प्रदेश २ मा स्थानीय तह चुनाव: पहिलो हुने होडबाजी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश २ मा स्थानीय तह चुनाव: पहिलो हुने होडबाजी


प्रशासन विशेष ब्युरो

१७ भाद्र २०७४, शनिबार


काठमाडौं । प्रमुख दलहरूले प्रदेश २ को स्थानीय तह चुनावलाई अघिल्लो चरणका निर्वाचन तुलनामा अझ ठूलो राजनीतिक प्रतिष्ठाका रूपमा लिएका छन् । उनीहरूबीच जसरी पनि आफ्नो दललाई पहिलो स्थान दिलाउने होडबाजी तीव्र भएको छ ।

प्रतिस्पर्धी दललाई जित्न कुन व्यक्ति बढी सक्षम भन्दै लेखाजोखा गरेर उम्मेदवार टुंग्याउन भने सबै पार्टीमा सकस देखिएको छ । आकांक्षीको संख्या ठूलो भएकाले व्यवस्थापन गर्न गाह्रो भएको नेताहरूले बताएका छन् ।

कांग्रेसले मधेसलाई आफ्नो वर्चस्व हावी रहेको इलाका ठान्दै आएको छ । २०७० मा भएको संविधानसभा दोस्रो चुनावमा मधेसमा सबैभन्दा बढी सिट कांग्रेसले यही क्षेत्रबाट ल्याएको थियो । अहिले पनि प्रदेश २ का १ सय ३६ स्थानीय तहमध्ये कम्तीमा सय स्थान जित्ने दाबी उसले गर्दै आएको छ । सय सिट ल्याए अघिल्ला दुई चरणमा गुमाएको क्षतिपूर्ति हुने उसको आकलन छ । प्रमुख प्रतिपक्षी एमालेले पनि अघिल्ला दुई चरणजस्तै प्रदेश २ मा पनि पहिलो हुने दाबी गर्दै आएको छ । सरकारले केही समयअघि ल्याएको संविधान संशोधन विधेयकको विपक्षमा रहेको एमालेले आफ्नो अडान जनमतबाट प्रमाणित गर्न चुनावलाई प्रतिष्ठाको विषय बनाएको छ ।

राजपा र संघीय समाजवादी फोरमको त मुख्य प्रभाव क्षेत्र नै यही हो । यी दुवै पार्टी यस प्रदेशबाट कांग्रेस र एमालेलाई पछि पार्ने दाउमा छन् । तर आपसी प्रतिस्पर्धा यी दुवैका लागि चुनौती हो । संविधान संशोधन मुद्दा स्थापित गर्न पनि मधेस केन्द्रित दलले यो चुनावलाई प्रतिष्ठा बनाएका छन् । सबैको प्रतिष्ठा बनेकै कारण उम्मेदवार चयनमा भने सकस परिरहेको छ । पार्टीभित्रको आन्तरिक व्यवस्थापन गर्दै लोकप्रिय र चुनाव जित्न सक्ने उम्मेदवार चयन गर्ने चुनौती सबैमा छ । आजको कान्तिपुर दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस