सार्वजनिक प्रशासनमा मानव संशाधन व्यवस्थापन - प्रशासन प्रशासन

सार्वजनिक प्रशासनमा मानव संशाधन व्यवस्थापन


प्रकाशित मिति : २२ कार्तिक २०७४, बुधबार ०६:५६

मानव संसाधन : साधन र साध्य

सार्वजनिक प्रशासन कुनै पनि सरकारको सेवाप्रवाहको अपरिहार्य संयन्त्र हो । प्रशासनिक संयन्त्र र अन्य सहयोगी संयन्त्रको परिचालनबाट सरकारले जनतालाई सेवा सुविधा प्रवाह गर्छ । सरकारी सेवा सुविधाको प्रवाहको मूलभूत स्थायी संयन्त्र तथा जन आकांक्षालाई नीति निर्माणका लागि जनताबाट पृष्ठपोषण प्राप्त गरी सरकारसमक्ष पुर्याइदिने संवाहकका रूपमा सार्वजनिक प्रशासनको भूमिका अति नै महत्वपूर्ण रहने गर्छ । प्रशासनिक संयन्त्रका कर्तालाई मानव स्रोत/मानव संशाधन भन्ने गरिन्छ । मुलुकको सर्वोपरी विकासका लागि मानव साधन महत्वपूर्ण र आवश्यकीय संयन्त्रका रूपमा रहने गर्छ । मानव संसाधन राष्ट्को सर्वाङ्गीण विकासका दृष्टिले साधन र साध्य दुवै हो । मानव स्रोतको प्रभावकारिताबाट अन्य साधन स्रोत पूँजी, औजार, वस्तु र सूचनाको परिचालनमा प्रभावकारिता ल्याउन सकिने भएकाले मानव स्रोत व्यवस्थापन महत्वपूर्ण र आवश्यकीय व्यवस्थापकीय संयन्त्रकारूपमा चिनिने गरेको हो । मानव संसाधन व्यवस्थापनको क्षेत्र निकै फराकिलो छ । मानव स्रोत व्यवस्थापनका अवयवमा योजना, प्राप्ति, उपयोग, विकास, संभार, एकाकार, अवकाश र अवकाश योजना जस्ता विषय समाविष्ट भएका हुन्छन् । यसका साथै मानव स्रोत योजना, यसको विकास तथा उपयोग, श्रमिक सम्बन्ध र उत्प्रेरणालाई पनि मानव संसाधन व्यवस्थापनले समेट्ने गर्छ । मानव संसाधन व्यवस्थापनका सबै पक्षको उचित परिचालनले नै समग्र पक्षको प्रभावकारिता बढ्ने हुनाले नै मानव साधन महत्वपूर्ण र आवश्यकीय संयन्त्रकारूपमा लिने गरिन्छ । व्यवस्थित मानव स्रोत व्यवस्थापनले सार्वजनिक प्रशासनलाई प्रभावकारी र जनमैत्रीय बनाउन सहयोग पुर्याउँछ ।

सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता : प्रशासनयन्त्रको मूल दायित्व

प्रशासनयन्त्र सरकारी सेवालाई सरल, सहज, झन्झटमुक्त र प्रभावकारी बनाउने सहज संयन्त्र भएकोले जनताको अभिमत र चाहनालाई कार्यरूपमा परिवर्तन गर्न सार्वजनिक प्रशासनको महत्वपूर्ण भूमिका रहेको हुन्छ । प्रशासनयन्त्रको प्रभावकारिता, चुस्तता, प्रतिबद्धता र तटस्थताले जनअभिमतको सच्चा कदर हुन सक्छ । बिना भेदभाव सार्वजनिक सेवामा पहुँच र बिना भेदभाव सार्वजनिक सेवा उपभोगको अधिकार तटस्थ निजामती सेवाबाट मात्र सम्भव छ भने सार्वजनिक सेवाको गुणस्तरता, सेवाग्राहीमैत्री सार्वजनिक सेवाप्रवाहको सुनिश्चितता, प्रश्न गर्ने र जानकारी लिन पाउने अधिकारको प्रत्याभूति प्रतिबद्ध निजामती सेवावाट सम्भव हुन्छ । प्रशासक योग्यता प्रणालीका उपज भएकाले आफ्नो कार्यलाई विधिको आवरणबाट सुरक्षित राखी सेवाप्रवाहमा जनप्रशंसा प्राप्त गर्न सक्ने पोख्त योद्धा बन्न सक्नुपर्छ । विषगत विज्ञता र स्थायी सरकारको हैसियतले प्रशासनयन्त्रले राजनीतिप्रति तटस्थता देखाउँदै सेवाप्रवाह र सरकारी नीति कार्यान्वयनमा मा सकारात्मक योगदानको निम्ति सदा सर्वदा तत्पर र प्रतिबद्ध रहनु नै वास्तविक रूपमा तटस्थता सहितको प्रतिबद्ध दक्षता हो । प्रशासनयन्त्रको दायित्व भनेको सरकारी सेवालाई सरल, सहज, झन्झटमुक्त र प्रभावकारी बनाउनु हो । जनताको अभिमत र चाहनालाई कार्यरूपमा परिवर्तन गर्न सार्वजनिक प्रशासनको महत्वपूर्ण भूमिका रहेको हुन्छ । प्रशासनयन्त्रको प्रभावकारिता, चुस्तता, प्रतिबद्धता र तटस्थताले जनअभिमतको सच्चा कदर हुन सक्छ । तटस्थता प्रशासनयन्त्रको त्यो अपरिहार्य गुण हो, जसको मूल ध्येय कानुनले निर्धारित गरेका प्रक्रियालाई पूर्णरूपमा परिपालना गर्दै सेवाग्राहीसँगको सम्बन्धलाई स्वच्छता, निष्पक्षता, इमान्दारिता, प्रतिबद्धता र तटस्थताकोे मूलमन्त्रद्वारा पेशागत दक्षता, व्यावसायिकता र विशिष्टताका आधारमा सार्वजनिक सेवाप्रवाहलाई प्रभावकारी, जनमुखी र परिणाममूलक बनाउनु हो । यसको साथसाथै सरकारी नीति र कार्यक्रमप्रति अपनत्वबोध, स्वामित्व ग्रहण, कार्यान्वयनमा तदारुकता र दृढ इच्छाशक्ति, मनोवलयुक्त भावनाको व्यवहारगत अबलम्बन सहितको प्रतिबद्धता अर्को आवश्यकीय आयाम हो । यसै कारणले पनि असल मानवस्रोत व्यवस्थापनले उपरोक्त विविध पक्षको सबल प्रयोगमार्फत सार्वजनिक प्रशासनलाई जनमैत्री बनाउन सहयोग पुर्याउँछ ।

मानव संसाधन व्यवस्थापन : महत्वपूर्ण व्यवस्थापकीय आयाम

मानव संसाधन व्यवस्थापन सार्वजनिक प्रशासनको अति महत्वपूर्ण व्यवस्थापकीय आयाम हो । उद्देश्य सहितको कुनै निश्चित कार्य निश्चित विधिपूर्वक सम्पादन गरी अपेक्षित उपलब्धी हासिल गर्न विविध स्रोतको आवश्यकता पर्छ । यसमध्ये मानवश्रोत एउटा महत्वपूर्ण स्रोत हो । यसलाई मानवशक्ति/श्रमशक्ति/जनशक्ति पनि भन्ने गरिन्छ । मानवशक्ति/श्रमशक्तिले अन्य साधनस्रोत पूँजी, प्रविधि, प्रक्रिया, वस्तु र सूचनाको उपयोग र प्रभावकारितामा अभिवृद्धि ल्याउन सक्ने संवेदनालेयुक्त महत्वपूर्ण स्रोत हो ।

मुलुकको समग्र विकासका लागि मानव साधन सधै महत्वपूर्ण, आवश्यकीय र प्रभावकारी संयन्त्रका रूपमा रहने गर्छ । मानव संशाधनको महत्व राष्ट्रको सर्वाङगीण विकासका दृष्टिले साधन र साध्य दुवै आयामबाट महत्वपूर्ण मानिन्छ । साधनका रुपमा यसको परिचालन बिना विकास निर्माण कार्य सम्भव हुँदैन भने साध्यका रूपमा मानव संसाधनको विकास नै राष्ट्यि विकासको अन्तिम लक्ष्य हो । राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सार्वजनिक क्षेत्रमा पनि मानव स्रोतको योजना, विकास, सम्बद्र्धन र समुचित उपयोग अनिवार्य छ । मानव संशाधन आर्थिक तथा सामाजिक विकासको मुख्य आधार पनि हो ।

मानव संसाधन व्यवस्थानको अभ्यास मानव सभ्यताको विकास क्रमसँगै हुँदै आएको हो । यद्यपि यसको व्यवस्थित विकास सुरु भएको भने केही दशकमात्र भएको छ । मानव स्रोतको प्रभावकारिताबाट अन्य साधन स्रोत पूँजी, औजार, वस्तु, सूचनाको परिचालनमा प्रभावकारिता ल्याउन सकिन्छ । यसैले मानव स्रोत स्वतन्त्र चर हो भने अन्य साधन स्रोत मानव स्रोतको प्रभावकारितामा निर्भर रहने आश्रित चर हुन् । यसर्थ मानव स्रोत व्यवस्थापन महत्वपूर्ण र आवश्यकीय व्यवस्थापकीय संयन्त्रका रूपमा चिनिने गरेको हो ।

मानव संसाधन व्यवस्थापनका अवयव

असल मानव संसाधन व्यवस्थापनले मानिसको क्षमताको उचित व्यवस्थापन गरी अपेक्षित परिणाम निकाल्न सहयोग पु¥याउँछ । मानव संसाधन व्यवस्थापनले मानवीय साधनको अद्यावधिक स्थिति र आवश्यकताको योजना, प्राप्ति, उपयोग, विकास, सामयिक संभार, एकताबद्ध, अवकाश, अवकाशपश्चातको योजना र अवकाश व्यवस्थापन जस्ता समग्र पक्षलाई समेट्छ । मानव स्रोत व्यवस्थापन यी सबै कार्यको शृङखलाबद्ध प्राथमिकतामा आधारित विभिन्न क्रियाकलापको संयुक्तस्वरूप हो ।

जनशक्ति रणनीतिक साधन

जनशक्तिलाई रणनीतिक साधनका रूपमा लिई मानव संशाधनसँग सम्बन्धित सबै कार्यबीच समन्वयको अपरिहार्यता माग गर्नु मानव संसाधन व्यवस्थापनको अर्को महत्वपूर्ण पक्ष हो । सरलरूपमा भन्ने हो भने सार्वजनिक प्रशासन र व्यवस्थापनको क्षेत्रमा अत्यधिक प्रयोगमा आउने प्राप्तिदेखि अवकाशसम्मका तह प्रचलनमा रहँदै आएकोमा मानव स्रोत व्यवस्थापनले प्राप्तिअघि र अवकाशपश्चातको अवस्थालाई समेत समेट्नुपर्ने मान्यताको विकास भएको छ । र, यसै मान्यताअनुरूप मानवस्रोत व्यवस्थापनको व्यवहारिक प्रयोग हुँदै आइरहेको छ । मानव संसाधन व्यवस्थापन कार्यलाई निम्न तहमा बाँड्ने गरेको पाइन्छ ।

♦ व्यवस्थापकीय पक्ष
◊ योजना
◊ संगठन निर्माण
◊ कार्यप्रणालीको विकास
◊ कार्यप्रणालीको स्वरूप
◊ निर्देशनात्मक स्वरूप
◊ नियन्त्रण स्वरूप

♦ संचालन पक्ष
◊ प्राप्ति
◊ विकास
◊ प्रयोग
◊ क्षतिपूर्ति
◊ सेवाको सुरक्षा
◊ स्वस्थ्य औद्योगिक सम्बन्ध निर्माण
◊ अभिलेख व्यवस्थापन

♦ भविष्यपरक दृष्टिकोणको पक्ष
◊ निवृत्तिभरण
◊ उपदान
◊ अवकाश व्यवस्थापन
◊ अवकाशपछिको विज्ञता सेवा

संघीय शासन प्रणालीको सन्दर्भ

परिवर्तित राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्दर्भ, राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न मानव स्रोतको महत्तम भूमिका भएको सन्दर्भमा यसका सबै पक्षको उचित परिचालनको आवश्यकता छ । प्रजातान्त्रिक शासन प्रणाली जनमुखी शासन प्रणाली हो । संघीय शासन प्रणाली उच्चतम प्रजातान्त्रिक शासन प्रणाली हो । यस प्रणालीमा जनता र सरकारसँग छिटो, छरितो र सहजतापूर्वक अन्तरक्रिया गर्न, आफ्ना गुनासो राख्न, सेवा लिन र शासन प्रणालीमा सहभागी हुने अधिकार रहेको हुन्छ । सार्वजनिक सेवा प्रवाह गर्ने संस्था र सार्वजनिक सेवा प्रदायक जनताको निकटतम दूरीमा रहनुपर्छ । अनि मात्र त्यो सरकार प्रभावकारी हुन्छ भन्ने परिपूरणको सिद्धान्तको वास्तविक प्रतिबिम्ब संघीय शासन प्रणाली हो भन्ने गरिन्छ । यस अर्थमा संघीय शासन प्रणाली अन्तरगतको सार्वजनिक प्रशासन अझै बढी प्रभावकारी, पारदर्शी, परिणाममुखी हुनु आवश्यक हुन्छ । यसै पृष्ठभूमिमा देश संघीय संरचनामा प्रवेश गरिसकेको परिप्रेक्ष्यमा सार्वजनिक प्रशासनको संरचनात्मक पक्षमा गुणात्मक परिमार्जनको आवश्यकता पर्ने हुनाले मानव संशाधन व्यवस्थापन पनि बढी उत्पादकत्व प्राप्त गर्न सक्ने गरी व्यवस्थित हुनु आवश्यक हुन्छ ।

Tags: , , , , ,

प्रतिक्रिया दिनुहोस