पानामा पेपर्सको १ वर्षपछि प्याराडाइज पेपर्सको हलचल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पानामा पेपर्सको १ वर्षपछि प्याराडाइज पेपर्सको हलचल


२१ कार्तिक २०७४, मंगलबार


काठमाडौं । पानामा पेपर्स काण्डको एक वर्षपछि अन्तर्राष्ट्रिय खोज पत्रकार समूह (आइसिआइजे)ले अर्को सनसनीपूर्ण विवरण सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक ‘प्याराडाइज पेपर्स’ नामक विवरणमा बेलायती महारानी एलिजाबेथ द्वितीयसहित विश्वका धेरै राष्ट्रप्रमुख, पूर्वप्रमुख, राजनीतिज्ञ, कलाकार र खेलाडीका अतिरिक्त विश्वका ठूला कम्पनीले ट्याक्स हेभेनमा सम्पत्ति लुकाएको खुलासा भएको हो । गत वर्ष सार्वजनिक भएको यस्तै प्रकृतिको विवरण पानामा पेपर्सले पनि विश्वका विभिन्न राष्ट्रका प्रमुख, राजनीतिक दलका नेता तथा व्यापारीलाई विवादमा तानेको थियो । पानामा पेपरमा मुछिएका तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई गत जुलाईमा सर्वोच्च अदालतले दोषी ठहर गरी अपदस्थसमेत गरेको थियो ।

बेलायती महारानी एलिजाबेथ द्वितीया, कोलम्बियाका राष्ट्रपति जुआन म्यानुअल सान्तोस र लाइबेरियाका राष्ट्रपति एलेन जोन्सन गरी तीनजना राष्ट्रप्रमुखले ट्याक्स हेभेनमा सम्पत्ति लुकाएको खुलेको छ । महारानी एलिजाबेथ द्वितीयाले मेडिकल र उपभोक्तालाई ऋण दिने कम्पनीमा दशौँलाख डलर लगानी गरेको खुलेको छ । जोर्डनकी रानी नूर अलहुसैन, कोस्टारिकाका पूर्वराष्ट्रपति जोसे मारिया फिगरेर्स पनि सोही मुद्दामा तानिएका छन् ।

यसैगरी, पाकिस्तानी पूर्वप्रधानमन्त्री सौकात अजिज, अस्ट्रियाका पूर्वचान्सलर अल्फ्रेड गुसेन्बर, जर्मनीका पूर्वचान्सलर गर्हार्ड र जापानका पूर्वप्रधानमन्त्री युकिओ हातोयामा पनि प्याराडाइज पेपर्सको मुद्दामा मुछिएका छन् । सबैभन्दा धेरै क्यानडाका तीनजना पूर्वप्रधानमन्त्रीहरू जिन क्रेटिअन, पाउल मार्टिन, ब्रिआन मुल्रोनी पनि प्याराडाइज पेपरको मुद्दाले विवादित बनेका छन् ।

सन् २००४ मा अमेरिकाको राष्ट्रपतिका उम्मेदवार वेस्ली क्लार्क, रुसका लागि अमेरिकाका राजदूत जोन हन्टस्म्यान, अमेरिकी केन्द्रीय बैंकमा अनुगमन शाखाका उपाध्याक्ष रान्डल क्वार्लस पनि तानिएका छन् । क्यानडा, घाना, इन्डोनेसिया, जोर्डनका केही नेता तथा सरकारी अधिकारीहरूका आफन्तसमेत सो मुद्दामा मुछिएका छन् । भारत सरकारका उड्ययनमन्त्री जयन्त सिन्हा र भारतीय जनता पार्टीका राज्यसभाका सांसद रवीन्द्रकिशोर सिन्हा पनि यो मुद्दामा गाँसिएको भारतीय समाचार संस्था इन्डियन एक्स्प्रेसले जानकारी दिएको छ ।

यो काण्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीच व्यापारिक सम्बन्ध खुलाएको छ । ट्रम्पका खर्बपति वाणिज्यमन्त्री तथा प्राइभेट इक्विटी टाइकुन विल्बर रोसको सिपिङ कम्पनीले पुटिनका ज्वाइँको ऊर्जा कम्पनीबाट सन् २०१४ पछि करिब ७ अर्ब नेपाली रुपैयाँबराबर आम्दानी गरेको खुलासा प्याराडाइज पेपर्सले गरेको हो । त्यस्तै, ट्रम्पका १ दर्जनभन्दा बढी मन्त्रीहरू, सल्लाहकारहरू र दाताहरूले ट्याक्स हेभेनमा सम्पत्ति लुकाउने र कर छली गर्ने गरेको पनि खुलेको छ । तिनमा विदेशमन्त्री रेक्स टिलरसन, वाणिज्यमन्त्री रोसलगायत छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस