यस्ता छन् प्रदेश नम्बर २ को निर्वाचनका सुरक्षा चुनौती « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

यस्ता छन् प्रदेश नम्बर २ को निर्वाचनका सुरक्षा चुनौती


३० भाद्र २०७४, शुक्रबार


काठमाडौं । तराई–मधेसका आठ जिल्लामा सोमबार हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा चारवटा सुरक्षा चुनौती देखिएका छन् । सुरक्षा निकायले यही चुनौतीलाई ध्यानमा राख्दै आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्‍याएको जनाएका छन् ।

सुरक्षा अधिकारीहरूका अनुसार निर्वाचनमा खुला सिमाना, भूमिगत संगठन, निर्वाचनको विरोधमा रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र सीके राउतका गतिविधि अनि दलहरूको शक्ति प्रदर्शनलाई सुरक्षा चुनौतीका रूपमा हेरिएको छ । यी जिल्ला बढी आपराधिक गतिविधि हुने क्षेत्रमा पर्ने भएकाले पनि निर्वाचनका लागि यहीअनुरूप रणनीति बनाएको सुरक्षा निकायले जनाएका छन् । खुला सिमानाका कारण अपराधीहरू यताउता गर्ने भएकाले स्थानीय प्रशासनले सीमावर्ती सुरक्षा निकायसँग निर्वाचनमा समन्वय हुन गइरहेको जानकारी दिएका छन् ।

स्थानीय सुरक्षा निकायहरूका अनुसार धनुषामा ५३२ मध्ये ३२७, महोत्तरीमा ४१५ मध्ये १३५, सिरहामा ४३१ मध्ये १०९, सप्तरीमा २९५ मध्ये २०७ वटा मतदानस्थल अति संवेदनशील समूहमा छन् । ‘भारतसँग सीमा जोडिएका अधिकांश ठाउँ सुरक्षाका दृष्टिकोणले अति संवेदनशीलमा छन्’, धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईं भन्छन्, ‘जसका लागि हामीले भारतीय सुरक्षा निकायसँग समन्वय गरेका छौं ।’

अति संवेदनशील मतदानस्थलहरूको सुरक्षा व्यवस्थालाई बलियो बनाउन जिल्लास्तरीय सुरक्षा संयन्त्र बनाइएको र उक्त संयन्त्र चनाखोपूर्वक बस्ने व्यवस्था सुरक्षा अधिकारीले गरेका छन् ।भारतसँगका सीमा–नाकाहरूमा केही दिनयता सुरक्षा कडाइ गरिएको छ । निर्वाचनलाई लक्षित गरी आइतबारदेखि ७२ घन्टाका लागि आठै जिल्लाका नेपाल–भारत नाका बन्द रहनेछन् ।

‘खुला सीमाका कारण अवैध हतियार भित्रिन सक्ने सम्भावना हुन्छ’, महोत्तरीका एक प्रहरी अधिकारी भन्छन्, ‘सशस्त्र प्रहरी सीमा सुरक्षा बल र सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्मले नेपाल—भारत नाकाबाट हतियार भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गरी सीमा क्षेत्रमा सुरक्षा जाँचमा कडाइ गरेका छन् ।’

महोत्तरीका १५ मध्ये ७ स्थानीय तहका मतदानस्थललाई अति संवेदनशील र ६ वटा संवेदनशील घोषणा गरी स्थानीय प्रशासनले सुरक्षा योजना बनाएको छ । सीमासँग जोडिएका मतदान केन्द्र अति संवदेनशील सूचीमा रहेकोे महोत्तरीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ बताउँछन् । उनका अनुसार जलेश्वर, मनरासिसवा, बर्दिबास, बल्वा, रामगोपालपुर, सोनमा र सम्सी गरी सात स्थानीय तहका मतदान केन्द्र अति संवेदनील छन् । गौशाला, भंगहा, पिपरा, औरही, एकडाराबेला र लोहारपट्टी संवेदनशील मतदान केन्द्रका रूपमा छन् ।

निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन महोत्तरी प्रहरीले सुरक्षा योजना बनाएर लागू गरेको एसपी कुवेर कडायतले जानकारी दिए । उनका अनुसार महोत्तरीमा तीन हजार नेपाल प्रहरी, एक हजार सात सय सशस्त्र प्रहरी, एक हजारभन्दा बढी नेपाली सेना परिचालित छन् । आपराधि घटना हुन नदिन प्रहरीको ४० मोबाइल टोली, सशस्त्रको आवश्यकताअनुसार परिचालित रहेको उनले बताए ।

सिरहा जिल्ला प्रहरीले निर्वाचन अवधिभर दक्षिणी सिमाना र सुरक्षा निगरानी बढाएको छ । जिल्लाको करिब ४० किलोमिटरभन्दा बढी दक्षिणी भाग भारतसँगको खुला सिमानामा रहेकाले सुरक्षा व्यवस्था कडाइ गरेको एसपी कोइरालाले बताए । ‘हतियार भित्रिन नदिन दक्षिणी भागमा विशेष चेक पोस्ट थपिएको छ’, उनले भने ।

सप्तरीका मतदानस्थलमध्ये २०७ अति संवेदनशील र ८८ संवेदनशील सूचीमा छन् । सप्तरी र सिरहामा स्थानीय प्रशासनले मधेसमा सक्रिय भूमिगत संगठनदेखि सीके राउतको गतिविधिले निर्वाचनमा प्रभाव पार्न सक्ने आकलन गरी सुरक्षा रणनीति अपनाएको जनाएका छन् । ‘खुला सिमानाका कारण सीमावर्ती क्षेत्रमा घूसपैठ हुन सक्छ’, सप्तरीका प्रमुख जिल्ला अधिकारीले भने, ‘त्यसैले सादा पोसाकका सुरक्षाकर्मी पनि परिचालन गरिसकेका छौं ।’

उनका अनुसार सप्तरीमा चार हजार प्रहरी, दुई हजार सशस्त्र प्रहरी र करिब एक हजार नेपाली सेना परिचालन भएका छन् । नेपाली सेनाले सीमावर्ती केही स्थानमा नयाँ बेस क्याम्पसमेत खडा गरेको छ भने सुरक्षा गस्ती बढाएको छ ।

सर्लाहीमा आपराधिक घटना दोहोरिन नदिन थप सात हजार प्रहरी परिचालन गरेको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए । सुरक्षा अवस्था सुदृढ रहेको प्रहरी उपरीक्षक मसाउद आलम खानको भनाइ छ । उनका अनुसार बुधबार सुरक्षा समितिको बैठक बसी आआफ्नो क्षेत्रका निकायलाई निर्देशन दिने काम भएको छ ।

अहिलेसम्म जिल्लामा कुनै अप्रिय घटना नभएको र भविष्यमा पनि नहुने विश्वास प्रहरीले लिएको छ । यहाँ पनि तीनै सुरक्षा निकायको समन्वयमा निर्वाचन सुरक्षा रणनीति बनेको छ । रौतहटमा ९० मतदानस्थल अति संवेदनशील छन् । २७७ मतदानस्थलमध्ये ७५ संवेदनशील र ११२ स्थल सामान्य छन् ।

रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले मतदानस्थलको अवस्था सार्वजनिक गर्न नमिल्ने बताए । १६ नगरपालिका र दुई गाउँपालिका रहेको रौतहटमा २७७ मतदानस्थलमा ४३४ मतदान केन्द्र छन् । भारतसँगको सीमा क्षेत्रका मतदानस्थल सुरक्षाका हिसाबले संवेदनशील र चुनौतीपूर्ण रहेको सुरक्षा निकायको विश्लेषण छ । विगतदेखि नै निर्वाचनका बेला सीमा(नाकाबाट आवतजावत बन्द गरिँदै आएको छ । रौतहटमा करिब २५ किलोमिटर क्षेत्र भारतसँग जोडिएको खुला सिमानामा छ । यहाँ निर्वाचनका लागि ६ हजार सुरक्षाकर्मी परिचालन भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजन श्रीवास्तवले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । निर्वाचनका लागि दुई हजार पाँच सय ८५ कर्मचारी खटिएका छन् । मतदाताको संख्या तीन लाख २१ हजार १८ छ ।

पर्सामा भारतसँगको खुला सीमा जोडिएका ७३ मतदानस्थल सुरक्षाका दृष्टिले अति संवेदनशील समूहमा छन् । यहाँ १६७ मतदानस्थलमध्ये सुरक्षा दृष्टिकोणले ७९ वटा संवेदनशील र बाँकी सामान्य रूपमा निर्धारण गरेको जिल्ला सुरक्षा समितिले जनाएको छ । भारतसँग सीमा जोडिएका स्थानका सबै मतदानस्थललाई अति संवेदनशील रूपमा विश्लेषण गरिएको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले जानकारी दिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस