प्रधानसेनापति क्षत्री स्वदेश फिर्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानसेनापति क्षत्री स्वदेश फिर्ता


प्रशासन विशेष ब्युरो

३१ असार २०७४, शनिबार


काठमाडौँ । प्रधान सेनापति राजेन्द्र क्षत्री विश्व शान्ति कार्यमा शान्ति सैनिक पठाउने देशहरुको दोस्रो सुरक्षा प्रमुखको सम्मेलनमा सहभागी भइ आज स्वदेश फर्केका छन् ।

नेपाल सरकारको निर्णय बमोजिम क्षत्री संयुक्त राष्ट्रसंघको मुख्यालय, न्युयोर्कमा यही असार २३ गते आयोजना भएको दोस्रो सुरक्षा प्रमुखको सम्मेलनमा सहभागी भएका थिए ।

क्षत्रीले संयुक्त अधिराज्यका सेनाध्यक्ष जनरल सर निकोलस प्याट्रिक कार्टरको औपचारिक निमन्त्रणामा संयुक्त अधिराज्यको भ्रमण समेत गरेका छन् ।

संयुक्त राष्ट्रसंघ मुख्यालय, न्युयोर्क भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले शान्ति स्थापना निर्देशनालयका उपमहासचिव तथा महासचिवका सैनिक सल्लाहकारसँग पनि छुट्टाछुट्टै भेटघाट गर्नुका साथै संयुक्त राष्ट्रसंघको शान्ति सैनिक मिसन कंगो तथा दक्षिण सुडानका फोर्स कमान्डरहरुसँग समेत छुट्टाछुट्टै भेट गरेका छन् ।

साथै मित्रराष्ट्र बेलायत भ्रमणका क्रममा बेलायतका सेनाध्यक्ष जनरल सर निकोलस प्याट्रिक कार्टर, एअर चिफ मार्शल सर स्टुअर्ट पीच, लेफ्टिनेन्ट जनरल निकोलस पोप लगायतका अधिकारीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुका साथै बेलायती सेनामा भइरहेको आधुनिकीकरणसम्बन्धी जानकारी लिएको नेपाली सेनाले जनाएको छ ।

यस किसिमको उच्च सैनिक नेतृत्व तहको भ्रमणबाट मित्रराष्ट्रहरुसँग लामो समयदेखि रहँदै आएको सुमधुर मैत्रीपूर्ण सम्बन्ध अझ मजबुत हुनुका साथै नेपाली सेना तथा संयुक्त राष्ट्रसंघ र बेलायती सेनाबीचको आपसी सहयोग तथा सद्भाव अरु प्रगाढ हुन जाने विश्वास लिएको नेपाली सेनाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस