बिरामी घर फर्केपछि मात्रै आउँछ:राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बिरामी घर फर्केपछि मात्रै आउँछ:राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट


प्रशासन विशेष ब्युरो

१८ भाद्र २०७४, आइतबार


काठमाडौं । अस्पतालबाट बिरामी निको भई घर पुगेपछि मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट चिकित्सकको हातमा पुग्ने गरेको छ । समयमा रिपोर्ट नआए पनि धेरैजसो बिरामी निको भएर घर फर्कने गरेका छन् । बिरामीले आफूलाई लागेको रोगबारे जानकारीसमेत पाउँदैनन् ।

कतिपय बिरामी रिपोर्टपछि त्रसित बन्ने गरेको सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा। शेरबहादुर पुनले बताए । ‘हामीले अनुभवका आधारमा बिरामीलाई औषधि चलाएका हुन्छौँ,’ पुनले भने, ‘बिरामी निको भएर घर जान्छन्, पछि रिपोर्टमा स्वाइनफ्लु, स्क्रब टाइफस पोजेटिभ देखिन्छ । फ्लोअपमा आउँदा रोग थाहा पाउँछन्, कतिपय अस्पतालमै बेहोस हुन्छन् ।’

नमुना परीक्षण गराउने बिरामीको संख्या सोचेभन्दा बढी भएकाले रिपोर्टमा ढिलाइ भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । अहिले निजी र सरकारी सबै स्वास्थ्य संस्थाबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि नमुना आउने गरेका छन् । ‘त्यसैले हामीले समयमा रिपोर्ट दिन नसकेका हौँ । भएका उपकरण प्रयोगमा ल्याएर भरपुर सेवा दिएका छौँ,’ प्रयोगशालका उपमहानिर्देशक विष्णु उपाध्यायले भने । हाल स्क्रब टाइफस, मौसमी इन्फ्लुएन्जाका बिरामी बढी देखिएकाले देशभरिका नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला केन्द्रित भएका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस