संस्कृति र संस्कारलाई बिर्सेका कारण आज हामी डिप्रेसनको सिकार भइरहेका छौं « प्रशासन
prasaLogo
७ आश्विन २०७४, शनिबार

संस्कृति र संस्कारलाई बिर्सेका कारण आज हामी डिप्रेसनको सिकार भइरहेका छौं


प्रकाशित मिति : 23 September, 2017 11:35 am

योग अर्थात शरीर, मन र आत्मालाई एक साथ जोड्ने काम । बौद्ध, जैन, हिन्दु धर्ममा ध्यान प्रक्रियासंग सम्बन्धित मानिने योग चीन, तिब्बत, जापान, श्रीलंका, दक्षिण पूर्व एसिया हुँदै हाल सारा संसारभरी नै फैलिएको छ । सन् ११ डिसेम्बर २०१४ को संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष जुन २१ लाई विश्व योग दिवसका रुपमा मनाउने घोषणा गरेसंगै विश्वभर नै योगको लहर छायो । योग यति धेरै विशाल छ कि यसको परिभाषा यही नै हो भन्न कठिन छ तर पनि भन्न सकिन्छ कि अस्थिर मनलाई स्थिर बनाउँदै अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्वलताबाट सबलता तर्फ, प्रत्यक्षबाट परोक्षतर्फ, जीवनबाट ब्रम्ह एवं सीमितताबाट असिमिततार्फ लैजाने आध्यात्मिक यात्रा हो योग ।

सकरात्मक सोचको विकाससंगै सादगीपूर्ण जिन्दगी तथा पूर्ण रुपमा स्वस्थ रहनका लागि योग अनिवार्य छ । अत्याधुनिक उपचार पद्धतिबाट निको हुन नसकेका कतिपय रोगहरु प्राकृतिक उपचार पद्धति अन्तर्गत फिजियोथेरापीमार्फत उपचार गराइनुले भन्न सकिन्छ कि योगको ब्यापकता अझ धेरै बढ्दो छ । स्वस्थ रहन देखि रोग निको बनाउनसम्मका लागि उपयोगी योगका बारेमा प्रशासन डट कमका लागि एस राज उपाध्यायले पूर्व कर्नेल तथा योग शिक्षक सुवर्णलाल चित्रकारसंग केही व्यवहारिक पक्षबारे कुराकानी गर्नुभएको छ । प्रस्तुत छ सम्बादको सम्पादित अंशः

विश्वव्यापी रुपमा नै योगप्रतिको आकर्षण बढ्दै जानुको कारण के हो ?
जीवनशैली बदलियो । खानपान बदलियो । हामीले आफ्नो पूर्वीय संस्कृतिलाई बिर्सिएर पश्चिमा संस्कृतिहरु अपनायौं, जसले गर्दा मन नै विकृत भयो । मन विकृत हुने बित्तिकै उसको आहार र कर्म पनि विकृत हुन्छ । तनावले भरिन्छ । धेरै तनावमा बाँच्ने मान्छेहरुको न त खाएको पच्छ । न त निन्द्रा लाग्छ । यही कारणले उसलाई प्रेसर, सुगर, ग्यास्ट्रिक अनेक खालको रोगहरु लागिरहेको छ । रोग लागिसकेपछि पनि एकथरी चिकित्सको शरणमा जान्छन् । करोडौं सिध्याउँछन् । तै पनि रोगको उपचार हँुदैन । एकथरी भाग्यमानी योगमा जोडिन पुग्छन्, उहाँहरुलाई योगले गर्दा अन्तस्करण शुद्ध भइ खाएको पनि पच्छ, निद्रा पनि लाग्छ । प्रेसर, सुगर, क्यान्सरसम्म पनि हटिरहेका कारणले मान्छे योगप्रति आकर्षित भएका हुन् ।

मन विकृतको कुरा गर्नु भयो मनलाई कसरी नियन्त्रणमा राख्न सकिन्छ मनलाई ?
हाम्रो मन भन्ने कुरा एकदम ठुलो कुरा रहेछ । जन्मदाखेरी मन खासै बनेको हुँदैन । आमाले जस्तो सोच्यो । आमाले गर्भमा राख्दाखेरी जस्तो खाना खान्छिन् । आमाले जस्तो विचार गर्छिन् । फेरि बच्चा जन्मिसकेपछि पनि उसकै दुध खान्छ । कुन भाइब्रेसनमा उनले दुध खुवाउँछिन् । कुन बिचारले उसको मनहरु भरिन्छ । कस्तो मानसिक खुराकहरु हुन्छ । जस्तैः टिभी कस्तो हेर्छ ? उसले कस्तो कुराहरु बढी सुन्छ ? कस्तो पत्रिका पढ्छ ? साथ साथै कस्तो खाना खान्छ ?  दुधमा पनि त्यही तरंग जान्छ । अनी बच्चाको मन पनि त्यस्तै बन्छ । सात्विक खाना खाएको छ । सात्विक बिचारले भरिएको मन छ भने बच्चाको मन पनि सात्विक बन्छ ।

आहार र विचार खराव खालको खुराकहरुले भरिएको छ भने बच्चामा पनि चिडचिडाहट हुने हुन्छ । बच्चैदेखि झगडालु स्वभाव हुन्छ । रुने, सानो–सानो कुराहरुमा पनि एकदम आवेगमा आउने हुन्छ । मनमा धेरै बिकार भएपछि कर्म पनि त्यस्तै गर्छ । त्यसकारण मन शुद्ध गर्नका लागि जे जस्ता प्रयासहरु आमाले गर्नुपथ्र्यो त्यो कुरा थाहा नपाएर गर्न सकिरहेको देखिदैन । आमा अज्ञानी हुँदाखेरी बच्चामासमेत कुभावना, खराब मनले एकदम पोषित भएको पाइन्छ र बच्चाहरु एकदम सही तरिकाले आफ्नो मनलाई ठिक गर्न नसक्दा बच्चाहरु अलि उच्श्रृंखल हुने हुन्छन् । त्यसकारण मनलाई ठिक गर्नको लागि हाम्रो योगकै साहारा लिनुपर्ने हुन्छ । पहिलो यो योग शिक्षा आमालाई गराउन सक्यो भने बच्चा आफै ठिक अवस्थामा आउँछ ।

भनेपछि हरेक आमाका लागि मनलाई शुद्धराख्न जरुरी छ ?
महिला नै पहिलो शिक्षक हुन् । पहिलो गुरु हुन् । पहिलो भगवान हो । ऊ आमा हुन्छे । उनले खाना पकाउँछिन् । उसले सात्विक खाना तयार गर्न पनि सक्छिन्, तामसि खाना पनि तयार गर्न सक्छिन् । कुन भावमा उसले खाना बनाउँछ ? कुन प्रेम सद्भाव भरेर खुवाउँछिन् ? अथवा एकदम रिसाउँदै पकाउँछिन्, यो सबै कुराहरु मन निर्माणसँग सम्वन्धित छ । यो साह्रै सुक्ष्म कुरा हो । मान्छेले विद्यावारिधि त गरिसकेको हुन्छ तर जीवन जीउने कला एकदम कमजोर हुन्छ । त्यसैले शुखी जीवनका लागि जीवन जिउने कला जान्न जरुरीछ ।

वर्तमान नेपालको सन्दर्भमा कुरा गर्ने हो भने अभाव तनाबदेखि लिएर सबैतिर बिकृत वातावरण रहेको अवस्थामा कसरी एउटा आमाले मनलाई शुद्ध राख्न सक्छन् ? के हुन् मन शुद्ध राख्ने उपाय ?
मुख्य समस्या भनेकै अहिलेको शिक्षा र वातावरण नै हो । हामीले सबै कुरा पढ्न पाउँछौं । अहिले संस्कृत शिक्षा हराएर गएको छ । अब पूर्वीय दर्शनसँग यसलाई जोड्नु पर्ने हुन्छ । नैतिकता बलियो बनाउनलाई चरित्रलाई नै ठुलो शक्ति मान्ने यो हाम्रो पूर्वीय दर्शन आज कक्षामा पढ्न पाइँदैन । बच्चाहरुले एसएलसीमा बढी नम्वर ल्याए भनेर हामी दंग पर्छांै तर बच्चाहरुको नैतिकताको स्तर, शुद्ध आचरणको स्तर कस्तो छ ? भन्नेकुराको कहिँ कतैबाट मुल्यांकन भएको पाइदैन । मुख्य कुरा हाम्रो शिक्षामै आएको बिकृतिले गर्दा यस्तो भइरहेको छ । त्यसकारण आमालाई त्यही अनुसारको शिक्षा, बच्चालाई त्यही अनुसारको शिक्षा दिन सक्यौं र बिशेष गरी योग र आयुर्बेदका शिक्षाहरु प्रवद्र्धन गर्न सक्यांै भने निरन्तरको अभ्यासले विस्तारै सुधार आउन सक्छ ।

योग शिक्षाले कसरी जीवनमा आनन्द भरिदिन सक्छ ?
सही गुरुबाट योग सिक्ने । बिस्तारै त्यो ज्ञानमा अभ्यस्त हुँदै जाँदा अर्थात आर्जन गर्दै जाँदाखेरी मांसाहारी मान्छे साकाहारी बन्दै जान्छ । साकाहारी मान्छे पनि सात्विक खानामै अडिन थाल्छ । खराब कुराहरु सुन्न, खराव कुराहरु हेर्नबाट आफुलाई रोक्न सक्छ । योगबाट त्यो खालको बलहरु प्राप्त हुन्छ । शीलहरु पालन हुँदै जान्छन् र मान्छेको मन पनि आफसे आफ शुद्ध हुँदै जान्छ ।

ऊ भित्रको क्रोध, इस्र्या, बासना, लोभ जस्ता कुराहरु विस्तारै हट्दै जान्छ भने दान गर्ने शक्ति विकास हुँदै जान्छ । अनि दया, करुणा, दान, क्षमा, मैत्री जस्ता गुणहरुले भरिन थाल्छ । यिनीहरु नै सर्वगुण हुन् । यिनै सर्वगुणहरुले नै एउटा मान्छे मान्छे जस्तो भएर रहन सक्छ । यसलाई अझै विकास गर्दै लगियो भने मान्छेबाट ऊ महामानव बन्न सक्छ । जस्तो कि मदर टरेसा, खप्तड बाबा, स्वामी बिबेकानन्द, यिनीहरु पनि कसैका सन्तान थिए । तर, उहाँहरुले आफुलाई आफ्नो खानपान शुद्ध, आफ्नो आचरण शुद्ध गर्दै निरन्तर साधनामा लागिरहनु भएको कारणले महामानव बन्नुभयो । आज उहाँहरुको नाम सुन्नासाथ धेरैको हृदय करुणाले भरिन्छ । मनमै आनन्द आउँछ । मदर टेरेसाको नाम सुन्ने बित्तिकै मन आनन्दले भरिन्छ । यस्तो होस् जीवन भनिन्छ ।

वैदिक हिसावले कस्तो खानालाई शुद्ध खाना भनिन्छ, सहरीया परिवेशमा यसलाई पालना गर्न सहज छ त ?
छुवाछुतको भावना पनि यसैबाट विकास भएको जस्तो लाग्छ । गलत बिचारले खाना पकाउने बित्तिकै त्यो खानै अशुद्ध हुन्छ । त्यसैले हाम्रो पूर्वीय दर्शनमा एउटा सफा कपडा लगाएर पकाउने, नुहाइ धुवाइ गरेर शुद्ध भाँडामा खाना बनाउने, खाना बनाउँदा देखि खाना खाँदा सम्म एउटा इश्वरको नाम लिएर खाने, जुन खालको संस्कार छ त्यसैलाई शुद्ध खाना भनिन्छ । धेरैलाई सात्विक खाना भनेको के हो भनेर सोध्यो भने साकाहारी खानालाई बताउँछन् बास्तवमा त्यो होइन । सात्विक भनेको सत्यको कमाइबाट आर्जित भएको खानेकुरा हो । त्यसमा दश प्रतिशत दान गरेको होस् । बिभिन्न पशु पक्षीहरुलाई बाँड्ने, बचेकोलाई पनि एउटा प्रसाद सम्झेर खान सक्यौ भनेदेखि त्यो सात्विक हुन्छ । प्रसादको रुपमा खाइने यस्तो खानामा शक्ति लुकेको हुन्छ । लुकाएर खाएको, चोरेर खाएको तथा दुःख दिएर अर्काको आँशु र मासु मिसिएको खानेकुरा सात्विक हुनै सक्दैन ।

भाव जानेन भने साकाहारी मांसहारी जत्तिकै हुन्छ भन्न खोज्नु भएको हो ?
हो । क्रोधले खायो भने राजसिक हुन्छ । लोभले खायो भने तामसिक हुन्छ । मनमा जे जोडिन्छ त्यही अनुसार हाम्रो हर्मोनको विकास हुन्छ । हाम्रो मनमा बिकार भरिनमा खानपानको पनि उत्तिकै हात रहेको हुन्छ । दान गरेर खायो, अर्काको पेट भरेर खायो, बाँडेर खायो भने मन आनन्द हुन्छ नि । हो, कति गहिरो बिज्ञान छ यसमा ।

यस्तो महत्वपूर्ण कुरा पनि किन मानिसले बुझ्न नसकेका अर्थात् व्यवहारबाट देखाउन नसकेका होलान् ?
पश्चिमाहरुको अतिक्रमण पनि हो यो । हाम्रो शिक्षा नीतिमा आएको बिचलन जुन पहिला गुरुकुल शिक्षा थियो । संस्कृत पढ्नै पथ्र्यो । अहिले हामीले संस्कृत हटाएर अंग्रेजी पढाउछौं । अनि इङलिसको साथ साथै पश्चिमाहरुले आफ्नो संस्कृतिलाई घुसाउने प्रयास गरिरहेका छन् । हामीले आफ्नो दर्शन, बेद, उपनिषद, गीताहरुमा भएको कुराहरु न पढेका छौं, न बुझेका छौं, न व्यवहारमा उतारेका छौं । यही नै हो कमजोरी ।

भ्यालेनटाइन डे भनेकोे छ । बर्थडे भनेको छ, त्यो केक काट्दा खेरी फु गरेर निभाउँछौं, त्यो केकमा कति बिकार लाग्छ ? अनि बत्ति निभाएर गर्ने संस्कृति उल्टो पनि भएन र ? हामी जन्मदिन मनाउँदा अष्टचिरन्जिवीको पुजा गर्छौ, त्यो शक्ति आर्जन गर्नको लागि बेग्लै भावनाहरु एउटा आशिर्वादहरुको परिकल्पना गरेको हुन्छ । यहाँ उल्टो उल्टो कुराहरु गर्दा खेरी जसरी पश्चिमाहरु एकदम डिप्रेसनको शिकार भएका छन् । अहिले सबैभन्दा बढी मानसिक रोगको डक्टर कहाँ छन् त भन्दा पश्चिमा देशहरुमा छन्, डिप्रेसनको बिरामी खोज्न जानु पर्यो भनेदेखि कहाँ छन् त भन्दा पश्चिमा देशहरुमा नै छन् । पश्चिमा देशहरु नै अहिले पूर्वीय दर्शन सिकेर बिस्तारै संस्कृत सिकाउन थालेका छन् । अस्ति भरखर पनि एउटा टेलिभिजनमा हेर्न पाइयो । बेलायतमा संस्कृत विश्वविद्यालय । अमेरिकामा संस्कृत सिकाउन थालिएको छ । जब की हामी त्यसलाई बिर्सेर एकदम ठूलो भन्ने ठानेका छौं । जुन संस्कृतिलाई हामीले हेला गरेका छौं, त्यही संस्कृति र संस्कारलाई बिर्सेको कारणले आज हामी डिप्रेसनको सिकार भइरहेका छौं । निद्रा लाग्ने औषधी खाएर सुत्नु परिरहेको छ ।

हाम्रो संस्कृति र संस्कार जोडिएको विषयमा त राज्य नै गम्भिर हुनुपर्ने हैन र ?
एकदमै महत्वपूर्ण पश्न । यसमा राज्यले ध्यान दिन जरुरी छ । जुन खालको शिक्षा नीति अहिले लागु भएको छ, त्यसमा निश्चय नै आमालाई प्रोढ शिक्षामार्फत यस्तो योग र आयुर्वेदको शिक्षा दिनु पर्यो । मन्टेश्वरीमा पढाउने शिक्षक/शिक्षिकाहरु, बिशेष गरी नारीलाई फोकस गरेर योग र आयुर्वेद शिक्षा सम्बन्धी शिक्षा दिनुपर्छ ।

दुई तरिकाले जान सकिन्छ । एउटा तत्काल गर्न सकिने योजना र अर्को दिर्घकालिन योजना । तत्काल गर्न सकिनेमा राज्यका संरचनाहरु, जस्तो कर्मचारीतन्त्र छ । सेना छ । प्रहरी छ । यी सबै संयन्त्रहरुमा तत्कालका लागि भएपनि सुरुवात गर्न सकिन्छ । जे जे छ त्यसरी सुरुवात गर्ने गरी लागु गर्न सकिन्छ । अर्को दिर्घकालिन योजना अन्तर्गत बच्चैदेखि माध्यामिक तहसम्म अनिवार्य संस्कृत, आयुर्वेद, योगको ज्ञानलाई प्रचार प्रसार गर्न सकियो भने यसैले एउटा राम्रो आधारशीला तयार हुन्छ । असल चरित्र भएको नैतिकवान, स्वाभिमानी, कर्मठ, स्वस्थ र तन्दुरुस्त नागरिक तयार गर्न सकिन्छ । लोकसेवा आयोगको पाठ्यक्रममै पनि राख्न सकियो भने निश्चय पनि यसले असल समाज निर्माणमा ठूलो योगदान दिन्छ ।

अहिले धेरै गल्ती कामहरु मन बेहोस् भएको अवस्थामा भइरहेका हुन्छन् । मन बेहोस् किन भयो भन्दा हाम्रो आहार व्यवहार नै शुद्ध छैन । भ्रष्टाचार, दुराचार, नैतिकहीन कामहरु भएको भयै गर्छन्, किन भन्दा खेरी हामी मनको जकडमा छौं । मनलाई ठिक गर्नको लागि योग गर्नै पर्छ । हत्या हिंसा लुटपाटहरु बढेको छ । कारण असुद्ध आहारविहार नै हो । आहार नै शुद्ध छैन भने हाम्रो मन कसरी शुद्ध हुन्छ ? मन शुद्ध नभए पछि कसरी कर्म शुद्ध हुन्छ ? त्यसैले योग एउटा अपरिहार्य विज्ञान हो । जसले गर्दा हामी मान्छेको रुपमा जन्मे पनि महामानव बन्न सक्छौं ।

अहिलको अवस्थामा हाम्रो अथाहा शक्ति थाहै नपाइकन खेर गइरहेको छ । मान्छे कुकुर बिरालो झैं मरिरहेका छन् । बिहान उठ्यो खायो । कार्यालय गयो । धन कमायो । कति कमाउने त्यसको पनि सीमा छैन । फेरि आएर सुत्यो । फेरि भोलि उठ्यो खायो । धन कमायो यही काम मात्र दोहोरिरहेको छ । जबकी मान्छेले के काम गर्ने ? म को हुँ ? म यो धर्तीमा किन आएको ? यो शरीर भगवानले मलाई किन दिएको ? यसको छेउसम्म पनि मान्छेले थाहा नपाइकन मरिरहेका छन् । मात्रै रोगी दुः खी भएर ।

नेपाली सेनाबाट रिटायर्ड भएको केही समय मात्रै भएको छ, सैनिक जीवन र अवकासपछिको जीवनमा के अन्तर पाउनु भयो ?
मलाई योगले धेरै प्रभावित पार्यो । नेपाली सेना यस्तो सेना हो, जुन राष्ट्रको एउटा ठूलो शक्ति हो । राष्ट्रको सम्पति पनि हो । त्यो शुद्ध भयो भने उसले गर्ने सुरक्षाका कार्यहरु पनि एउटा ठिक ढंगबाट सञ्चालित हुन सक्छ । म सेनामा छउन्जेल आफैं पनि कमाण्डर भएर त्यहाँ हरेक जवानलाई योग गराउँथे । त्यसकारण म जानु भन्दा अगाडि झगडा हुने, पैसा चोरी हुने, अनेक अनेक केसहरु हुन्थ्यो भने म गएको एक÷डेढ बर्षमै त्यहाँ धेरै सैनिकहरु साकाहारी बने धेरै । झगडा भन्ने नामै सुन्न पाइएन । व्यारेकको जवानहरु बाहिर गएर झगडा गर्ने अथवा जाँड खाने त्यस्तो कुराहरु सुन्नै परेन । यो योगकै चमत्कार हो भनेर म विश्वास गर्छु ।

सेनामा पनि आहार व्यहारलाई शुद्ध गर्नुपर्ने मैले देखेको छु । त्यहाँको व्यायामहरु पहिला त अलि सिस्टमेटिक नै थियो । बिस्तारै बिकृत हुँदै गएको मैले पाएको छु । ०४४/०४५ सालमा भर्ना हुँदा गरेका सारा अभ्यासहरु योगमा आधारित थिए जस्तो लाग्छ मलाई । आजभोली नबुझेको उस्ताजले तालिम गराउँदा खेरी त्यो धेरैको ढाड ड्यामेज हुने, घुडा ड्यामेज हुने, पछि प्यारलाइसिस् भएर बसेका घटना पनि सुन्न पाइन्छ, देख्न पाइन्छ । सेनामा पनि योगलाई अवलम्वन गर्न सकियो तथा योग र आयुर्बेदलाई साथमा लिइयो भने मानसिक रुपले पनि स्वस्थ व्यक्ति तयार हुन्छन् । शारीरिक रुपमा पनि स्वस्थ व्यक्ति तयार हुन्छन् । समग्रमा भन्दाखेरी देशको एउटा रक्षा फोर्स एकदमै कर्मठ देश भक्ति र कुनै पनि कलुसित भावनाले रहित हुन सक्छ ।

साकाहारीको कुरा गर्नुभयो, तर सेनाको खानामै मासु तोकिएको हुन्छ, आवश्यक भएर नै त राखिएको होला नि, हैन र ?
मेरो एउटा प्रतिप्रश्न यहाँलाई, के गैंडाले मासु खान्छ ? गैंडा कमजोर छ ? के हात्तीले मासु खान्छ ? हात्ती कमजोर छ ? नुवाकोटमा गोरु जुधाउँने जात्रा सुन्नु नै भएको छ, के ति कमजोर भएका भए त्यसरी घण्टौंसम्म जुध्न सक्छ ? यो प्रकृति अनुसार हामीले खानपिन गर्न नजानेर मासुलाई इन्ट्रड्युस गरेको मात्रै हो ।

जस्तो म मासु खाँदिन । योगमा जोडिए पछि मैले मासु छाडें । मासु छोडेपछि मेरो मन पनि शीतल भयो । अनि मैले गर्ने हरेक कामहरु प्रेमले भरिएको भयो । हेराइ, सोचाइको कारण दुस्मन पनि मित्र भएर आउँछ भने हामीले बन्दुक चलाउन किन पर्यो ? मनलाई शान्त गर्नुपर्छ अनि मात्र राम्रो योजना बन्छ । युद्ध कलाको योजना गर्दा पनि ठिक ढंगले हुन सक्छ । जाँड खाँदै, चुरोट खादै तनावमा बनाएको योजनाहरु त्यो पनि फ्लप खान्छ ।

जुन कुरा खाएर क्रोध जाग्छ । बढी उत्तेजना हुन्छ । प्रेसर बढेर मान्छेको हृदयघातसम्म हुन्छ भने त्यस्तो खानेकुरालाई किन लिने ? अनि प्रकृतिअनुसार किन भनेको भने मैले बाघलाई मेवा दिएर राखिदियो भने खान्छ ? खाँदैन नि ! पशुहरु प्रकृतिविरुद्ध कहिले पनि जाँदैनन् । त्यसैले उनीहरु हत्तपत्त रोगी पनि हँुदैनन् । किनभने काँचो खान्छन् । प्राकृतिक रुपमा खान्छन् । मान्छे मात्रै बिकृतरुपमा त्यसलाई बिगारेर खान्छ । पकाएर खान्छ । पकाएरै खाएको कारणले मन पनि स्वस्थ हँुदैन तन पनि स्वस्थ हुँदैन । अनि मन र तन स्वस्थ नहुने खाना मासु कसरी स्वस्थ भयो ?

मानिसको शरीरलाई चाहिने केही भिटामिनहरु मासुबाट मात्र प्राप्त हुन्छ भनिन्छ ? मासुबाट पाइने तत्व साकाहारी भोजनबाट कसरी पाउने त ?
बिकल्प छ । मासुबाट पाइने भनेको प्रोटिन हो, त्यो शाकाहारीबाट पुरा प्राप्त हुन्छ । मैले अघि पनि गैडाको उदाहरण दिए । हात्तिको उदाहरण दिए । गोरुको उदाहरण दिए । शाकाहारी मान्छे सबै भन्दा बढी दिर्घजिवी भएको प्रमाण छ ।

मांसाहारी क्रोध गर्छ, उसले शक्ति चाँडै क्षीण गर्छ, तनावमा पनि धेरै हुन्छ । छिटो हुन्छ । शाकाहारीको खाना शीतल हुन्छ । ऊ शान्त तरिकाले बस्ने हुँदा उसको आयु पनि लामो हुन्छ । शाकाहारी भएर लामो आयु भएको मान्छे राम्रो की, मांसाहारी भएर छोटो आयु भएको मान्छे राम्रो ? जुन पोषण दाल सागसब्जीबाट हामीलाई मिल्छ त्यो मासुबाट मिल्न त मिल्छ तर त्यसबाट हानिकारक कुराहरु पनि बढी आइरहेको हुन्छ के । जुन हाम्रो सिस्टमले पचाउन सक्दैन । सिस्टमले पचाउन नसक्ने बित्तिक्कै रगत फोहोर भएर नाडी जाम गरिदिन्छ । नसनाडी जाम हुने बित्तिक्कै रगत बाक्लो हुने, प्रेसर बढी हुने त्यही कुरा आउँछ फेरि । अर्को कुरा मासु भन्ने चिज कस्तो हो भने कोही मान्छे मर्यो भने लास छुनु हुँदैन भन्छौं, तर पशुहरु पकाएर खान्छौं । पशुहरुमा पनि भावना हुन्छ । उनीहरुलाई पनि हरेक कुरा थाहा हुन्छ । मान्छे जति बुद्धिमान त नहोला जस्तो भोलि म मर्दै छु भनेर कोही मान्छेलाई थाहा पायो भने ऊ रातभरी सुत्दैन । उसको रगतै कालो हुन्छ । उसको रगतै परीक्षण गरेपनि वीष बरावर हुन्छ । पशुमा पनि त्यो भावना हुन्छ । उसलाई पनि मर्दैछु भन्ने थाहा हुन्छ । ऊ पनि पिरमा बसेको हुन्छ । अर्काको त्यो कारुणिक अवस्थामा, एकदम कठिन अवस्थामा मरेको चिज खाँदाखेरी हाम्रो मन पनि त्यस्तै हुन्छ ।

जीवन, दर्शन, अध्यात्म सँगसँगै योग सिकाइरहनु भएको छ ? कस्तो पाउनु भएको छ प्रतिक्रिया ?
एकदमै राम्रो प्रश्न सोध्नु भयो । धेरै मान्छेहरु समाजको वातावरणबाट टाढा जान सकेका छैनन् । पार्टीमा जान्छन् । घरमा पनि अनेक बिषादी भएको खानेकुराहरु खान्छन् । पाटीमा जाँदाखेरी पनि बढी अजिनामोटो त्यही बढी रिसाइकल गरेको तेलमा पकाएको, अशुद्ध भावनाबाट बनाएको खानेकुरा खाने गर्दाखेरी उनीहरुको एउटा आहार बिहार देखि हेर्ने समाचारहरु सवै नकारात्मक कुराहरुले भरेको हुन्छ । हरेक कुराहरु नकारात्मकता छ यसबाट धेरै मान्छे रोगी छन् ।

अहिले योगमा आउने कारण मेरो आत्मा उद्दार होस् भनेर आउने भन्दा पनि मेरो रोग निको होस् भनेर आउने हुन् । पाँच बर्ष जति भयो मैले योगमा लागिरहेको । मेरै आँखाले मैले सिकाएको जति मान्छेहरु छन् कोही डिप्रेसन भएर आएको, कोही थाइराइड भएर आएको, कोही बिभिन्न स्टोनहरु, प्रेसर, सुगर भएर आउने बढी छन् । धेरै जनाको रोग धेरै हदसम्म नियन्त्रण भएको छ । जस्तो एउटाको गलगाँडको थाइराइड बिग्रेर अप्रेसन गर्नुपर्छ भनेर समय दिएको थियो, योग गर्दा गर्दै समय दिएको मितिसम्म उसको रोगै निको भइसक्यो । एउटालाई हेपाटाइटिस भएको थियो, योग गर्दा गर्दै उसको हेपटाइटिस छैन भनेर आयो । एउटाको क्यान्सरको डल्लो निको भएको छ । गाँठागुँठीहरु केही पनि रहँदैन । त्यो हिसावले मैले यदि बाहिर गएर काम गरेको भएपनि दश बाह्र लाख प्रतिमहिना कमाउँथे होला । तर यहाँ आएर रोगीहरुको सेवा गर्दा खेरी उनीहरुले जुन आशिर्वाद दिन्छन् त्यही आनन्द नै मेरो कमाइ भएको छ । उहाँहरुले भित्रैबाट आशिर्वाद दिनु हुन्छ । हामी चार बजे गएर त्यहाँ योग सिकाउछौं । उहाँहरुको जुन खुसी छ त्यो खुसी र आनन्द देखेर मैले अमूल्य सम्पति ठानेको छु ।

अन्त्यमा भन्न मन लागेको कुरा केही छ ?
यो एउटा अमुल्य जीवन हो । मान्छेले मात्रै योग गर्न सक्छ । पशुले सक्दैन । कारण के भने मान्छेमा पशुमा भन्दा अलिकति धेरै बिवेक हुन्छ । तर मान्छे अथाह शक्ति भएर पनि आफु भित्र अथाह शक्ति भएको थाहै नपाइकन त्यही पशु झंै मरिरहेको छ, त्यो शक्तिलाई जगाउनको लागि पनि योग चाहिन्छ ।

बिभिन्न रोग लागेर धेरै पैसा औषधीहरुको लागि खर्च भइरहेको छ । एउटा मान्छेलाई क्यान्सर लाग्यो भने करोडौं रुपैयाँ खर्चेर अन्तिमसम्म क्यान्सर लागेर मरेकै छ । कष्टकर जीवन जिउनु परिरहेको परिवेशमा तनको रोग हटाउन पनि एउटा योगकै सहारा लिन जरुरी छ र मनलाई अन्तस्करण शुद्ध गरेर यो जीवनलाई शान्तिमय शुख मय बनाउनलाई पनि फेरि योगकै सहारा लिन जरुरी छ ।

यस्तो अमुल्य ज्ञानलाई हामी समाज, व्यक्ति, राष्ट्र सबै मिलेर यसलाई हामीले घर घरमा पुर्याउ । ताकि कोही पनि मान्छे रोग र सोकले पीडित हुन नपरोस् । आफु यो समाजमा प्रेम, आनन्द शान्ति, भरिएको हेर्न चाहनु हुन्छ भने सबै जना निरोगी हुन जरुरी छ । रोगी मान्छे कोही हास्नै सक्दैन । हाँसेर बोल्न पनि गाह्रो भएको अवस्थामा मान्छेले मुस्कुराउनै विर्सिरहेको अवस्थामा योगलाई अमुल्य ज्ञान ठानेर त्यसलाई जीवनमा लागु गरौ । यही सबैलाई सन्देश दिन चाहन्छु ।

 

लेखकबाट थप,

सेना र योग

क्यान्सर आजको प्रमुख समस्या र रोकथामका उपायहरु

उचित आहारविहार स्वस्थ शरीरको आधार

विद्यालयमा योग किन ?

मांसाहार भोजन कति उपयुक्त ?

Tags :
प्रतिक्रिया दिनुहोस