोस