सुटर पक्राउबारे गृहमन्त्रीले ढाँटे « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सुटर पक्राउबारे गृहमन्त्रीले ढाँटे


२५ आश्विन २०७४, बुधबार


काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले सोमबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरकुमार गौचनको हत्यापछि ३ जना हतियारसहित पक्राउ परेको दाबी गरेका थिए । उनले गोचन हत्यामा संलग्नलाई चाँडै सार्वजनिक गर्ने दाबी पनि गरेका थिए ।

अनामनगरस्थित महासंघको कार्यालयमा जान सोमबार दिउँसो घरबाट हिँडेका गौचनलाई २ः४५ बजे मध्यबानेश्वर खरीबोटमा सुटरले गोली हानेर हत्या गरेका थिए । घटनाको करिब एक घन्टापछि मनमैजुमा एउटा पेस्तोल र तीन राउन्ड गोलीसहित तीनजना पक्राउ परेको सूचना सार्वजनिक भएको थियो । छिरिङ, सञ्जय तामाङ र दिलीप लामा घटनाको १५ मिनेटपछि पक्राउ परेको दाबी प्रहरीको थियो ।

गृहमन्त्रीको दाबीको आधार पनि घटना भएको समय र प्रहरीले दाबी गरेको पक्राउको समय नै थियो । विश्वस्त स्रोतका अनुसार काभ्रेका ३ जनालाई गौचन हत्याको आधा घन्टाअघि महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो । उनीहरुलाई महाशाखाबाट डिएसपीको कमान्डमा खटिएको टोलिले पक्राउ गरेको थियो ।

घाइते गौचनको गोली लागेर मृत्यु भएपछि निर्माण व्यवसायी आक्रोसित भएका थिए । उनीहरुले घटनामा संलग्नलाई पक्राउ नगरिएसम्म गौचनको शवसमेत नउठाउने चेतावनी दिएपछि तीनजना पक्राउको समय अदलबदल गर्दै हतियारसहित पक्राउ परेको सूचना सार्वजनिक भएको थियो । आजको नागरिक दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस