म्याग्दीबाट १६ प्रजातिका जडीबुटी निकासी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

म्याग्दीबाट १६ प्रजातिका जडीबुटी निकासी


११ भाद्र २०७४, आइतबार


म्याग्दी । पहाडी जिल्ला म्याग्दीबाट गत आर्थिक वर्ष २०७३/७४ मा विभिन्न १६ प्रजातिका छ हजार किलोभन्दा बढी जडीबुटी निकासी भएको छ ।

जिल्लाका विभिन्न खर्क, जंगल र पाखोहरुबाट संकलन गरिएका पाँच हजार, ९८४ दशमलव सात किलो जडीबुटी निकासी भएको जिल्ला वन कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्लामा रहेका सामुदायिक वनबाट शक्तिवद्र्धक एवं बहुमूल्य जडीबुटी निकासी गरिएको सहायक वन अधिकृत राजकुमार ठाकुरले बताए । “हरेक वर्ष निकासीमा वृद्धि भएको छ”, सहायक वन अधिकृत ठाकुरले भने । उनका अनुसार गैरकाष्ठ वन पैदावारमध्ये सबैभन्दा धेरै विषजरा एक हजार ५०० किलो, अल्लो एक हजार २०० किलो, भिरमह ६४० र नागबेली पाउडर ६०० किलो निकासी भएको छ ।

जिल्लाको माथिल्लो तथा उच्च पहाडी क्षेत्रबाट यार्सागुम्बा, निरमसी, सतुवा, पाँचऔँलेलगायतका जडीबुटी बाहिरिने गरेकामा यस वर्ष अपेक्षा गरेअनुसारको निकासी नभएको जिल्ला वन कार्यालयको तथ्यांकमा उल्लेख छ ।

गत आव पदमचाल ४५०, सतुवा ४४९, सुगन्धवाल तीन, साधारण च्याउ २८६, निरमसी २१७, कुटकी दुई, सिलाजित ५० किलो निकासी भएको छ ।

यसैगरी मैन ३०, अतिस २२, वनलसुन २०, लौठसल्ला १६ र यार्सागुम्बा ३ दशमलव ७ किलोमात्रै निकासी भएको वन कार्यालयले जनाएको छ । विभिन्न किसिमका कपडा बनाउन प्रयोग गरिने अल्लो पुवा एक हजार २०० सय किलो निकासी भएको छ ।

गत वर्ष निकासी भएका जडीबुटीबाट कुल दुई लाख ५२ हजार राजस्व संकलन भएको थियो । जडीबुटी संकलनका लागि न्यूनतम  पाँच हजारदेखि अधिकतम २५ हजारसम्म राजस्व तिर्नुपर्ने कानूनी प्रावधान रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस