सीमा बचाउ अभियन्ता देवनारायण यादव भारतीय जेलमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सीमा बचाउ अभियन्ता देवनारायण यादव भारतीय जेलमा


प्रशासन विशेष ब्युरो

१७ आश्विन २०७४, मंगलबार


काठमाडौं । सीमा बचाउ अभियन्ता देवनारायण यादव र उनका छोरा अजयकुमारलाई भारतीय प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ ।

देवनारायणका दाजु रामनारायण यादवले दशगजा क्षेत्रमा रहेको आदर्श ग्राम पञ्चायतमा सांस्कृतिक कार्यक्रम हेर्न गएका बेला अजयलाई रक्सी खाएर होहल्ला गरेको झूटो आरोपमा भारतीय प्रहरीले पक्राउ गरेको र छुटाउन गएका बाबु देवनारायणलाई समेत पक्राउ गरी भारतको विहार राज्यअन्तर्गत सुपौलको वीरपुर जेल पठाइएको जानकारी दिएका छन् ।

भारतको कुनौली थानाका प्रमुख विनोद यादवले देवनारायण, उनका छोरा अजय र कोइलाडी तिलाठीका विजयकुमार यादवविरुद्ध अपहरण मुद्दा रहेकाले त्यही सिलसिलामा पक्राउ गरिएको बताए ।

अपहरित भनिएकी ज्योति अजयसँग प्रेमविवाह गरी उनकै घरमा बस्दै आएकी छन् । गत वर्ष भारतीय सुरक्षाकर्मीले दशगजा क्षेत्रमा एकतर्फी रूपले बाँध बाँधिरहेका बेला भारतीय पक्षसँग भएको झडपमा देवनारायण घाइते भएका थिए । सरकारले उनको उपचार खर्चसँगै सच्चा राष्ट्रवादीको सम्मानपत्रसमेत दिएको थियो ।

अजयकुमारले ज्योतिसँग विवाह गरेको ६ महिना बितिसकेको भएपनि प्रहरीले पुरानो रिसइबीका आधारमा पक्राउ गरेर जेल चलान गरिएको बुझिन आएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले देवनारायणका छोराले उमेर नपुगेको भारतीय केटीसँग विवाह गरेकाले केटी पक्षले दिएको उजुरीका आधारमा भारतीय प्रहरीले पक्राउ गरेको र यसबारे बुझेर रिहाका लागि पहल थालेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस