प्रचारको अन्तिम दिन : दलहरूको कसरत जारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रचारको अन्तिम दिन : दलहरूको कसरत जारी


१८ मंसिर २०७४, सोमबार


काठमाडौं । दलहरूले प्रचारप्रचार गर्ने आज (सोमबार) अन्तिम दिन हो । राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ । यस अवधिमा उम्मेदवार र दलहरूले कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न पाउँदैनन् । एसएमएस, भाइबर वा अन्य कुनै माध्यमबाट पनि मत माग्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले २१ मंसिरमा हुने दोस्रो चरणको प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको लगभग सबै तयारी पूरा गरेको छ । मतदानस्थलमा मतदान अधिकृत पठाउने, सुरक्षाको प्रबन्ध गर्नेलगायत काम अन्तिम चरणमा रहेको आयोगले जनाएको छ । सोमबार मतदान अधिकृत मतदानस्थल पुगेर नयाँ मतदातालाई परिचयपत्र वितरण र मतदान केन्द्रको व्यवस्थापन सुरु गर्नेछन् ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सरकारले निर्वाचनमा शान्तिसुरक्षाको प्रत्याभूति दिलाएको बताए । ‘सुरक्षाको प्रबन्ध, व्यवस्थापन र रणनीति बनाउन सरकारलाई निर्देशन दिएका छौँ,’ उनले भने । आचारसंहिता उल्लंघनका घटना अनुगमन गर्न आयोगले १ सय १३ सहसचिव र ८८ उपसचिवलाई परिचालन गरेको छ ।

आयोगका अनुसार हजार मतदाताबराबर एकजना मतदाता शिक्षा स्वयंसेवी कार्यकर्ता परिचालन गरिएको छ । मतदाता शिक्षाका लागि करिब १९ हजार स्वयंसेवी कार्यकर्ता परिचालन गरिएको छ । आयोगले निर्वाचन पर्यवेक्षणका लागि कार्टर सेन्टर, जाइका, इयूलगायत निकायका करिब चार सय पर्यवेक्षकलाई स्वीकृत दिएको छ । राष्ट्रिय पर्यवेक्षकमा भने ५२ वटा संस्थाका ४५ हजारलाई अनुमति दिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस