देउवा–ओली कटाक्ष « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

देउवा–ओली कटाक्ष


२९ आश्विन २०७४, आइतबार


काठमाडौं । व्यवस्थापिका–संसद्को शनिबार बसेको अन्तिम बिदाइ बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीबीच कटाक्ष चल्यो । देउवाले चुनाव आचारसंंहिता उल्लंघन गर्दै मन्त्री थपेको विषयलाई ओलीले पटक–पटक दोहोर्‍याउँदै लोकतन्त्रकै खिल्ली उडाएको टिप्पणी गरे । ‘चुनावका लागि भोलि मनोनयन छ । प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री मात्रै भए पनि चुनावका लागि पुग्छ,’ ओलीले सामुन्ने बसेका देउवातर्फ फर्कंदै व्यंग्य गरे, ‘तपाईंलाई थप मन्त्री किन चाहियो ? कुस्ती खेल्न त होइन होला ?’

अघिल्लो दिन शुक्रबार मात्र देउवाले राप्रपाबाट ४ मन्त्री र ४ राज्यमन्त्री थप गरी मन्त्रीको संख्या ६४ पुर्‍याएका छन् । ओलीले ‘भुलचुक’ ले ती मन्त्रीको नाम शपथका लागि राष्ट्रपति कार्यालयमा पठाएको भए फिर्ता लिन उपयुक्त हुने सुझाव दिएका थिए । ‘लिस्ट गइहालेछ । ध्यान पुगेन होला । चिप्लिएको पनि होला । फिर्ता लिनुस् । किनकि यतिबेला मन्त्री थप्नु असंवैधानिक छ । गलत छ,’ करिब ४५ मिनेटको सम्बोधनमा अधिकांश समय मन्त्रिमण्डल विस्तारकै विपक्षमा बोलेका ओलीले देउवालाई भने । त्यसपछि बोलेका प्रधानमन्त्री देउवाले भने आफूले गरेको निर्णय सही भएको भन्दै प्रतिरक्षा मात्र गरेनन्, कार्यक्रम सकेलगत्तै राष्ट्रपति कार्यालय शीतल निवास शपथका लागि हतारिएर पुगे ।

आगामी मंसिर १० र २१ गते हुने चुनावका लागि समानुपातिकतर्फ उम्मेदवारको आइतबार मनोनयन हुँदै छ । मनोनयनपत्र दर्ता हुनासाथ संसद्को अवधि सकिने भएकाले त्यस अवसरमा संसद् सचिवालयले विशेष बिदाइ कार्यक्रम गरेको हो । संसद् अवधि नै सकिएकाले सरकार अल्पमतमा पनि नपर्ने र माओवादी केन्द्रले सरकारलाई अप्ठ्यारो नपार्ने बताइरहेका बेला मन्त्री थप्नुको औचित्य नरहेको ओलीले दोहोर्‍याएका थिए ।

‘यही मध्यरातमा संसद्को अवधि सकिँदै छ । सरकार कामचलाउ हुँदै छ । उसलाई बहुमत पुर्‍याउनु पनि छैन,’ मन्त्री थप्नुको केही औचित्य नरहेको र थपिने मन्त्रीलाई आफूले बधाईसमेत दिन नसक्ने भन्दै ओलीले थपे, ‘युरोपतिर त यस्तो काम गर्न लाज लाग्छ । सुन्दै लाजले ‘सेम सेम’ भन्छन् ।’

कांग्रेसले आफूलाई लोकतन्त्र मान्ने भन्दै आएको तर कामचाहिँ त्यसविपरीत गरेकोमा पनि उनले कटाक्ष गरे । ‘के संविधान नमान्नु, कानुनविपरीत काम गर्नु, आचारसंहिताविपरीत काम गर्नु, जिम्मेवार संवैधानिक आयोगले आचारसंहिताविपरीत भनेको काम गर्नु, जवाफदेही नहुनुचाहिँ लोकतन्त्र हो ?’ उनको प्रश्न थियो ।

शुक्रबार देउवाले आयोग बैठकमा आचारसंहिता उल्लंघन हुँदैन भनी बोलेको तर लगत्तै काम भने उल्टो गरेकोमा ओलीको आपत्ति थियो । ‘मैले त मन्त्री थपेको सुन्दा पत्याइनँ पनि । एकछिनअघि त्यस्तो काम हुन्न भनेको छ, लगत्तै थप मन्त्रीको नाम गएको कसरी पत्याउने ? तर, हो रहेछ,’ उनले भने, ‘यतिबेला तपाईंलाई ५६ जनाले पुगेन ? किन थप्नुपर्र्यो ? मन्त्रीकै जुलुस गराउने कि के हो देशमा ?’ ओलीले पटक–पटक आचारसंहिता उल्लंघन भएका र कानुनविपरीत काम भएको प्रसंग राख्दा देउवा भने कागजमा लेखिरहेका देखिन्थे । मन्त्रिमण्डल थपका विषयलाई त्यसअघि बोल्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खासै उठाएका थिएनन् । दाहालले संविधान निर्माण र शान्ति प्रक्रिया र पछिल्लो वाम सहकार्य, एकताबारे मन्तव्य दिएका थिए । ओलीलगत्तै बोलेका देउवाले भने मन्त्रिमण्डल विस्तार संविधानअनुसारै भएको जवाफ दिएका थिए । आक्रामक शैलीमा देउवाले भने, ‘मन्त्रीहरूको संख्या बढ्न पनि सक्छ । घट्न पनि सक्छ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस