नेपाली वैज्ञानिकको अनुसन्धान सर्वोत्कृष्ट « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नेपाली वैज्ञानिकको अनुसन्धान सर्वोत्कृष्ट


२५ कार्तिक २०७४, शनिबार


काठमाडौं । संयुक्त राज्य अमेरिकामा हालै सम्पन्न छैटौं अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा सम्मेलनमा नेपाली वैज्ञानिकको अनुसन्धानपत्र सर्वोत्कृष्ट भएको छ । क्यालिफोर्नियाको सान डिगोमा भएको सम्मेलनमा नेपाली युवा वैज्ञानिक रवीन ढकालले प्रस्तुत गरेको अनुसन्धानपत्र सर्वोत्कृष्ट भएको हो । सम्मेलनमा संसारभरका पाँच सयभन्दा बढी वैज्ञानिकले अनुसन्धानपत्र प्रस्तुत गरेका थिए ।

ढकालको नेतृत्वमा वैज्ञानिक समूहले कम उचाइबाट समेत जलविद्युत् उत्पादन गर्न सकिने नयाँ प्रविधि विकाससम्बन्धी अनुसन्धानपत्र तयार पारेको थियो । सोही अनुसन्धानपत्र सर्वोत्कृष्ट भएको हो । हालसम्म पहाडी क्षेत्रमा अग्लो स्थानबाट पानी खसाएर जलविद्युत् उत्पादन हुँदै आएको छ । ढकाल नेतृत्वको समूहले भने कम उचाइबाट समेत पानी खसाएर विद्युत् उत्पादन गर्न सकिने प्रविधि विकास गरेको हो । उनीहरूले आफूले विकास गरेको प्रविधिसम्बन्धी अनुसन्धानपत्र सम्मेलनमा प्रस्तुत गरेका थिए ।

पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका डिन त्रिरत्न बज्राचार्यको संयोजकत्वमा ढकाल र उनको समूहले सन् २०१२ देखि नै कम उचाइमा कसरी जलविद्युत् उत्पादन गर्न सकिन्छ भनेर अनुसन्धान गर्दै आएको थियो । उनीहरूले गरेको अनुसन्धानले ‘वाटर भर्टेक्स पावर प्लान्ट’ बाट कम उचाइमा समेत विद्युत् उत्पादन गर्न सकिने प्रमाणित गरेको छ । त्यसैका आधारमा ढकाल समूहको अनुसन्धानपत्र सर्वोत्कृष्ट भएको डिन बज्राचार्यले बताए । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस