प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनसम्बन्धी ३ प्रतिशत थ्रेसहोल्ड सहितको कानुन पारित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनसम्बन्धी ३ प्रतिशत थ्रेसहोल्ड सहितको कानुन पारित


प्रशासन विशेष ब्युरो

२० भाद्र २०७४, मंगलबार


काठमाडौं । प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचनसम्बन्धी न्यूनतम मतसीमा (थ्रेसहोल्ड) सहितको कानुन संसद्बाट पारित भएको छ । अब राष्ट्रिय दल बन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ तीन प्रतिशत र प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्ने छ । त्यस्तै, प्रदेश सभा निर्वाचनमा कुल सदर मतको एक दशमलव पाँच प्रतिशत मत ल्याउनुपर्नेछ । यसभन्दा कम मत प्राप्त गर्ने दलले पाएको मत कुल मतमा गणना नहुने व्यवस्था छ ।

चार महिनाअघि संसद्बाट पारित राजनीतिक दलसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन प्रतिशत र प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्ने दल मात्र राष्ट्रिय दल बन्ने उल्लेख छ । सोही प्रावधानअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन कानुन संसद्बाट सोमबार पारित भएको हो ।

राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलगायतका साना दलहरूले थ्रेसहोल्डको विरोध गरे पनि संसद्को बहुमतले विधेयक पारित गरेको हो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुख्य दलहरूले राजनीतिमा सिन्डिकेट लगाएको आरोप लगाए । ‘नेपालमा लोकतन्त्र ल्याउन हाम्रा काँधको पनि छाला गएको छ । अहिले तीन दलले मात्रै हालीमुहाली गर्ने व्यवस्था गरेका छन्,’ उनले भने । नेमकिपा सांसद प्रेम सुवालले मुख्य राजनीतिक दलले पञ्चायत एवं पूर्वराजा ज्ञानेन्द्र शाहको तानाशाह शैलीअनुसार थ्रेसहोल्डको व्यवस्था गरेको आरोप लगाए । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस