लाहोरमा आत्मघाती हमला, २६ को मृत्यु, ४९ जना घाइते « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

लाहोरमा आत्मघाती हमला, २६ को मृत्यु, ४९ जना घाइते


१० श्रावण २०७४, मंगलबार


इस्लामाबाद । पाकिस्तानको पूर्वी क्षेत्रमा पर्ने लाहोरमा भएको आत्मघाती विष्फोटनमा परी सोमबार कम्तीमा २६ जनाको मृत्यु भएको छ ।

घटनामा अन्य ४९ जनाभन्दा बढी घाइते भएको स्वास्थ्य मन्त्रीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमहरूले स्थानीय समयअनुसार दिउँसो ४ बजेतिर विष्फोटन भएको समाचार दिएका छन् ।

पञ्जाव प्रान्तको राजधानी लाहोरको एउटा तरकारी बजार नजिकै सुरक्षाकर्मीहरूलाई लक्षित गरी विष्फोटन भएको थियो ।

विष्फोटनमा परी कम्तीमा चार जना प्रहरीको मृत्यु भएको र अन्य केही घाइते भएको प्रहरी अधिकारीहरूले जनाएका छन् ।

घटनास्थलका केही भवनहरू, १० वटा मोटरसाइकल र एउटा सवारी साधन पनि विष्फोटनका कारण ध्वस्त भएका छन् ।

सुरक्षाकर्मी र उद्धारकर्ताहरूले घटनास्थलमा धेरै जनालाई उद्धार गरेका थिए । उनीहरूलाई विभिन्न अस्पतालहरूमा उपचारका लागि भर्ना गरिएको छ ।

घाइतेमध्ये सिकिस्त घाइतेलाई लाहोर अस्पतालमा उपचार गराइएको छ । अस्पतालहरूले दिएको जानकारीअनुसार सात जना गम्भीर घाइते भएका छन् ।

पञ्जाव प्रान्तका मुख्य मन्त्री शाहबाज शरिफले घटनाको भत्सर्ना गर्दै घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिए ।

पछिल्लो समाचारअनुसार घटनाको जिम्मेबारी पाकिस्तान तालिवान समूहले लिएको छ । रासस/सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस