निजामती सेवा, दिवस र सर्वोत्कृष्टको खोजी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निजामती सेवा, दिवस र सर्वोत्कृष्टको खोजी


अर्जुन

२२ भाद्र २०७४, बिहिबार


निजामती सेवा दिवसमा सेवा सुधारको बहस सतहमा आउँछ र कर्मचारी हकहितका कुरा उठ्छन् । जनतालाई सेवा दिन सरकारले जनशक्तिसँगै स्रोत, नीति, प्रविधि प्रयोग गरिरहेको हुन्छ । भदौ २२ गते सिद्धान्ततः बर्सेनि उत्कृष्ट नारा तय गरी निजामती सेवा दिवस मनाइन्छ । यस दिन विभिन्न कार्यक्रम आयोजना गरिन्छन् । हरेक वर्ष तय गरिने नारा उत्कृष्ट नै हुन्छन् । तिनले प्रतिविम्बित गर्ने अर्थले के जनाउँछ भने निजामती सेवा सच्याउनु जरुरी छ ।

यस वर्ष निजामती सेवा दिवसमा ‘निजामती सेवामा पारदर्शिता र चुस्तता’ भन्ने नारा तय गरिएको छ । यसले निजामती सेवा अपारदर्शिता र ढिलासुस्तीमा रुमल्लिएको छ भन्ने बुझिन्छ, जुन हुनुहुँदैनथ्यो । नेपालको परिप्रेक्ष्यमा यो तितो सत्य वास्तविकता हो ।

अपवादबाहेक मध्यम र निम्न वर्गीय नेपाली समाजमा सरकारी जागिर र त्यसमा पनि निजामती सेवा प्रवेश गर्नु, व्यक्ति, परिवार र समाजका लागि अझै पनि प्रतिष्ठाको विषय छ । लोकसेवा आयोगको परीक्षा सञ्चालन र छनोटका विधिमाथि कसैले प्रश्न चिह्न उठाउन सकेको छैन । सर्वव्यापी राजनीतिकरणको वर्तमान परिप्रेक्ष्यमा यस्तो गरिमा कायम रहिरहनु लोकसेवा आयोगको सफलता हो । भविश्य सुनिश्चिित गर्ने मनसायका अलावा सेवा प्रवेश हुँदै गर्दा जुन उत्साह, सामाजिक इज्जत र आत्मसम्मानका प्रवेश हुन्छ त्यही व्यक्ति केही समयको अन्तरालपछि सेवाभित्रको कार्य वातावरण, संरचना र पद्धतिबाट असन्तुष्ट र निराश हुन्छ । सेवाप्रवेशमा जुन निष्पक्षता र सामाजिक सम्मान छ सेवाभित्र त्यस्तो नभएको अनुभूति गर्न सकिन्छ र त्यही वातावरणमा एडजस्ट हुन संघर्ष गर्नुपर्ने बाध्यता सिर्जना हुन सक्छ ।

सामाजिक सञ्जालमा अभिव्यक्त हुने निजामती सेवाप्रतिको प्रतिक्रिया हेर्दा लाग्छ– यो सेवाको पर्याय भनेकै ढिलासुस्ती र प्रक्रियामा रुमल्लिनु हो । यस्ता प्रतिक्रिया आउनु दुःखद हो । सरुवा, बढुवा, तालिम, बैदेशिक कार्यक्रम र भ्रमणमा रहेको विद्यमान पद्धति अपारदर्शी र अव्यवहारिक रहेको कुरा यो क्षेत्रमा चासो राख्ने जोसुकैले बुझेको कुरा हो । सरुवा भएपश्चात कुन नेता र उच्चपदस्थ कर्मचारीको पावर लगाएर सरुवा भएको भन्ने प्रश्न जन्मनु । निजामती सेवा दिवसमा दिइने पुरस्कार पाउने व्यक्तिले गर्वले पुरस्कार भएको भन्न नसक्नु पुरस्कारप्रतिको न्याय कदापि होइन । पुरस्कार पाउने व्यक्तिको नाम पढेर आम जनताले साच्चै योग्य हुन्, पुरस्कारका लागि साँच्चै हकदार हुन भन्दा पनि प्रभाव, चाकडी, चाप्लुसीमा माहिर हुन भनेर चिनिनु आफैमा लज्जास्पद हो । पुरस्कार पाउने व्यक्तिले गर्वका साथ पुरस्कार पाएको भनेर अभिव्यक्त गर्न सक्ने अवस्थामा नहुनु दुर्भाग्यपूर्ण छ । यद्यपि, वास्तविक पुरस्कारका हकदारले नपाएकोे नै भन्न नसकिएला । पुरस्कार छनोट समितिले सर्वोत्कृष्ट पुरस्कार दिने कर्मचारी फेला पार्नु नसक्नुका पछाडि धेरै कारण हुन सक्लान् । छनोटका आधार सूचंकाक कति व्यवहारिक हुन् ? मूल्याङ्कन पद्धति कस्तो छ ? साच्चिकै वस्तुगत मूल्याङ्कन भएको छ त ? अथवा सिंहदरवार र वरपर मात्रै सर्वोत्कृष्ट खोज्ने प्रवृति हावी छ ? यि र यस्ता प्रश्नको जवाफमै सर्वोत्कृष्ट नभेटिनुका कारण छन् ।

संसार बदल्नु छ भने परिवर्तन आफैबाट सुरु गर्नपर्छ भन्ने मनोक्रान्ति अभियानको नारा सुन्दा जति आकर्षक छ यसको प्रयोग कहीँकतै असफल छ भने त्यो सायद नेपालको निजामती प्रशासनमै होला । यहाँ जगडिएको पद्धति, मानसीकता र संयन्त्र यस्तो छ की कसैले परिवर्तन गर्न खोज्यो भने छानीछानी त्यही व्यक्तिलाई टार्गेट बनाइन्छ । यसका उदाहरण प्रशस्तै छन् ।

प्रशासनिक संयन्त्र चलाउने राजनीतिक संयन्त्र संक्रमणकालीन अवस्थामा हुनु, कर्मचारीतन्त्रमा राजनीतिक अभिलाषा प्रकट हुनु वर्तमान अवस्था सिर्जित हुनु यसका दुर्भाग्य हुन् । राजनीतिक संक्रमणकाललाई कारण देखाएर पन्छन खोज्नु सार्वजनिक प्रशासनले आफ्नो कमजोरी ढाकछोप गर्न प्रयोग गरेको अश्त्रबाहेक केही हैन । तुलनात्मक रूपमा ऊर्जाशील र क्षमतावान वर्ग भित्रने निजामती सेवामै यस्तो विकृति मौलाउनुमा जिम्मेवार अरु कोही नभएर स्वयं कर्मचारीतन्त्र नै छ । समयसापेक्ष रूपमा कानुन, विधि, पद्धति, प्रक्रिया र मानसिकतामा परिवर्तन गर्न नसक्ने हो भने कर्मचारीतन्त्रको अन्त्य सम्भव नभएता पनि विश्वव्यापी रूपमा प्रस्तुत भएका विकल्प चुनौति नबन्लान भन्न सकिँदैन ।

शाखा अधिकृत, नेपाल सरकार

Tags :
प्रतिक्रिया दिनुहोस