हेवीवेटलाई ‘हेवी’ चुनौती « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

हेवीवेटलाई ‘हेवी’ चुनौती


२९ कार्तिक २०७४, बुधबार


नुवाकोट । नुवाकोटबाट पटक-पटक चुनाव जितेका उम्मेदवारलाई यस पटक चुनौति देखिएको छ । बाम गठबन्धन बनेकाले पहिलेको विरासत जोगाउन खासगरी कांग्रेस उम्मेदवारलाई कठिन देखिएको छ । ०५१, ०५६ ०६४ र ०७० साल गरी चार पटक नुवाकोटबाट सांसद् बनेका डा. रामशरण महत पहिलेभन्दा अहिले निर्वाचनको प्रचार प्रसारमा बढी कसिनु परेको छ । नुवाकोट क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. महत छ पटक अर्थ मन्त्री र एक पटक पराराष्ट्र मन्त्रीको जिम्मेवारी समालीसकेका व्यक्ति हुन् ।

उम्मेदवार छनोट ढिलो भएकाले प्रचारका लागि समय कम भएको तथा बाम गठबन्धन मिलेर लागेका कारण निर्वाचन आफ्नो पक्षमा पार्न सहज नभएको डा. महत स्वीकार्छन । पार्टीमा दिएको योगदान तथा विकासका लागी धेरै काम गरेकाले मतदाताले आफूलाई भोट दिने उनको दावी छ । ‘मतदाताले लोकप्रियता र विकासका काममा पुर्‍याएको योगदान हेर्छन् । स्थानिय तहको मतलाई मात्रै आधार बनाएर प्रतिनिधी सभा चुनावका लागि आँकलन गरिनु गलत हुने छ’, डा. महतले भने ।

नुवाकोटमा स्थानिय तहमा कांग्रेसले सात र नेकपा एमालेले दुई नगरपालिकासहित तीन स्थानमा र माओवादीले दुई स्थानमा विजय हासिल गरेको थियो । क्षेत्र नं. १ बाट प्रतिस्पर्धामा उत्रिएका अर्का कांग्रेस नेता अर्जुन नरसिंह केशी पनि निर्वाचन प्रचारमा राम्रै सँग खटिएका छन् । स्थानिय विकासका मुद्धादेखि राष्ट्रिय राजनीतिका मुद्धा लिएर घरदैलो गरिरहेका उनी बाम गठबन्धनका कारण यस पटकको निर्वाचन बढी प्रतिस्पर्धात्मक बनेको स्विकार्छन् । क्षेत्र नं. १ मा केशीसंग एमालेका नारायण खतिवडा प्रतिस्पर्धामा उत्रिएका छन् ।

०६४ सालको संविधान सभा निर्वाचनमा कांग्रेसले एक स्थान र माओवादी दुई स्थानमा विजयी भएको थियो भने ०७० सालमा तीन वटै क्षेत्रमा कांग्रेसले जितेको थियो । नुवाकोटबाट ०७० सालको संविधान सभामा नेपाली कांग्रेसले ४७ हजार दुई सय ६९, नेकपा एमाले १७ हजार आठ सय ३६ र माओवादीले २६ हजार नौ सय २९ मत प्राप्त गरेको थियो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस