थाइल्याण्ड–नेपाल संयुक्त आयोगको पाँचौँ बैठक शीघ्र हुने थाइ राजदूतको अपेक्षा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

थाइल्याण्ड–नेपाल संयुक्त आयोगको पाँचौँ बैठक शीघ्र हुने थाइ राजदूतको अपेक्षा


प्रशासन विशेष ब्युरो

२९ मंसिर २०७४, शुक्रबार


काठमाडौँ । नेपाल र थाइल्याण्डबीचको बहुआयमिक सम्बन्धलाई थप सुदृढ तुल्याउन दुवै मुलुकबीच सचिवस्तरमा स्थापना भएको संयुक्त आयोगको बैठक शीघ्र हुने अपेक्षा थाइ राजदूतले व्यक्त गरेका छन् ।

नेपाल विश्वसम्बन्ध परिषद्ले आज ललितपुरमा आयोजना गरेको ‘थाइल्याण्ड-नेपाल सम्बन्ध’ विषयक प्रवचनमा नेपालका लागि थाइल्याण्डका राजदूत भाकभत तान्सकुलले विविध कारणले विगत १३ वर्षयता संयुक्त आयोगको पाचौं बैठक हुन नसकेको बताउँदै उक्त बैठक चाँडै हुने आशा व्यक्त गरे ।

नब्बे प्रतिशत बौद्धधर्मावलम्बी जनसंख्या रहेको थाइल्याण्डका जनताले बुद्धको पूजा गर्दासमेत ब्राम्हणबाट गणेश, शिव र विष्णुको पूजा गर्ने चलन रहेको रोचक प्रशंग सुनाउँदै उनले थाइल्याण्ड र नेपालमा हात जोडेर अभिवादन गर्ने समान परम्परा रहेको चर्चा गरे ।

गौतमबुद्धको जन्मभूमि लुम्बिनी थाइल्याण्डका नागरिकका लागि प्रमुख तीर्थस्थल बनेको बताउँदै उनले धार्मिक पर्यटन प्रवद्र्धनसँगै द्विपक्षीय दौत्य सम्बन्धलाई अझ सुदृढ तुल्याउन बल मिलेको वास्तविकता सुनाए ।

सन् २०१६ मा ४० हजार नेपाली थाइल्याण्ड भ्रमणमा गएका र त्यहाँबाट पनि लगभग त्यति नै थाइ नागरिकले नेपाल भ्रमण गरेका जानकारी उनले दिए ।

कृषि प्रविधि, पर्यटन प्रवद्र्धन, प्रविधि हस्तान्तरणका माध्यमबाट थाइल्याण्डले नेपालको सामाजिक–आर्थिक उन्नयनमा सघाउन चाहेको स्पष्ट गर्दै राजदूत तान्सकुलले सफलतापूर्वक निर्वाचन सम्पन्न भएको र त्यसले राजनीतिक स्थायित्वसँगै विदेशी लगानी भित्रने वातावरण निर्माणमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

थाइल्याण्ड र नेपालबीचको राजनीति एवं जनस्तरको सम्बन्ध मजबुत छ तर व्यापारिक सम्बन्ध फैलिन सकेको छैन, लगानीमैत्री वातावरणसँगै सरल एवं सहज कानूनी प्रक्रियाबाटै विदेशी लगानी आकर्षित हुने भएकाले त्यस दिशामा नेपालले प्रगति गर्ने आशा पनि उनले व्यक्त गरे ।

परिषद्का अध्यक्ष हेमन्त खरेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा महासचिव अशिम थापालगायतले नेपाल–थाइल्याण्ड सम्बन्धका विविध पक्षबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस